
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना आजैदेखि सुरु गर्ने तयारी गरिएको छ । सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले आजै मतणना थाल्ने तयारी रहेको बताए ।
“मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक हुनेछ । सर्वदलीय बैठकले निर्णय गरेपछि मात्रै भन्न सकिन्छ । तर, आजैबाट गणना थाल्ने तयारीमा छौँ,” उनले बाह्रखरीसँग भने ।
उनका अनुसार, मतगणना कहाँबाट थाल्ने भन्ने सर्वपक्षीय सहमति यसअघि नै भइसकेको छ ।
जसअनुसार, पहिले नगरपालिका प्रमुखको मतगणना वडा नम्बर–१ बाट सुरु गरिनेछ । त्यसपछि वडा नम्बर–१ को वडाध्यक्षको मतगणना हुनेछ । त्यसपछि वडा नम्बर–४ अन्तर्गत नगरप्रमुखतर्फको मतगणना हुनेछ । त्यसपछि वडा नम्बर–४ को वडाध्यक्षको गणना गरिनेछ ।
त्यसपछि प्रमुख पदको बाँकी मत वडाअनुसार गणना गर्ने तयारी भएको छ । कीर्तिपुरमा नगरप्रमुख एक र वडा नम्बर–१ र ४ नम्बरको वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।