
काठमाडौं । रुपन्देहीमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । कुटपिटबाट मायादेवी गाउँपालिका–७, बैरीहवाका ३५ वर्षीय राजु सहानीको मृत्यु भएको हो ।
उक्त आरोपमा सोही ठाउँका २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहारलाई गएको शुक्रबार राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
पुरानो रिसइबीका कारण उनीहरूले कुटपिट गरेका खुलेको छ । कुटपिटबाट सहानी गम्भीर घाइते भएका थिए । भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न सोही ठाउँका २१ वर्षीय अजय सहानी फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।