site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी किल्ला साबित भयो पुथा उत्तरगंगा, कांग्रेस–एमाले मिल्दा पनि खोसिएन
चुनावीसभाका क्रममा माओवादी उमेदवार नरपुरा बुढा र कार्यकर्ता । फाइल तस्बिर ।

काठमाडौं । स्थानीय तह उपनिर्वाचन भएका ४१ स्थानमध्ये सत्तासाझेदार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच एक पदमा अनौठो तालमेल गरियो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका निम्ति एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन कांग्रेसको रुख चुनाव चिह्नबाट उमेदवार बनिन् । तर, उनी नेकपा (माओवाद केन्द्र)की नरपुरा बुढासँग एक हजार ४९९ मतान्तरले पराजित भइन् ।

माओवादीकी बुढाले तीन हजार ६२७ मत प्राप्त गरिन् । तुलाचनले दुई हजार १२८ मत ल्याइन् । पुथा उत्तरगंगामा दुई उमेदवार मात्र प्रतिस्पर्धामा थिए ।

नेकपा (एकीकृत समाजवादी)बाट उमेदवारी दिएकी सुनिता बुढामगर र स्वतन्त्र रूपमा उठेका कोपिला पुनबुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार (विक)ले उमेदवारी फिर्ता लिएका थिए ।

रुकुम पूर्वलाई माओवादीको पकड क्षेत्र मानिन्छ । माओवादीको ‘किल्ला’ भत्काउन कांग्रेस–एमालेले चुनावी तालमेल गरेका थिए । तर, यो क्षेत्रमा आफ्नो पार्टीको पकड रहेकाले अझै १०/१५ वर्ष कसैले हल्लाउन नसक्ने माओवादीकी जिल्ला संयोजक कुमारी बराल जिकिर गर्छिन् ।

“दुई दल (कांग्रेस–एमाले) हाम्रो विरुद्धमा लागेका थिए । अहिलेसम्म रुकुम पूर्वमा जुन विकास निर्माणको काम भएको छ, त्यो माओवादीको देन हो । त्यो देनलाई जनताले भुल्न सकेका छैनन्,” उनी भन्छिन्, “रुकुम पूर्वमा अझै १०/१५ वर्ष माओवादीलाई कसैले हराउन सक्दैन ।”

अन्यत्र एक्लाएक्लै चुनाव लडेका कांग्रेस–एमालेबीच यहाँ तालमेल गरिएको थियो । सत्तासाझेदार दलका नेताहरूका अनुसार, मत बदर हुने सम्भावनालाई चिर्न एमाले नेतृ कांग्रेसको चुनाव चिह्नबाट उमेदवार बनेकी थिइन् । एमाले जिल्ला अध्यक्ष लीलामणि गौतमले अपनत्व र मत बदर रोक्न कांग्रेसको चुनाव चिह्न रोज्नुपरेको बताएका थिए ।

पुथा उत्तरगंगाकै वडा नम्बर–२ मा कांग्रेसले उमेदवारी नदिएर एमालेका उमेदवार जीवन रोकालाई सहयोग गरेको थियो । तर, एमालेका उमेदवार रोकाले उमेदवारी फिर्ता लिए, माओवादीका उमेदवार जगत घर्ती सर्वसम्मत निर्वाचित भए ।

उमेदवारी फिर्ता लिएसँगै उनलाई एमालेले पार्टीबाट कारबाही समेत गरेको थियो ।

०७४ र ०७९ सालको स्थानीय तह निर्वाचनमा यो पालिका माओवादीले नै जितेको थियो । त्यति बेला माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजय हासिल गरेको थियो । वडा तहसम्मै माओवादीको पकड छ ।

उपनिर्वाचनबाट उपाध्यक्षमा निर्वाचित नरपुरा ०७९ मा उपाध्यक्ष जितेकी भूपेन्द्रा बुढामगरकी दिदी हुन् । भूपेन्द्राको निधनपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । 

पालिकाको उपनिर्वाचनका निम्ति माओवादीले केन्द्रीय नेताहरूलाई समेत यहाँ परिचालन गरेको थियो । माओवादीले प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीको नेतृत्वमा पूर्वमन्त्री गणेशमान पुन, कमला रोका, दलजित सिर्पालीलगायत नेता–कार्यकर्ता खटाएको थियो ।

यहाँ माओवादीलाई भूपेन्द्राकी दिदीलाई उमेदवार बनाउँदा ‘सेन्टिमेट’ मत पनि प्राप्त भएको विश्लेषण गरिएको छ ।

०७९ मा भूपेन्द्राले चार हजार ५९ मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमलाकुमारी मल्लले दुई हजार १०, एमालेकी धर्मघर्ती बुढाले एक हजार ८१२ मत पाएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro