
काठमाडौं । इजरायल र इरानबीच भएको हालैको युद्धपछि इजरायली गुप्तचर एजेन्सीहरूसँग सम्बन्ध भएको आशंकामा इरानमा गिरफ्तारी र मृत्युदण्डको लहर बढेको छ ।
यो कदम इजरायली एजेन्टहरूले इरानी सुरक्षा सेवाहरूमा अभूतपूर्व घुसपैठ गरेको भनेर अधिकारीहरूले बताएपछि सुरु भएको बताइएको छ ।
इजरायलको पक्षमा काम गर्ने अधिकारीहरूले इजरायललाई दिएको गोप्य सूचनाले द्वन्द्वको समयमा उच्च प्रोफाइल इरानीहरूको हत्यामा भूमिका खेलेको शंका गरिएको छ ।
विशिष्ट इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)का वरिष्ठ कमान्डरहरू र आणविक वैज्ञानिकहरूको हत्या भएको घटनामा संलग्नहरू गिरफ्तारीमा परेको बताइएको छ । यसमा इरानले देशभित्र कार्यरत इजरायलको मोसाद गुप्तचर एजेन्सीका एजेन्टहरूको काम भएको बताएको छ ।
इरानी उच्च अधिकारीहरूको हत्या भएपछि क्रोधित बनेका अधिकारीहरूले राष्ट्रिय सुरक्षाको लागि भन्दै विदेशी गुप्तचरसँग काम गरेको शंकामा जो सुकैलाई पनि निशाना बनाइरहेको बताइएको छ ।
तर, धेरैले यसलाई असहमति दबाउन र नियन्त्रण कडा पार्ने उपाय भएको बताएका छन् ।
१२ दिने द्वन्द्वको समयमा इरानी अधिकारीहरूले इजरायलको लागि जासुसी गरेको आरोपमा तीनजनालाई मृत्युदण्ड दिएका थिए । बुधबार युद्धविराम भएको भोलिपल्ट थप तीन जनालाई सोही आरोपमा मृत्युदण्ड दिइएको छ ।
अधिकारीहरूले त्यसयता देशभर सयौँ संदिग्धहरूलाई जासुसीको आरोपमा गिरफ्तार गरेको घोषणा गरेका छन् । सरकारी टेलिभिजनले धेरै हिरासतमा लिइएकाहरूको भनाइ प्रसारण गरेको र त्यसमा उनीहरूले इजरायली गुप्तचरसँग सहकार्य गरेको स्वीकार गरेको दाबी गरिएको छ ।
मानव अधिकार समूहहरू र कार्यकर्ताहरूले पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । इरानको जबरजस्ती बयान लिने र अन्यायपूर्ण सुनुवाइ गर्ने गरेकाले थप मृत्युदण्डहरू हुनसक्ने बताइएको छ ।
इरानको गुप्तचर मन्त्रालयले पश्चिमी र इजरायली गुप्तचर नेटवर्कहरू सीआईए, मोसाद र एमआई ६ विरुद्ध निरन्तर युद्धमा संलग्न रहेको दाबी गरेको छ ।
आईआरजीसीसँग सम्बद्ध फार्स न्युज एजेन्सीका अनुसार १३ जुनमा इजरायलको आक्रमण सुरु भएदेखि इजरायली जासुसी नेटवर्क देशभित्र अत्यधिक सक्रिय भएको छ । फार्सले जनाएअनुसार १२ दिनको अवधिमा इरानी गुप्तचर र सुरक्षा बलले यो नेटवर्कसँग सम्बन्धित ७०० भन्दा बढी व्यक्तिहरूलाई गिरफ्तार गरेको बताएको छ । बीबीसी