काठमाडौं । सिरियाका नेता बशर अल–असद एक निरंकुश परिवार वंशको दोस्रो पुस्ता हुन् । असदको परिवारले पाँच दशकभन्दा बढी समय सिरियामा शासन गर्यो ।
विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) आइतबार बिहान सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि असद देश छाडेर भागेका छन् । यो घटनाले रणनीतिक रूपमा महत्वपूर्ण पश्चिम एसियामा शक्ति सन्तुलन फेरिने संकेत गर्छ ।
असद सिरियामा क्रूर शासनका लागि परिचित छन् । असदकै कारण २०११ देखि सिरियामा गृहयुद्ध सुरु भयो । गृहयुद्धले सिरियालाई तहसनहस बनाएको छ । गृहयुद्धले ल्याएको अस्थिरता चरमपन्थी समूह आईएसआईएसका लागि उर्वर बन्यो । गृहयुद्ध तन्किदा सिरियाबाट लाखाँै विस्थापित र शरणार्थी बन्न बाध्य भए ।
‘अरब स्प्रिङ’का दौरान सिरियामा प्रजातन्त्रको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका जनताको आवाज राष्ट्रपति असदले सुनेनन् । शान्तिपूर्ण आन्दोलन दबाउन उनले दमनको बाटो रोजे । प्रजातन्त्रको माग गर्ने हजारौं मारिए र जेल पुगे । त्यसपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो ।
असद र उनको सेनामाथि १३ वर्षको युद्धमा धेरै आरोप लागेका छन् । यसमा क्रूर आक्रामणदेखि गम्भीर मानवअधिकार उल्लङ्घनका घटनासम्म छन् । उनीमाथि आफ्नै जनताविरुद्ध रासायनिक हतियारहरू प्रयोग गरेको आरोप पनि छ ।
गृहयुद्धको सुरुवातमा अमेरिका, जोर्डन, टर्की र युरोपेली संघले असदलाई राजीनामा दिन आग्रह गरेका थिए । तर शक्तिशाली सहयोगी रुस र इरानको समर्थन असदलाई थियो ।
सत्ताबाट नहटेपछि अमेरिकालगायत पश्चिमी राष्ट्रले सिरियामाथि अनेक प्रतिबन्ध लगाएका थिए । त्यसपछि असद विश्व समुदायबाट एक्लिँदै गएका थिए । उनी रुस र इरानको साथ र समर्थनमा मात्र सत्तामा टिकेका थिए ।
पछिल्ला वर्षहरूमा रुसको ध्यान युक्रेनमा केन्द्रित छ । इजरायलको आक्रामणका कारण असदलाई सघाइरहेको लेबनानको चरमपन्थी समूह हिजबुल्ला निकै कमजोर बनेको छ । हिजबुल्लाह र असदलाई सघाइरहेको इरान पनि कमजोर देखिएको छ ।
यसैबखत विद्रोही समूह एचटीएसले पछिल्ला केही दिनयता असदविरुद्धको युद्धलाई तिव्रता दिएको थियो । विद्रोही समूहले एक सातामा प्रमुख सहर कब्जामा लिए ।
गत हप्ता एचटीएसले सिरियाको दोस्रो ठूलो सहर अलेप्पो र हामाका उत्तरपश्चिमी सहरहरू कब्जा गरेको थियो । त्यसपछि शनिबार राती तेस्रो ठूलो शहर होम्स कब्जा गरेको थियो । आइतबार बिहान राजधानी दमास्कस कब्जा गर्यो । विद्रोही दमास्कस प्रवेश गरेलगत्तै सिरियाका राष्ट्रपति असद देश छोडेर भागेका थिए ।
असदको उदय
असदले आफ्ना बुबा हाफेज अल–असदको मृत्युपछि शासन सत्ता सम्हालेका थिए । असदले सन् २००० मा चुनावमा निर्विरोध हुँदै सत्तामा पुगेका थिए । उनको बुबा हाफेज गरिबीबाट उठेर बाथ पार्टीको नेतृत्व गर्दै सन् १९७० मा सत्ता कब्जा गरेका थिए । त्यसको अर्को वर्ष उनी राष्ट्रपति बनेका थिए ।
असदको पिताले सोभियत संघ र पछि रुसको सहयोगमा तीन दशकसम्म सिरियामा शासन गरेका थिए । अल्पसंख्यक अलावाइट जनसंख्यालाई प्रमुख राजनीतिक, सामाजिक र सैन्य पदहरूमा पुर्याउन मद्दत गरेका थिए ।
हाफेज अल–असदले पनि जनतामाथि व्यापक दमन र हिंसा प्रयोग गरेका थिए । सन् १९८२ मा हामा शहरमा (जसलाई विद्रोहीहरूले सुरुमा कब्जा गरेका थिए) हाफेज अल–असदले आफ्नो सेनाको सहयोगमा हजारौं विरोधीहरूलाई मारेका थिए । मुस्लिम ब्रदरहुडको नेतृत्वमा भएको विद्रोह दबाइएको थियो ।
हाफेज अल–असदले आफ्नो उत्तराधिकारी अर्को छोरा बसेललाई बनाउन चाहेका थिए । बसेलको सन् १९९४ मा कार दुर्घटनामा मृत्यु भयो । त्यसपछि लण्डनमा आँखा रोगसम्बन्धी अध्ययन गरिरहेका असद सिरिया फर्किएका थिए ।
बशर अल–असदलाई त्यसपछि राष्ट्रियस्तरमा जोडियो । त्यसपछि उनले सैन्य विज्ञान अध्ययन गरे । पछि सिरियाली सेनाको कर्णेल बने । असदले अस्मा अल–असदसँग सन् २००० मा विवाह गरेका थिए ।
जुन २००० उनको बुबाको मृत्यु भयो । बुबाको मृत्यु भएको केही घण्टामै सिरियाको संसदले संविधान संशोधन गर्र्दै राष्ट्रपति हुन योग्य उमेर ४० बाट ३४ वर्ष बनायो । केहीको विरोधका बाबजुद यही संशोधनले असदलाई राष्ट्रपति हुने बाटो खोल्यो । अर्को महिना राष्ट्रपतिको लागि निर्वाचन हुँदैथियो ।
युरोप र अमेरिकाका धेरै पर्यवेक्षकहरू राष्ट्रपति निर्वाचनबाट आशावादी थिए । नयाँ तथा युवा शासक आउने विश्वासमा उनीहरू उत्साहित देखिन्थे । असद निर्विरोध निर्वाचित हुँदा उनीहरूको आशा मरेको थिएन ।
तर नयाँ नेताले हमास र हिजबुल्लाह जस्ता चरमपन्थी समूहसँग सम्बन्ध प्रगाढ बनाएपछि पश्चिमीहरूको आशा मर्यो । सन् २०११ मा प्रजातन्त्रको माग गर्दै भएको आन्दोलन दबाउन असदले दमनको बाटो रोजेपछि पश्चिमी राष्ट्रको लागि असद निन्दाको पात्रमा सीमित बने ।
मे २०११ मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले असदको शासनले ‘हत्या र आफ्ना नागरिकहरूको सामूहिक गिरफ्तारीको बाटो रोजेको’ बताएका थिए । त्यतिबेला ओबामाले उनलाई लोकतान्त्रिक संक्रमणको नेतृत्व गर्न तथा बाटो प्रशस्त गर्न आव्हान गरेका थिए ।
असद प्रत्येक सात वर्षमा बहुमतद्वारा पुनः निर्वाचित हुँदै आएका छन् । उनको विजयलाई पश्चिमी राष्ट्रले मान्यता दिएका छैनन् । सन् २०२१ मा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले उनी विजयी भएको चुनावलाई ‘धोखापूर्ण चुनाव’ भनेका थिए ।
गृहयुद्ध
असदका सेनाहरू गृहयुद्धको समयमा क्रूर रणनीतिका लागि परिचित थिए । सन् २०११ मा प्रजातन्त्र समर्थक विरोध प्रदर्शन दबाएपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो । स–साना समूहहरू आपसमा जोडिँदै ठूलो सशस्त्र समूह बनेपछि गृहयुद्ध सुरु भएको थियो । यी समूहमा असन्तुष्ट सिरियाली सैनिक पनि सहभागी थिए ।
सन् २०१३ मा संयुक्त राष्टसंघका हतियार निरीक्षकहरू सिरियामा स्नायु ग्यासको प्रयोग अध्यधिक भएको प्रमाणसहित फर्किएका थिए । त्यसपछि संयुक्त राष्ट्रका तत्कालीन महासचिव बान की मुनले दमास्कसमा अगस्ट २१ मा भएको आक्रमणलाई ‘२१ औं शताब्दीमा सामूहिक विनासका हतियारहरूको सबैभन्दा खराब प्रयोग’ भनेका थिए ।
अमेरिकाले उक्त आक्रामणमा सयौं सर्वसाधारणसहित १ हजार ४०० भन्दा बढीको मृत्यु भएको हुन सक्ने बताएको थियो । सिरियाली अधिकारीहरूले भने युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोप बारम्बार अस्वीकार गर्दै आएका छन् ।
असदले विद्रोह दबाउन रासायनिक हतियार प्रयोग गरेको भेटिएपछि अमेरिकाले सन् २०१३ देखि सिरियाका विद्रोही समूहलाई सघाउन थालेको थियो । त्यसपछि असदले पश्चिमी राष्ट्रहरूलाई चेतावनी दिएका थिए ।
सिरियाका विद्रोही समूहलाई दिँदै आएको सहयोग नरोके अमेरिका र अन्य पश्चिमी राष्ट्रमाथि आक्रमण गर्नेसम्म चेतवानी असदले दिएका थिए । सन् २०१५ मा आर्ईएसआईएसलगायतका आतंकवादी समूहलाई तहसनहस पार्न अमेरिकाले सुरु गरेको कारबाहीमा सहभागी नहुने घोषणा असदले गरेका थिए ।
असदको दमनको कारण ७० लाखभन्दा सिरियाली आन्तरिक रूपमा विस्थापित र ६० लाखभन्दा बढी सिरियाली अन्तर्राष्ट्रिय शरणार्थी बन्न बाध्य भएको प्रतिवेदन राष्ट्रसंघले हालैमात्र सार्वजनिक गरेको थियो ।
सत्तामा रहिरहने असदको चाहनाका कारण सिरियामा सन् २०११ यता हजारौंले ज्यान गुमाएका छन् । आफ्नै हजारौं नागरिकलाई मारेर असद सत्तामा रहिरहन चाहन्थे । तर विद्रोही आइतबार विहान दमास्कस प्रवेश गरेपछि असद देश छोडेर भागेका हुन् । उनी कता गए खुलेको छैन । (सीएनएनबाट भावानुवाद)