site stats
बाह्रखरी :: Baahrakhari
देश
राजापानी सिद्धेश्वर महादेव ओझेलमा

दमौली । धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव मन्दिर ओझेलमा परेको छ । 

सदरमुकाम दमौलीबाट कलेस्ती हुँदै १६ किलोमिटर दूरीमा अवस्थित उक्त ठाउँ प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । यहाँ हरिबोधनी एकादशी र शिवरात्रिको बेला विशेष मेला लाग्ने गर्छ ।  

Argakhachi Cement Island Ad

स्थानीय बसुन्धरा घर्तीले यस ठाउँलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउन सरोकार भएका निकायसहित स्थानीयवासीले पहल गर्नुपर्नेमा जोड दिइन् । 

“धेरै वर्ष पहिला यो मन्दिर पत्ता लागेको हो । यसको विशेष महत्व छ । यसको संरक्षण र प्रवर्द्धन गर्न सके यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ,” उनले भनिन्, “यसको प्रचारप्रसार गर्दै यहाँ पूर्वाधार निर्माणतर्फ स्थानीय तहले पनि चासो दिनुपर्छ ।” 

सदरमुकाम नजिकै रहेर पनि यस ठाउँको सोचे अनुरुपको विकास हुन नसकेको राजापानी सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्वकोषाध्यक्ष बलबहादुर भुजेलले उल्लेख गरे ।    

मन्दिरमा भाकल गर्दा आफ्ना मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको समितिका अध्यक्ष होमबहादुर गोदारले बताए । उनले भने, “मन्दिरको प्रचारप्रसारका लागि हामी क्रियाशील छौँ । यसको प्रवर्द्धनका लागि स्थानीय तहलाई पनि अनुरोध गरेका छौँ ।” 

उनका अनुसार दुःखकष्टबाट मुक्ति, लाभको कुनै कामना, मनको इच्छा पूरा गरिदेऊ, पूरा भएमा फूलको डोली लिएर दर्शन गर्न आउँछु जस्ता विभिन्न भाकलहरु गर्ने गरिन्छ । रासस
 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्