site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मालिकको छोरो

साहु गणेशमान आफ्ना बाबुको एक्लो छोरो । बाबुले जीवनपर्यन्त व्यवसाय गरेर, नेपालदेखि बर्मासम्मको हिसाब–किताब मिलाएर प्रचुर सम्पत्ति सँगाले । छोराको बिहा पनि गरे, नातिको मुख पनि देखे र छोरोलाई सम्पूर्ण सफल गृहस्थ बनाएर स्वर्गे भएका थिए ।

बाबुकै पालादेखि पालिराखेको एउटा केटो पनि सँगसँगै खाई, लाई, बाँची, घरको कामधन्दा गरी गणेशमानको घरको प्राणी भएको थियो । उसको नाउँ थियो, ‘राममान’ ।

गणेशमानकी स्वास्नी घरकी मालिक्नी भएर गृहस्थीमा लागिन् र गणेशमानको सानो छोरोचाहिँ राममानको एकलौटी सम्पत्ति जस्तो भयो । उसैले खेलाउने, उसैले ख्वाउने, पण्डित बाजे आएको बेलामा पढ्न बसाल्ने र पढ्दाखेरि आफू पनि बसिरहेर टुलुटुलु हेरिरहने !

Dabur Nepal

गणेशमान, छोरो कृष्णेलाई अत्यन्त माया गर्थे, मालिक्नी अत्यन्त प्यारो गर्थिन् प्राणझैँ र राममान कृष्णेलाई पाएर आफैं केटाकेटी हुन गएको थियो । ऊ पढ्ने बेलामा राममान आफैं पनि पढिरहेको जस्तो पाउने, खेल्ने बेलामा स्वयं खेलिरहेको जस्तो आनन्द लिने ।

कहिलेकाहीँ कृष्णेलाई केही रुघा, खोकी, जरो आएर खेल्न–पढ्नमा बाधा पर्‍यो भने राममान स्वयं हतबुद्धि, कर्तव्यहीन भएर ऊ पनि बिरामी जस्तो नै हुन जान्थ्यो । मानो कृष्णेबाहेक उसको स्वयंको कत्ति पनि अस्तित्वै छैन; मानो कृष्णेकै उत्फुल्लता, हाँसो, चकचकेपनमा राममानको प्राण सजीव हुन जान्थ्यो ।

कहिलेकाहीँ कृष्णेप्रति कुनै दोष, कुनै असावधानी राममानबाट हुन जाँदा मालिक्नी रिसाएर हप्काउँदथिन्, ‘छोरोलाई तैंले कुन्नि के भन्ठानेको छस्; यो टुहुरो त होइन –जल्ले पायो जथाभाबी गर्ने ।’ इत्यादि ।

राममानलाई आफ्नो वास्तविक अस्तित्वको भान हुन्थ्यो, ‘कृष्णे देउता हो, स्वर्गको पुष्प हो, महान् हो ! राममान उसको नोकर, तुच्छ, नगण्य, निजीव !’ 

कहिलेकाहीँ मग्न भएर कृष्णेका साथ राम खेलि–हाँसिरहेको बेलामा साहु गणेशमान आइपुग्दथे । यो चालामा उनको महानताको दर्पलाई धक्का लागेर भन्थे, ‘ए छुसी ! केटोलाई बिगारि नै दिन ऑटिस् ? त्यो तँ जस्तो भाते त होइन !’

राममानलाई आफ्नो अपराधको पत्ता हुन्थ्यो, ‘ऊ (कृष्णे) म जस्तो होइन । उसको घर हो, उसको श्रीसम्पत्ति, ऊ मालिक हो ।’

र, र कुनै यस्तै बेलामा एकातिरबाट हाँस्तै, उफ्रँदै आएर कृष्णे आह्वान गर्थ्यो, ‘राममान, ए रामे, ईः हेर् न मेरो गुच्चा ! नयेँ, भक्खरै किनिल्याएको !’ राममानका आँखा चम्कन जान्थे, उसको नसानसामा विद्युत्प्रवाह भरिन जान्थ्यो, अनि ।

‘जाऊँ बाहिर, बारीमा भोकटे नटिप्ने ? भकुन्डो खेल्न पर्दैन ? उः श्यामे पनि छ, गोविन्दे पनि !’

