काठमाडौं । चालिसको दशकको मध्यमा एउटा पपगीत निस्कियो, ‘माया देऊ, माया गर...’ । गीतको भिडियो नेपाल टेलिभिजनको स्टुडियोमा छायांकन गरियो । नेपाल टेलिभिजनबाट गीत जसै बज्न थाल्यो, हिट भयो । गीत मात्र होइन, भीम तुलाधर पनि हिट भए ।
हिट मात्र भएनन्, उनी युवापुस्ताको आइडल भए । काठमाडौंका धेरै युवा लामो कपाल र डिंगो बुट लगाएर हिँड्न थाले । कारण, गीतको भिडियोमा भीमले लामो कपाल, गोलो चस्मा र डिंगो जुत्ता लगाएका थिए । त्यसको सिको गर्दै सहरका युवाले लामो कपाल पाल्न थाले । डिंगो बुट लगाए ।
समय साँगुरो सोचको थियो । कपाल पालेर र डिंगो जुत्ता लगाएर हिँडेको प्रहरीलाई चित्त बुझेन । समाउँदै कपाल र डिंगोको टुप्पो काट्दिन थाल्यो ।
सबै प्रहरीले भीमलाई चिन्छन् भन्ने थिएन, एउटा जुक्ति निकाले । प्रहरी कार्यालय गएर डीएसपीलाई भने, “म कलाकार हुँ, कन्सर्ट गर्दा छोटो कपालले सुहाउँदैन । त्यसैले मलाई कपाल नकाटिदिने व्यवस्था गरिदिनुपर्यो ।”
नाम चलेका गायक, धेरैका आइडल । प्रहरीले उनको प्रस्ताव मान्यो । भीम तुलाधर गायक भएकाले उनको ‘कपाल नकाटिदिनू’ भन्दै एउटा लेटर लेखेर दिइयो । “मलाई कपाल पाल्न पुलिसले दिएको लाइसेन्स भने पनि हुन्छ त्यसलाई,” उनी भन्छन्, “मैले त्यो बोकेर हिँड्न थालेँ ।”
भीमको लोकप्रियताको पारो कति माथि थियो भन्ने यो घटनाले प्रस्ट्याउँछ ।
अलिकति अगाडि फर्कौँ, २०४१ साल । अमृत साइन्स क्याम्समा पढ्थे भीम । कलेजमा वेलकम प्रोग्राम हुने भयो । गीत गाउने कुरा चल्यो । गीतसंगीतमा रुचि भएका भीमले पनि गाउने निर्णय गरे ।
वेस्टर्न गीतमा उनको दिलचस्पी थियो । इंग्लिस गीत खुब सुन्थे । ‘सेक्सी गर्ल’ गाउने भए । तर, गीतको शब्द भल्गर भयो भन्ने कुरा आयो । उनले सेक्सीको ठाउँमा ‘प्रिटी’ शब्द प्रयोग गर्ने वचन दिए । रिहर्सल गरे ।
तर, गीत गाउँदागाउँदै अन्तिमतिर पुगेपछि सेक्सी शब्द अचानक प्रयोग भयो । कार्यक्रमको माहोल बिग्रियो । उनले जुन समूहबाट गीत गाएका थिए, त्यसको अपोजिटको पार्टीले विरोध गर्दा वातावरण नै तनावपूर्ण भयो ।
स्टेजमा गीत गाए । त्यसको आकर्षणले उनलाई लोभ्यायो । विस्तारै संगीतप्रेमी साथीहरू भीमसँग जोडिन थाले । ब्यान्ड फर्म गर्ने भए । नाम के राख्ने – विचारविमर्श गरे । आफन्त र साथीभाइसँग सुझाव लिए । सबैको रुचि वेस्टर्न गीतमा थियो । त्यसैले ब्यान्डको नाम राखे, इन्फ्लुएन्स ।
पहिलो गीत रेकर्ड गरे, ‘भनिदेऊ मायालु...’
नेपालमा पपगीत भर्खरभर्खर रेकर्ड हुन थालेको थियो । आधुनिक गीतको दबदबा थियो । सुगम संगीतको स्वर्णयुग चलिरहेका बेला पपगीतले टाउको उठाउन खोजिरहेको थियो । नयाँ जोस र जाँगर थियो । उमेर आलोकाँचो थियो । नारायणगोपाललगायत कलाकारका सुमधुर गीत गुन्जिरहेका बेला भीम र उनका साथीहरू लामो कपाल र डिंगो बुट लगाएर पपरकलाई युवामाझ पुर्याउने तरखर गरिरहेका थिए ।
“म्युजिक नेपालको एउटा कोठामा नारायणगोपाल आफ्नो सांगीतिक कार्यक्रमका लागि प्राक्टिस गरिरहनुभएको थियो, अर्को कोठामा हामी गन्जी लगाएर रेकर्ड गराइरहेका थियौँ,” भीम भन्छन्, “हामी कतिसम्म जोसमा थियौँ भने एकैदिन आठवटा गीत रेकर्ड गरायौँ ।”
पहिलो एल्बम ‘मायालु’का आठ गीत उनले एकैदिन रेकर्ड गराएका थिए ।
नेपाली पपगीतको विधामा भीम तुलाधार लोकप्रिय नाम हो । नेपाली पपगीत भर्खरभर्खर नेपालमा प्रवेश गरेका बेला यसको जग बसाउने पुस्तामा उनको नाम पनि अगाडि आउँछ ।
जग मात्र बसाएनन्, यो विधालाई तत्कालीन समयमा युवापुस्तामा लोकप्रिय बनाउन योगदान पनि दिए । काठमाडौंमा पपगीतका भव्य कन्सर्ट हुन्थे । ती कन्सर्टको केन्द्रमा हुन्थे, भीम ।
भीमको क्रेज कति थियो – कन्सर्टमा उपस्थित बाक्लो भीडले पुष्टि गर्थ्यो । उनका फ्यान यति थिए, उनलाई भीडबाट जोगाउन सुरक्षागार्ड नै चाहिन्थ्यो । सुरक्षागार्ड अघिपछि लगाएर उनी हिँड्दा स्टेजका अन्य कलाकार छायामा पर्थे । भलै, उनी सुरक्षागार्डभन्दा पनि साथी भन्न रुचाउँछन् ।