site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इरान–इजरायल युद्धविरामको संकेतपछि कच्चा तेलको मूल्य घट्यो, ब्यारेलको ६७ डलर

काठमाडौं । मध्यपूर्वमा इरान र इजरायबीच युद्धविराम हुने संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकै दिन आठ डलर घटेको छ । इरान र इजरायलबीच युद्ध सुरु भएपछि कच्चा तेलको मूल्य निरन्तर उकालो लागेर ब्यारेलको ७९ डलर पुगेको थियो । 

तर, मंगलबार राति घटेर ६६.५२ देखि ७० डलर हारहारीमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ । क्रुड कम्पनीहरूबीच कारोबारका आधारमा कच्चा तेलको भाउ तलमाथि हुन्छ ।  

अमेरिकाले इरानमाथि आक्रामण गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेर ब्यारेलको ८० डलरनजिक पुगेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युद्धविराम हुने संकेत देखिएपछि आपूर्ति प्रणालीमा सुधार हुने विश्वास बढ्दा मूल्य घटेको बताइएको छ । यद्यपि, मध्यपूर्वमा युद्धको त्रास भने कायमै छ ।

506796253_1074684001309033_7149719740090865525_n-1750733582.jpg

 मंगलबार डब्ल्यूटीआई क्रुडमा तेलको भाउ घटेर ६६.५२ डलरमा सीमित भएको छ । यस्तै ब्रेन्ड क्रुडमा ब्यारेलको ६९.५२ र मुरवान क्रुडका कच्चा तेलको मूल्य ब्यारेलको ७०.२४ डलरमा कारोबार भएको छ । 

इरान तेल धेरै परिमाणमा तेल उत्पाद गर्ने मुलुक हो । इरान र इजरायलबीचको द्वन्द्वले इरानबाट तेल आपूर्तिमा बाधा पुग्नेभन्दै व्यापारीहरू चिन्तित देखिएका छन् ।

गत जेठ २९ गत अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ब्यारेलको ७० डलर हारहारी थियो । गत चैतको अन्तिम साता कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा कारोबार भएको थियो ।

पछिल्लो समय ६० डलरको आसपासमा रहेको कच्चा तेलको मूल्य मध्यपूर्वमा सुरु भएको युद्धसँगै बढ्दै गएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर बढाएर विभिन्न मुलुकसँग अघोषित व्यापार युद्ध थालेपछि कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको थियो ।

ट्रम्पले चीनलगायत कतिपय मुलुकसँग थप भन्सारदर लगाए पनि त्यसबाट पछि हट्दा यसको असर कच्चा तेलको बजारमा परेको थियो । अहिले युद्धले ठूलो असर गरेको छ ।

भण्डारण बढाउँदै आफ्नो स्रोत जोगाउँदै आएको अमेरिका आफैँ अब विश्वबजारमा तेल बेच्ने तयारीमा छ । अमेरिका अझै पनि विश्वको कच्चा तेल धेरै उत्पादन गर्ने मुलुकमा पर्छ । 

रुस–युक्रेन युद्ध सुरु भएपछि २०७८ माघमा विश्वबजारमा कच्चा तेलको मूल्य आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । रुस–युक्रेन युद्ध कम भए पनि अझै जारी छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि यसको असर ढुवानीमा पर्छ । ढुवानी लागत बढेपछि वस्तुको भाउ पनि बढ्छ । 

तेलको मूल्य बढेपछि विश्वबजारमा महंगी बढ्नेछ । यसको नेपाली बजारमा पर्न थालेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्