राममान बिर्सन्थ्यो सब थोक, एकैछिनमा उसको समस्त ‘आश्रितको अस्तित्व’ लोप भएर राममान उत्फुल्ल, उत्सुक कृष्णेको साथी हुन जान्थ्यो ।

यही क्रमभित्र एक दिन पतिलाई सैंतिस वर्षको विधुर पारेर, छोरोलाई एघार वर्षको बच्चो छोडेर, आफू तेत्तिस वर्षको जिन्दगीको सुख उठाएर मालिक्नी परलोक भइन् ।

कृष्णे रोयो, उसको रुवाइ देखेर राममानको प्राणै रोयो । बोलाउन आएका छिमेकीहरूले सम्झाइ–बुझाइराखेका सान्त्वनाभित्र गणेशमानले पनि निकै आँसु खसाले, कृष्णेको टाउको सुमसुम्याउँदै राममानले उसलाई अपनायो ।
अनि केही दिनपछि नै गृहस्थीको चालामाला बिग्रन लाग्दा साहु गणेशमानलाई धेरैले राय–सल्लाह दिए, ‘बिहा गर्नुपर्छ, उमेरै पो कति भएको छ र ! घरबार कसरी चल्ने ? छोरो टुहरो भयो, ।’ इत्यादि ।

रामेको आत्माले कुन्नि कुन कुनाबाट करायो, ‘मेरो कृष्णे टुहुरो छ, मेरो कृष्णे...।’ उसले विचार गर्‍यो, ‘टुहुरो म हुन दिन्नँ, मालिक हनुहुन्छ नै, म छँदै छु, अब कृष्णेलाई यताउति त्यसै खेल्न जान दिन्नँ, राम्ररी पढाउनुपर्‍यो ।’

किन्तु एकछिनपछि उफ्रिँदै आएर कृष्णे भन्थ्यो, ‘ए रामे, आइज न, हेर् त हेर् कस्तो...!’ जान्थ्यो रामे चङ्गा लुट्न र लाग्थ्यो कृष्णे उसको पछिपछि हाँस्तै दगुर्न ।

गणेशमानले एक दिन हप्काए, ‘तैँले केटोलाई बरालिदिनै आँटिस् ए ! दिनभरि गुच्चा, चङ्गा, भोकटे । जा निक्ली तँ यस घरबाट !’ अनि दुई–चार थप्पड लगाएर घोक्य्राइदिए । कृष्णे उस बखत थिएन ।

भोको रामे रुखमनि बसिरह्यो । उसले टाढैबाट हेर्‍यो– गणेशमान कृष्णेको कान निमोठिरहेका थिए, केही हप्काइ पनि रहेका थिए, तर तिनको कुरा सुनिँदैनथ्यो ।

उसको शरीरको रगत उफ्रेर कृष्णेतिर पुग्ने बल गयो, तर रगतचाहिँ शरीरभित्र बन्द थियो र शरीरचाहिँ रामेको थियो ः जससित कृष्णको कुनै सम्बन्ध थिएन ।

विवश भएर बसि नै रह्यो बिचरा रामे । उसका आँखा दिनभरि–कहिले त्यो झ्याल, कहिले उ झ्याल, कहिले ढोकातिर लागे; तर कृष्णे देखा परेन । उसले सोच्यो, ‘कृष्णे थुनियो कि !’

उसको भित्रमा सहस्र नीरव स्वरले सोधे, ‘कृष्णे थुनियो कि ? बिचरा कृष्णे...!’ रामे रुन लाग्यो । आँखाबाट आँसु झर्न थाले । निस्सारको आँसु र कृष्णेप्रति ! ती आँसुको मूल्य नै के थियो ?

घरभित्रको दृश्य, रामेको भित्री आँखाअगाडि प्रस्ट हुन गयो, ‘उः त्यही बैठकको कोठा होइन ? ढोका बन्द छ, कृष्णे उसैमा रोइरहेको । होइन, त्यो पूजाकोठामा, होइन, होइन, त्यहाँ पनि होइन, त्यो के त्यो भँडारमा । बा...बै ! त्यहाँ त सधैँ मुसा यताउति दगुरिरहन्थे । कसैले टोक्यो भने...!’

उतैतिर आइपरेका छिमेकका एक जना मानिसले सोधे, ‘ए, किन यहाँ बसिरहेको ? भोकै छस् ? पख, म गएर साहुलाई भनिदिन्छु– ‘रामे भोकले रोइरहेको छ ।’

उसलाई थाहा भयो– उसले आज दिनभरि केही पनि त खान पाएन । कृष्णेले पनि खान पायो, पाएन ?

साँझखेर त्यो घरको ढोकामा गएर चियायो, कृष्णे देखिएन, पछाडिपट्टिको भ्यालमा हेर्‍यो, कृष्णे छैन, एकपल्ट बिस्तारै बोलायो, ‘कृष्णे !’ कोही बोलेन । उसलाई शंका लाग्यो, ‘कृष्णे भोकै त थुनिएको छैन ? अवश्य छ, दिनभरि नत्र किन निस्कँदैनथ्यो !’

अनि, बिर्स्यो रामेले–आफू घरबाट निकालिएको । त्यसले बिर्स्यो–मालिकले रिसाएर घरमा नपस्नू भन्ने आज्ञा दिएका छन् ।

दिनभरि भोकै रुखमनि बसिरहेको कुरा पनि रामेले बिर्स्यो ।

डर मान्दै रामे साहुको अगाडि पुग्यो । गणेशमानले सोधे, ‘किन आइस् छुसी ?’ रामे रुन लाग्यो । साहुलाई दया लाग्यो, ‘अब फेरि त्यसो त गर्ने छैनस् ? जा घरमा । भोक लागेको छैन ? जा खा । तर फेरि बदमाशी गरिस् कि भोकभोकै मर्ने छस् ।’

ऊ डर मान्दै भित्र पस्यो । कृष्णे बैठकमा किताब लिएर बसिरहेको थियो । ऊ उसको अगाडि पुग्यो ।

– ‘ए रामे, आइस् ? मरो पालो म पनि दिनभरि निस्कँदै–निस्किनँ ।’

राममान, बिचरा राममानका आँखाबाट आँसु झर्न थाले । तर सधैँको झैँ कृष्णेलाई हात समातेर तान्न साहस उसलाई आज भएन र उसलाई भान भयो कि ऊ भोको छ !

गणेशमानले बिहा गरे । नौली मालिक्नी आइन् । हितैषीहरूको राय–सल्लाह नमानी साहुले सुख पाएनन् । छोरो पनि त्यसै बरालिइरहेको, त्यो चिन्ता पनि छुटाउनै थियो ।

कृष्णे स्याहारिन लाग्यो । पहिले बिस्तार–बिस्तारै र क्रमशः पछिबाट राम्ररी उसको हेरचाह हुन थाल्यो ।

पहिलो कुरा त उसलाई बिगार्ने रामेलाई नै तह लाउनुपर्‍यो । साहुको आज्ञा थियो– नोकर राख्नु पर्दैन ः पानी यसैले ल्याउँछ, घर यसैले बढार्छ, उठाउने–राख्ने काम यसैले गर्छ, ओछयान यसैले लगाउँछ, तमाखु यसैले भर्छ र पसल गएर किनमेल पनि... तर अलि हिसाब–किताब र किनिल्याएको तरकारी, मालतालमा विचार राख्नुपर्ला है !

आज्ञाकारिणी मालिक्नी सबै थोक राम्ररी पूरा गर्न लागिन् ।

कृष्णेको हेरचाहलाई आज्ञा थियो– बिहान खुवाएर अब स्कुल पठाउनुपर्छ, त्यहाँबाट फर्केपछि किताबहरू च्यातेफालेको हेर्नुपर्छ, स्कुलमा पढिरहेको थियो कि खेलिरहेको, त्यो पनि विचार राख्नुपर्ला, गुच्चा, चङ्गा, भोकटे खेल्न दिनु हुँदैन र उसको लुगा–सुगा, खानपिनलाई विचार त राख्न्यै छ्यौ ।

मालिक्नी यी सबैलाई पनि राम्ररी पूरा गर्ने थालिन् ।

रामेलाई दिनभरि फुर्सत हुँदैनथ्यो, मालिक्नी उसलाई खुवाएको खेर जान दिँदैनथिन् । कृष्णेको उधुम हेरचाह हुन लाग्यो । अनेक प्रकारका नियम–उपनियम तयार भए । अनेकौँ ‘गर्नु–नगर्नु को आज्ञा मिल्यो । किन्तु कृष्णेलाई यी सबैले पलाउन सकेनन् । उसलाई त नियमहरू बन्धन मात्र भए, कृष्णेप्रति उनमा हार्दिकताको अभाव थियो । यस्त सबै ‘गर्नु नगर्नुहरू’ निषेध मात्रका रूपमा उसलाई मिले, उनमा सहानुभूतिको त्यो अमृत थिएन जसबाट सुकेको पनि हरियो हुन जान्छ ।

कृष्णेको उफ्र्याई हरायो, हेरचाहको कमी थिएन । ऊ दिनदिनै दुब्लाउन लाग्यो, नियम–निषिेधमा बेपर्वाही थिएन ।

ऊ रामेसित खेल्न पाउँदैनथ्यो । एकनासको क्रमले उसको सजीवता नै मिट्यो । अब उसलाई प्रतिक्षण एकान्तताको भास हुन लाग्यो, ऊ आफूलाई असहायझैँ पाउन लाग्यो । बिस्तार–बिस्तारै आफ्नो दीनहीन अवस्थामा अज्ञात भावसित उसको भित्र झिझ्याट, दिक्क लाग्न थाल्यो र उसमा एउटा अकारणको विरोध–भावना उम्लन लागेकाले ऊ वातनपिच्छे झगडा गर्ने पनि हुन गयो ।

हरेक बातमा मालिक्नीलाई कृष्णेले तिखो जबाफ दिन लाग्यो र त्यस्तै मालिक्नीले उसलाई कस्न पनि लागिन् । घरमा झगडा जस्तो गर्ने र बाहिर दीनहीन भीरुझैँ भएर रहने कृष्णेको दशा बिग्रँदै गयो ।

रामेसित बाहिर स्कूल जाने बेलामा कुरा गर्ने अवसर मिल्थ्यो, तर ऊ खेल्ने, कुरा गर्ने उत्फुल्ल प्रस्ताव अब गर्दैनथ्यो । उसका आँखा रसाउन मात्र रसाउँथे । रामे पनि अलि हाँसेर, केही सोधेर आफ्नो काममा लाग्थ्यो ।

गणेशमानले भने, ‘कृष्णे दिनदिनै दुब्लो हुँदै जान लाग्यो, क्या हो ?’

मालिक्नीले भनिन्, ‘दिनभरि सहरमा चाहिने नचाहिने किनेर खान्छ, राति भात राम्ररी खाँदैखादैन । मन लागेको ठाउँमा यताउति डुल्छ । केही भनौँ भने मलाई नै भन्नु–नभन्नु भन्न थाल्दछ । गरूँ के ? हजुरबाट हप्काइ नै बक्सनुहुन्न ।’

साहुले कृष्णेलाई हप्काए, ‘आमाले भनेको मान्नु पर्दैन ? बदमासी गर्छस् पाजी !! दिनभरि डुल्ने, चभुर–चमुर घिचिरहने, पढ्न पनि पढ्दैनस् । के पढ्न लागेको, खोइ ?’

पढाइको परीक्षा लिए । भीरु कृष्णेले कुनै प्रश्नको उत्तर दिन सकेन, पढाइको कमीले कि मनको कमजोरीले, कुन्नि ? उसलाई दुई–चार थप्पड लगाएर बुझाए, ‘अबदेखि बदमासी गरिस् कि...।’

रामेलाई सह्य भएन, ‘होइन हजुर, बाबु त दिनहुँ स्कुल जानुहुन्छ, बदमासी पनि गर्नुहुन्न...।’ इत्यादि, इत्यादि । केही सम्बद्ध, केही असम्बद्ध, मूर्ख हृदयको वास्तविक उद्गार !

उसलाई पनि दुई–चार राम्रो झटारो खानुपर्‍यो, ‘अबदेखि तैँले यसलाई साथ लगाइस् त...! तैँले नै गर्दा यो यस्तो बिग्रेको, पाजी, बदमास, भाते...।’ इत्यादि ।

कृष्णेको पढाइ पनि छुटयो । उसले विचार गर्ने सामर्थ्य नराखे पनि उसको निर्मल बाल–अन्तःप्रकृतिले अझसम्म बाबुप्रति आशा, सहानुभूति, ममताको मसिनो धागो समातेर हिँडिरहेको थियो ।

आज यो अकारणको हप्काइले, ताडनाले त्यो धागो पनि चुँडियो । अब ऊ दिनभरि एक्लै गल्ली–गल्लीभित्र डुलिरहेर चार बजे घर आउँथ्यो, फेरि एक कुनामा कतै कुच्रिरहन्थ्यो ।

मालिक्नीकाप्रति उसमा त यहाँसम्म विद्रोह बढ्यो कि उनले केही भन्नै नहुने, भनिन् कि तिखो स्वरले ऊ झम्टन्थ्यो र परिणाममा अविरोध भावले कुटाइ पनि खान्थ्यो । उनलाई ऊ कुन्नि किन सहिनसक्ने भयो । राम्रो कुरा गरे पनि ऊ उल्टै तवरले व्यवहार गर्थ्यो । तर दण्ड जस्तोसुकै भए पनि चुपचाप सहन्थ्यो ।

एक दिन साहु थिएनन् । कृष्णेको नराम्रो कुरा सुनेर मालिक्नीले उसलाई कठोर दण्डको व्यवस्था गरिन् र रामेले प्रार्थना गर्‍यो, ‘यस्तो नगर्नुस् हजुर ! अब भैगो ।’ 

–विवश रामे फेरि गिडगिडायो, ‘भोभो हजुर, बिचरा बालक... हरे ! के गर्नुभएको हजुर, छोडिदिबक्स्योस्, अब भयो ।’

उसको कुरा सुनेर दीनहीन कृष्णेको गालामा दश–पाँच थप्पडको वृद्धि अरू पनि भयो । साथै रामेले पनि सुन्यो, ‘पख् तँलाई, यस घरबाट ननिकाली कहाँ छोडौँला ? तँ छुसी मलाई सम्झाउन आउने ! पख् ।’

त्यही सन्ध्यामा दुई घटना भए– बेसरी गाली र कुटाइ पनि खाएर रामे निकालियो र कृष्णेलाई जरोको आक्रमण !

जरोको उपचार मालिक्नीले राम्ररी नियमको साथ गर्न लागिन् । तर केही नलागेपछि डाक्टरले आएर भन्यो, ‘टाइफाइड जस्तो छ । सात दिनपछि थाहा होला ।’

सातौँ दिन अलिअलि अँध्यारो हुन लागेको बेलामा साहु गणेशमान छोरोको सिरानतिर बसिरहेर आँसु खसालिरहेथे र होसहवास नभएको ज्वरग्रस्त कृष्णे बरबराइरहेको थियो, ‘ए रामे, भाग् न भाग् रामे ! मुमाले तँलाई पनि कुटिबक्सनुहुन्छ । भाग् न...रामे (एकछिन थामिएर) बुबाले तँलाई पनि निकालिदिनुहुन्छ. रामे... (एकछिन फेरि थामेर) अब भोकटे खेल्दिनँ, बा..! रामेलाई ननिकालिबक्सियोस् न ! उल्ले त...उल्ले त मलाई केही पनि बिगार्दैन । अब त उल्ले...। उः, ए रामे, भाग् न भाग, मुमाले तँलाई...।’

कुन्नि कताबाट बिस्तार–बिस्तारै आएर ढोकाको प्वालबाट निकै बेरसम्म यो सबै हेरि–सुनिरहेको रामे, एउटा व्यथाले थिचिएको निश्वास फालेर, त्यस अन्धकारमा एकातिर लाग्यो । उसका आँखाबाट आँसुका थोपा झरिरहेका थिए र हृदयभित्र कुन्नि कसले नीरव भाषामा भनिरहेको थियो, ‘नकुटिबक्सियोस्, हजुर ! अब त बाबु दिनहुँ स्कुल जानुहुन्छ, भयो हजुर, अब त.. !’ 

माथि आकाशमा ताराहरू पिलपिल गरिरहेका थिए ।

(रचनाकाल : वैशाख, १९९९)
(कथाकार भिक्षुको कथाकृति ‘गुनकेसरी’बाट ।)

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro