काठमाडौं । ‘मौलशोभा राई आमा सम्मान, २०८१’ कवि दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ)लाई प्रदान गरिएको छ । सम्मानका साथ नगद राशि ५० हजार एक रुपैयाँसमेत प्रदान गरिएको छ ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति अग्रज कवि बैरागी काइँला र प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सम्मान प्रदान गरे ।
प्रमुख अतिथि कविवर काइँलाले यो पुरस्कार आफैँमा फरक किसिमको भएको बताउँदै सर्जकलाई जन्मदिने आमालाई सम्मानित गर्ने कामको थालनी गरेर डा. पुरण राईले उत्तर आधुनिक काम गरेको उल्लेख गरे ।
कवि काइँलाले भने, "ओझेलमा परेका आमाहरूको सम्मान गरिनु विशेष सह्रानीय काम हो । यस नवीन धारणाका लागि डा. राईलाई जतिनै धन्यवाद दिए पनि कम हुन्छ ।’
विशिष्ट अतिथि तथा कवि दीपा राई पुनकी साथी उपसभामुख इन्दिरा रानाले आमा विमला राईको माया आफूले पनि पाएको उल्लेख गर्दै पुराना स्मृति स्मरण गरिन् । उनले आमाको सम्मानमा यस किसिमको पुरस्कारको स्थापना गरेकोमा डा. राईको प्रशंसा गरिन् ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले यो एक सर्जकको आमाको कोखको सम्मान भएको उल्लेख गरे । कवि दीपा राई पुनले आमाकै कारण आज आफू यो स्थानमा पुगेको बताइन् ।
पुरस्कारका संस्थापक डा. राईले केही फरक काम गर्ने सोचका साथ आफ्नी आमा मौलशोभा राईको नाममा यो पुरस्कार स्थापना गरेको बताए ।
कार्यक्रममा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले, विजया सुब्बा, नारायणप्रसाद शर्माले पनि बोलेका थिए ।