site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिट हुँदै ‘औसत’ सिनेमा, स्तर खस्किने डर 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । यो वर्ष नेपाली चलचित्र उद्योग दुई सय करोडको यात्रामा छ । सय करोड रुपैयाँ हाराहारीको व्यापार गरिसकेको छ । चलचित्र उद्योगले बाँकी ६ महिनामा राम्रो व्यापार गरे दुई सय करोडको कारोबार हुनेछ । 

वर्षको मध्यतिर दसैँ र तिहारमा रिलिज भएका चलचित्रले उल्लेख्य व्यापार गर्दा हाल नेपाली चलचित्रको ग्रसकलेक्सन नयाँ उचाइमा पुगेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘छक्का पञ्जा’को ग्रसकलेक्सन उल्लेख्य हुँदा बजारले गति लिएको हो ।

उच्च कलेक्सन गरे पनि यी आफैँमा ‘मास्टरपिस’ सिनेमा होइनन् । औसत समीक्षा पाएका चलचित्र हुन् । विषय फितलो नभए पनि पटकथा, संवाद र प्रस्तुतिले यी चलचित्र अब्बल होइनन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैले भनिएको हो– सबै राम्रा चलचित्र चल्दैनन् र चलेका सबै चलचित्र राम्रा हुँदैनन् । दोस्रो पंक्ति यी तीन चलचित्रमा लागु हुन्छ । यी तीन चलचित्रभन्दा तुलनात्मक हिसाबले ‘शाम्बाला’ र ‘गाउँ आएको बाटो’ राम्रा हुन् । तर, यी चलचित्र नेपाली बक्सअफिसमा खासै चलेनन् । यी दुई चलचित्रको सन्दर्भमा भने पहिलो पंक्ति लागु भयो ।

चलचित्र चल्नु राम्रो हो । बजार चलायमान हुन्छ । बजार चलायमान हुँदा धेरैको रोजीरोटी सुरक्षित हुन्छ । सिनेमा चल्नु भनेको बजारका ठूल्ठूला महलको बिजनेस बढ्नु पनि हो । चलचित्र उद्योग फस्टाउँदा त्यससँग सम्बन्धित अरू क्षेत्र पनि समानान्तर रूपमा अगाडि बढ्छन् ।

Royal Enfield Island Ad

चलचित्र क्षेत्रले केही वर्षपहिला नै उद्योगको मान्यता पाएको हो । यथार्थमा यो वर्षचाहिँ उद्योग भएको अनुभूति चलचित्रकर्मीले गरेका छन् । अधिकांश वर्ष आम्दानीभन्दा घाटा धेरै हुँदै आएको थियो । यसपटक भने केही चलचित्रले आकर्षक कमाइ गर्दा धेरैले सिनेमा क्षेत्रलाई उद्योगको अनुभूति गर्न पाएका हुन् ।

औसत सिनेमा पनि चल्न थालेपछि नै वास्तवमा चलचित्र क्षेत्र चलायमान हुने हो । वर्षमा दुईचार चलचित्र चलेर सिनेमा क्षेत्र बलियो हुँदैन । औसत सिनेमा नचले निर्माता त घाटामा जान्छन् नै, वितरक कम्पनी, प्रदर्शक (सिनेमा हल) सञ्चालनमा सहज हुँदैन । त्यसैले सिनेमा क्षेत्र उद्योग हुनलाई औसत सिनेमा चल्नुको विकल्प छैन । 

यो वर्ष दसैँ र तिहारमा चलेका चलचित्र औसत चलचित्र मात्र हुन् । यी चलचित्र किन चले, आ–आफ्नै तर्क होलान् । तर, अंकमा यी दुईदेखि तीनभन्दा माथि रेटिङ गर्न नसकिने चलचित्र हुन् ।

त्यसो भए किन चले ? व्यक्तिअनुसारको रोजाइ हुन्छ । व्यक्तिअनुसार फरकफरक ‘टेस्ट’ हुन्छ । त्यसैले कसैले ‘छक्का पञ्जा–५’ हेरे । कसैले ‘१२ गाउँ’ त कसैले ‘पूर्ण बहादुरको सारङ्गी’ हेरे ।

‘छक्का पञ्जा’को आफ्नै ‘लिगेसी’ थियो । दीपकराज गिरी र दीपाश्री निरौलाले दशकौँ काँचको पर्दामा काम गरेर दर्शक बनाएका थिए । त्यसमाथि कमेडी जनराको सिनेमा हेर्ने दर्शक दीपाश्री र दीपकको चलचित्र पर्खिएर बस्छन् । त्यसैले यो चलचित्र चल्यो । भलै, ‘छक्का पञ्जा–५’ मा यो वर्ष त्यति धेरै ‘पञ्चलाइन’ थिएन । हाँस्ने ठाउँ कमै थियो । तर, ‘छक्का पञ्जा’को लिगेसी र दीपक र दीपाको हास्यकलाकारको अग्लो छविले यो चलचित्र चल्यो ।

‘१२ गाउँ’ किन चल्यो ? यसमा पनि आ–आफ्नै तर्क हुन सक्छन् । विराज भट्ट एक्सन सिनेमाका निम्ति आफैँमा गर्विलो नाम हो । उनको अभिनय र निर्देशन भन्ने विषयले पनि केही दर्शकलाई तानेको हुनसक्छ । तर, बिर्सन नहुने अर्को पक्ष, यसअघि उनको कमब्याक भनेर प्रचार गरिएको र निर्देशन तथा अभिनय दुवै रहेको चलचित्र ‘साङ्लो’ चलेको थिएन ।

‘१२ गाउँ’मा विराजका छोरा समीर भट्ट पनि थिए । उनले चलचित्रमा नायकले झैँ धेरै समय र स्क्रिन त अकुपाई गर्दैनन्, तर चलचित्रको पब्लिसिटी गर्दा उनैलाई केन्द्रमा राखेर गरिएको थियो । उनी नै हिरो भनेर पब्लिसिटी गरिएको थियो । सिनेमा हेरेपछि मात्र दर्शकले विराज र समीर दुवै हिरो भएको थाहा पाएका थिए ।

विराजले समीरलाई लुकाएर राखेका थिए । जब उनले छोरालाई ‘डेब्यु’ गराउने घोषणा गरे, त्यसपछि मात्र ‘सिक्सप्याक्ड बडी सो’ गर्दै समीरको तस्बिर सार्वजनिक गरे । समीरले सिनेमामा आउनकै लागि बलिउडमा १० वर्ष कठोर तालिम गरेको दाबी गरे । यसले पनि दर्शकमा केही कौतूहल सिर्जना गरेको थियो । परिणामतः दर्शक सिनेमा हेर्न हल पुगे । चलचित्रले राम्रो बिजनेस गर्‍यो । यो चलचित्र विषय अर्थात् कथाका हिसाबले राम्रो सिनेमा होइन । यसमा समीरको एक्सन र उनका बारेमा आएका समाचार बिकेको थियो । यसले दर्शकलाई हलसम्म तानेको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक ग्रसकलेक्सन गरेको चलचित्र हो । ‘कबड्डी–४’ ले साढे २३ करोड रुपैयाँ ग्रसकलेक्सन गरेर बनाएको सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले तोड्यो । योसँगै धेरै सो पाउने, एकैदिन बढी कलेक्सन गर्ने, एक सातामा धेरै कलेक्सन गर्ने, छोटो समयमा बढी कलेक्सन गर्ने, विदेशमा धेरै सो पाउने, छोटो समयमा बढी कलेक्सन गर्नेलगायत अनेक रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आयो । यो सिनेमा हलबाट पूर्ण रूपमा उत्रँदासम्म थप रेकर्ड बनाउने सम्भावना छ । 

नेपाली चलचित्र उद्योगका अधिकांश ‘रेकर्ड ब्रेक’ गर्ने ‘पूर्ण बहादुरको सारङ्गी’ कसरी चल्यो ? जसरी यो चलचित्रले दर्शकको साथ पायो, यसरी चल्छ भन्ने मेकर र कलाकार दुवैलाई विश्वास थिएन । तर, चलचित्र चल्यो । कसरी ? 

गन्धर्व समुदायका एक बुवाले छोरो पढाउन गरेको संघर्ष यो चलचित्रको कथा हो । आमनेपाली ग्रामीण भेगका निम्नवर्गीय नेपालीले भोगेको अभावको कथा हो । अक्सर हरेक अभिभावकले आफ्ना सन्तानका निम्ति गरेको संघर्ष र त्याग यो चलचित्रले उठान गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’को यही पक्ष धेरैले आफूसँग ‘रिलेट’ गर्ने विषय हो । यही पक्षले दर्शकलाई भावुक बनाउँदा यो चलचित्र आमनागरिकले मन पराए ।

दर्शक भावुक भएर रोएका भिडियो क्लिप्स सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । त्यसले पनि धेरैको ध्यान खिच्दा दर्शक हलसम्म तान्न बल पुर्‍यायो । ‘वर्ड अफ माउथ’ बलियो हुँदा ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्सअफिसमा ऐतिहासिक सफलता पायो ।

दसैँ र तिहारको छेको पारेर रिलिज गरिएका चलचित्रले राम्रो व्यापार गरे । निर्माता, प्रदर्शक, वितरक सबैलाई फलिफाप भयो । तर, गुणस्तरका हिसाबले यी चलचित्र नेपाली सिनेमा उद्योगका लागि फलिफाप होइन ।

ठिकठाक मात्र चलचित्रले राम्रो व्यापार गर्दा बजार चलायमान भए पनि यसले सिनेमा निर्माणलाई उकास्दैन । गुणस्तर खस्काउने सम्भावना उच्च हुन्छ । औसत सिनेमाले नै उच्च कलेक्सन गरेपछि राम्रो चलचित्र बनाउन किन मिहिनेत गर्ने, किन टाउको दुखाउने भन्ने निष्कर्षमा मेकर पुग्ने सम्भावना हुन्छ ।

मिहिनेत गरेर बनाएका चलचित्रले लगानी नै नउठाउने, तर औसतले अनपेक्षित ग्रसकलेक्सन गर्दै गए राम्रा सिनेमा बनाउने निर्माता हतोत्साही हुने निश्चित छ । यसले नेपाली चलचित्रको स्तर ओरालो गतिमा दौडाउने खतरा हुन्छ ।

चलचित्रको स्तर जब खस्किन्छ अथवा स्तर बढ्दैन, तबसम्म विदेशी बजारमा नेपाली सिनेमा बिक्दैनन् । नेपाली दर्शकमै खुम्चिनुपर्छ । नेपालमा ठूलो आयतनमा व्यापार गर्ने चलचित्रले विदेशबाट पनि राम्रो कमाइ गरेका छन् ? हलमा नेपाली सिनेमा पनि लाग्न थालेका छन् त ! भन्ने तर्क आउला । यसको पनि चित्तबुझ्दो जवाफ छ ।

हालसम्म विदेशबाट जति पनि नेपाली चलचित्रले कमाएका छन्, त्यो पैसा नेपालीकै हो । नेपालीभाषीकै हो । नेपाली चलचित्र हेर्ने अहिलेसम्म नेपाली डायस्पोराले नै हो । कम्युनिटी हलमा रिलिज भएका हुन् वा सेन्सर गराएर सिनेमा हलमै रिलिज भएका हुन्, हेर्ने नेपालीले नै हो । विदेशीले हेरिदिएर नेपाली सिनेमाले विदेशमा कमाएका होइनन् ।

विदेशीले हेर्न नेपाली चलचित्रको स्तरवृद्धि हुनैपर्छ । विदेशीले नेपाली चलचित्र खोजेर हेर्नका निम्ति यसको दोस्रो विकल्प छैन । यसका लागि राम्रा चलचित्र बन्न र ती सिनेमा घरेलु बक्सअफिसमा हिट हुन जरुरी छ । यसले निर्मातालाई राम्रा चलचित्र बनाउन प्रेरित गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro