कुमाराज सुवेदी
तिम्रा नयनहरूलाई साक्षी राखी
सपना देखेको धेरै भयो
रहर त बिपनामा तिम्रो स्पस्ट मुहार हेर्ने थियो,
तर
तिमी सबै वादका पीरहरूको घुम्टो ओढेर बस्छ्यौ !
छोड अहंकारका पहाडहरूलाई बोक्न
सहज छ जीवन नदीसरी बहनुमा
रहर त स्नान गर्ने थियो,
तर
तिमी वर्षाको भेल भई उर्लिन्छ्यौ !
म कसरी ऐना हेर भनूँ,
जबकि तिम्रो आफ्नो परिचय
मुहारमा कतै देखिँदैन !
देखिन्छ त केवल
घृणाभावले जर्जर परेका मुजाहरू,
र
गन्ध आउँछ क्षणिक अत्तरको,
तर
म
तिम्रो काखीको पसिनामा सुगन्ध खोज्दछु !
तिमी खास नभएपछि
माया पनि त खास हुन्न होला
सतहमा रमाउन खोजेपछि
माया पनि त गहिरिँदैन होला !
ठिकै छ,
तिमी भएको परिचय मिल्क्याएर
आयातित डुंगुरमा नयाँ अस्तित्व खोज्दै गर
महिला भएर महिला हुँ भन्न सक्ने महिला खोजूँला,
र
उनैलाई निलो आकाश र ऊर्बर धर्ती मानी
जीवनको करेसाबारीमा
असमानताका डल्लाहरूमा लिड्को लगाउन
एक मेलो खेती गरूँला ।
(अस्ट्रेलिया)