site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
धुन्धकारी

नशा नसामा भएन भने आखिर बाँच्नुको सार पनि केही रहन जान्छ जस्तो लाग्दैन जीवनमा ।

सपनाको भरिलो कोलाज भनेकै जीवन हो ।

भोगाइको क्यानभासमा तापेका अनुभूति हुलुक्क आउँछ स्मृतिबाट ।

Dabur Nepal
NIC Asia

जहाँ सम्भावनाका सयपत्रीहरू मानव सञ्चेतनालाई सुवासिलो बनाउन मनमोहक किसिमले फुलिरहेको हुन्छ नि, त्यहाँ जीवनलाई घिसारिरहनु पर्दैन, ऊ आफैँ अनुभूतिमुनि नारिन आइपुग्छ ।

मातिनु मान्छेको रहर नहोला, तर नमातिने जीवन पनि भोग्दै छु अचेल, रसहीन हुने रहेछ, सारहीन हुने रहेछ । धमिराको दिउलजस्तै ।

कमिलाको आयु कति हुने गर्छ म यसै भन्न सक्तिनँ, तर ऊ जति बाँच्छ सारपूर्ण शिर उचालेर बाँच्छ ।

बरु, मर्न कबोल गर्छ, घिस्रेर हिँड्दैन । कति पो बाँच्नु छ र हो बारना गर्नु ?

कक्रिँदा कक्रिँदै कठ्यांग्रिनु पल, प्रतिपल
खुम्चिँदा खुम्चिँदै खजमजिनु रातदिन
विषादका तिता ऐँठन चपाएर
गाँठैगाँठाको रासमा उभिएर
साँध र आलीका किला ठोकेर मुटुमा
असमेल पर्खाइका तिर्खा बोकेर सुस्केरामा
असन्तुष्टिका गिर्खा बोकेर मानसिकतामा
आधासरो अलिना उत्कण्ठाहरू च्यापेर
प्याकप्याक परेर चर्किंदै गरेका गतिहरू
च्यापच्याप परेर पाछिँदै गएका खोक्रा नियतिहरू
प्राप्तिविहीन परिणामका कलबिख निनाद ओढेर
सकसपूर्ण उत्कण्ठामा डुबेर
हिँड्नु त धेरै गाह्रो हुँदो रहेछ ।

त्यागको नाउँमा देखाइने आडम्बर र सुसाइने अहंकारका मूच्र्छनाहरू दुवै घातक लागेपछि अनि म दिवास्वप्नबाट एक्कासि बिउँझिएर परपरसम्म आँखा तन्काउँदै हेर्न थाल्छु ।

अनि, देख्छु संसारमा जे जति भौतिक समृद्धिका चम्किला उपादानहरू छन्, तिनीहरूको अन्तर्यमा मताइको वेगवान् प्रवाह हुने र त्यसले आफ्ना उपादानलाई परिणाममुखी बनाउँदै आएका जादुगरी सोपानहरू ।

शाकाहारी हुने मान्छेले धेरै स्वादहरूलाई बलिदान त दिन सक्छ, तर प्राप्तिमा उसले अलिनु ऐँठन अनुहारमा पोती मानिसलाई कालको मुखबाट खोसेर ल्याउन सकेको नजिर स्थापित कतै गर्न सकेको त छैन । बरु, भङ्जाहा नै किन नहुन्, मात्ने मानिसहरूले आशाको टुकी सल्काएरै भए पनि संसारलाई परिणाममुखी बनाउन उल्लेख्य भूमिका खेलेका छन् ।

आउन जहाँजहाँबाट आए पनि मान्छे अन्तिममा अस्ताउने भनेको अर्थात् सबैको मिलनविन्दु भष्म भएर सिन्धुमा नै हुने हो ।

नसके पनि आकाश छुने गरी उड्ने रहर र बिन्दास पाराले उफ्रिँदै हिँड्ने उत्कण्ठा त सानो होस् या ठूलो, बलियो होस् या निर्धो, सबैमा हुने नै गर्छ ।

केही थान सपना सिरान हालेको भरमा निस्सार बाँच्नुको अभिशाप ओढेर सद्दे मानिस कहिले पनि खुम्चन चाहँदैन । नातागत भए पनि शरीरमा र निरुपाय भए पनि हालतमा, हत्केलामा सुस्केरा च्यापेर मानिस कहिले पछि फर्केर घिस्रन चाहँदैन । अगाडि बढ्ने लक्ष्य बेत बस्तै गए पनि पाइताला भने उसका सधैँ अगाडि नै बढ्ने गर्दछन् । अगाडि मुकाम हुने गर्दछ आड र भरोसाको । विश्वासको धरातल र सम्भावनाको क्षितिज पनि अगाडि नै हुने गर्दछ । एकमुठी खुसी चेपेर ओठमा प्रत्येक मानिस उज्यालो टिप्न लाग्छ पूर्वतिर फर्केर र त्यसको न्यानो राप तापेर अन्त्यतः बचेरा खोज्दै गुँडमा पुगेका पक्षीझैँ पश्चिममा पुगेर बास बस्छ ।

यस अर्थमा पनि म शब्दहरूमा सापेक्ष अर्थका कन्कर्नाहरू खोजेर हिँड्दिनँ । अर्थगत तहकिकात र त्यसका आलाकाँचा प्रवञ्चित परिभाषाहरू गन्तव्यमा भङ्जाहा पाराले भाँजी हालेर अलख जगाउन थाल्ने हुनाले पनि त्यसका सिकसिकोबाट अमलेख हुन सिधै जीवनलाई पयट लगाउन थाल्छु ।

उकेरा नलाग्ने वस्तु अथवा पदार्थ संसारमा केही देख्न सकिएको छैन ।

सत्य जीवन हो र अनुभूति लिन हो भने यी दुवै नजिरहरूको जुवामुनि नारिएर हिँड्नु अस्वाभाविक होओइन । गति छ नि त जीवनमा ।

आनन्द सापट लिएर समयका अन्तराहरूमा उल्लास चेपेर झनझनाउन सकिएन भने पनि भोगेको समयले विषादको ठुङ मारेर निर्दोष पुर्पुरोलाई अचानो कसैले पनि बनाउन खोज्दैन ।

अपाहिज हुन पुगे पनि, अशक्तै भए पनि लाछी हुन कोही चाहँदैन ।

दुई दिनको त जिन्दगी नै छ । भुक्तभोगीहरू यसलाई दुई दिनको रामछाया पनि भनेर भन्ने गर्छन् । त्यसैले म शब्दको सापेक्ष अर्थ पछि नलागी अनुभूति उलारका परकम्पहरूभित्र छिरेर छङछङाउन खोज्छु ।

अनि, मैले यहाँ दोहोर्‍याएर भन्नैपर्ने हुन्छ ‘जीवन रसमय छ नि त, हैन र ?’

‘यसलाई बिरसिलो बनाउँदै ऐँठनका गिर्खाले मन किन दराल्नु ?’

अनि, आफ्नै अन्तर्यलाई कोट्ट्याउँदै सोध्छु, ‘नशा केमा छैन र ?’

मैले गर्दै आएको अक्षर साधना पनि नशाकै अघोरी उपासना हो । वैयक्तिक तुष्टिका निम्ति गरेको अनुष्ठानको जग नै संवेदनाहीन नालीबेलीको नशामय नारकीय गन्तव्य देख्न थाल्छु, आफूले पुरुषार्थी ठानेको उपलब्धिमा ।

जसको सन्निपाती दारुण निचोर्‍याइको बर्बर अभिघात खेपेर निर्दोष लालाबालाहरू आफ्नो मुख मोसेर वर्षौँवर्षदेखि भर्ताल तिर्दै आइरहेका छन् ।

अन्नपात हाल्ने बाकसमा किताब हाल्दै जान थालेपछि भोकले लोटाएर विक्षिप्त पार्दै लगेका दारुण रातहरू मेरो अगाडि यमदूतजस्तै बनेर ठिंग उभिन आइपुग्छन् ।

र, भोकले निचरिँदै जान थालेको निर्दोष अनुहार लगाएर बचेराहरू अगाडि च्याँच्याँ गर्न थाल्दाको दृश्य वरिपरि पोतिन आइपुगेपछि म झसंग हुँदै काम्न थाल्छु र कन्पारामा दुवै हात राखेर विषादका लामो सुस्केरा काढ्दै भन्छु, ‘अहो, कस्तो पातकी नाकाम गरिएछ हँ जीवनमा ! मात्र आफ्नो एकलकाँटे खुसीका निमित्त निरुपाय लालाबालाको आँत काटेर, रहर किचेर, खुसी उखलेर, भविष्य दर्फर्‍याएर कसरी उग्राउन सकेँ हुँला ?’

पश्चात्तापबोधले निचर्दै लगेपछि मानसिकता भाउन्न भएर आउँछ । अनि, बुझ्न थाल्छु बेलाबेला कटाक्ष हेराइमा प्रतिशोधको लाभा उरालेर झम्टिन खोजेको श्रीमतीको आक्रोशित अभिव्यञ्जना । बेलाबेला नयाँ किताब समेत रछ्यानमा फालिएको तात्कालिक कारण र त्यसको अन्तर्यमा रहेको लाक्षणिक विद्रोहका सबै जिलीगाँठाहरूको सापेक्षिक अर्थ पनि बुझेँ । र, बुझेँ आमन्त्रित अतिथि आउँदा आफूले अमिला डकार काढेर ढाडिँदै गरेको र रित्तो कराहीको चिल्लो चाटेर विनासंवाद रात कटाउँदै आएकी उनको आँत मर्दै आएको अतृप्त मनोभाव ।

अनि, उनको कटाक्षपूर्ण हेराइले अमूर्त भाकामा भन्न खोजिरहेझैँ लाग्छ, ‘मानप्रतिष्ठा तिम्रो बढे पनि, साथी–संगति तिम्रो बढे पनि आँत मेरो डढेको छ । प्राप्ति र खुसी तिम्रो बढे पनि पेट मेरो खुम्चिएको छ, आन्द्रा मेरा बटारिएका छन्, रहर मेरो भाँचिएको छ, उत्कण्ठा मेरो उध्रिएको छ । जिउँदो लोग्नेको साक्षी भएर मरेका अनुभूति सोहोर्दै विगत लामो समयदेखि घिस्रिरहेकोछु म । यी दारुण अन्तव्र्यथाभित्र पिल्सिँदै रहँदा कुनै दिन तिमीले मेरा इच्छा, चाहना र खुसीको बारेमा एक शब्द कतै खोजे/सोधेका छौ ?’

अनि, आफैँसँग भन्न मन लाग्छ– अरूका सपना भत्काएर उग्राउनु अघोरी नशाभन्दा कुनै अर्थमा सानो अपराध होइन । मद्यपान गरेर मात्नेहरूले त केही क्षण, केही समय मातेर कसैको मनोभावनालाई सुम्सुम्याउन खोज्दछन् । तर, जसले मद्यपान नगरेर पनि परिवारलाई पाशविक किसिमले पिल्याउँदै हिँड्छ, त्योजति घृणित दुष्कर्म संसारमा अर्को कुनै होओइन । त्यसले त परिवारको पूरा जीवन नै नारकीय बनाउने रहेछ ।

श्रीमतीले स्वीकार्दै आएका आदेशहरू पारिवारिक मिलनका उपोद्यात नभएर बार्बरिक अभयदानको बलिदानी अनुष्ठान पो रहेछ, जसमा चढेर म मच्चिइरहेँ र उनी जतिसुकै निचरिए, ङ्याकिए पनि चुँ, चपाट नगरी हाँसिइरहिन् ।

यस्तो निर्घृणी प्रवृत्ति उपोद्यात गर्दै धुन्धकारी बन्न पुगेको यथार्थ सम्झँदा पनि आत्मग्लानिले लल्याकलुलुक हुन पुग्छ मन र म त्यसैको तापमा पिल्सिएर छट्पटाउन थाल्छु ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro