site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

सङ्क्रमणकालीन न्याय सम्पादनमा भएको ढिलाइ हेर्ने हो भने नेपालका राजनीतिक नेताहरूको नियत र क्षमता दुवैमा शङ्का गर्नुपर्ने हुन्छ । शान्ति प्रक्रियाका नाममा राज्यको ढुकुटी दोहन गर्ने काममा मात्र राजनीतिक नेतृत्वको ध्यान गएको देखिएको छ । 

माओवादीले सुरु गरेको सशस्त्र विद्रोहका क्रममा भएको ज्यादती तथा मानवीयताविरुद्धका अपराधपीडितलाई न्याय दिलाउने सहमति २०६३ साल मंसिर ५ गते राज्य र विद्रोही पक्षबीच भएको थियो । करिब दुई दशक बिते पनि ‘सङ्क्रमणकालीन न्याय’ भने अधुरो छ । 

दशक लामो हिंसात्मक द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट गरी करिब १७ हजार जना मारिएका थिए भने १ हजार ४ सयभन्दा बढी बेपत्ता पारिएका छन् । विस्तृत शान्ति सम्झौताको पाचौँ बुँदामा “दुवै पक्ष सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको गंभीर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्नहरूको बारेमा सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गर्न सहमत छन् ।” भन्ने लेखिएको छ ।

शान्ति सम्झौताका अरू पक्षले प्राथमिकता पाउँदा न्याय सम्पादन अधुरो रहनुमा राजनीतिक नेतृत्व विशेषगरी तत्कालीन विद्रोही नेकपा (माओवादी)का नेताहरूको नियत बढी जिम्मेवार देखिन्छ । कार्यकर्तालाई आर्थिक र अन्य लाभ हुने क्रियाकलापमा मात्र उनीले ध्यान दिए । 
त्यसो त अहिलेसम्म सङ्क्रमणकालीन न्याय सम्पादनका लागि केही नै नभएको भने होइन । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोग नै दुई दुईपटक गठन भइसकेको छ । तर, आयोगहरूको स्वीकार्यता नै विवादमा परेकाले उजुरी सङ्कलनबाहेक तिनले अरू केही गर्न सकेनन् ।

त्यस्तै, सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐनमा पनि सहमति हुनसकेको थिएन । पहिले बनाइएको ऐन द्वन्द्वपीडितका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार समुदायले स्वीकार गरेनन् । सर्वोच्च अदालतले पनि त्यसमा न्यायका सिद्धान्त र अन्तर्राष्ट्रय कानुनविपरीत देखिएका प्रावधान खारेज गरिदियो ।

अहिले ऐनमा सहमति भइसकेको छ । सरकारले दुवै आयोग गठन प्रक्रिया पनि अगाडि बढाएको छ । सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीशको अध्यक्षतामा गठित सिफारिस समितिले  पदाधिकारी चयनका लागि सार्वजनिक सूचना प्रकाशित गरेर नाम सङ्कलन गरेको छ । 

अब आयोगहरूमा सबैले विश्वास गर्नसक्ने र राजनीतिक दलका नेताको छायामा नपर्ने पदाधिकारीहरू छानिए भने कम्तीमा प्राकृतिक न्यायको सिद्धान्तअनरूप सङ्क्रमणकालीन न्याय सम्पादन हुने अपेक्षा गर्न सकिन्छ । आशा गरौँ, सिफारिस समितिले जनमानसलाई निराश गराउनेछैन ।

आयोगमा पदाधिकारी चयन हुँदैमा न्याय सम्पादन भइहाल्छ भनेर ढुक्क हुन भने हुँदैन । विशेषगरी न्याय सम्पादनका क्रममा मानव अधिकार उल्लङ्घनकर्ता राजनीतिक दलका नेता, कार्यकर्ता तथा राज्यका सुरक्षाकर्मीले सजाय भोग्नुपर्ने देखिन थालेपछि समग्र प्रक्रिया बिथोल्ने षड्यन्त्र हुनसक्छ ।

यसका लागि आयोगका पदाधिकारीमा जस्तोसुकै दबाब थेग्न सक्ने र कुनै पनि प्रलोभनमा नपर्ने व्यक्तिहरूको छनोट सिफारिस समिति सफल हुनुपर्छ । सरकारले पनि समितिको सिफारिस दायाँबाँया नगरी पदाधिकारी नियुक्त गरेर पूरा सहयोग उपलब्ध गराउनुपर्छ । त्यसपछि आयोगका पदाधिकारीले दायित्व पूरा गरे भनेमात्र शान्ति प्रक्रिया सफल भएको ठहरिनेछ ।     


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro