site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेलले बाकु सम्मेलनमा यी मुद्दामा गराउँदै छन् विश्वको ध्यानाकर्षण 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन अजरबैजानको बाकु प्रस्थान गर्दै छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार एयरवेजको विमानमार्फत आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेलले कोप–२९ बाकु सम्मेलनमा पृथ्वी जोगाउन हिमालको रक्षा गर्नुपर्ने सवाल उठाउने तयारी गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

“बढी कार्बन उत्सर्जन गर्ने देशहरूले छिटोभन्दा छिटो जलवायु वित्त कोषमा प्रतिबद्धताअनुरूपको रकम हाल्नुपर्छ भनेर विश्वको ध्यानाकर्षण गराउँदै हुनुहुन्छ,” पोखरेलले बाह्रखरीसँग भने, “प्रतिबद्धता गरिएको रकम कम भएकाले त्यसलाई बढाउनुपर्छ भन्ने विषय पनि उठाउने तयारी छ ।”

राष्ट्रपति पौडेलले विकासशील देशको जोखिम कम गर्दै लगानी बढाउन पनि ध्यानाकर्षणको तयारी गरेका उनले जानकारी दिए ।

राष्ट्रपति पौडेलले यही कातिक २७ गते उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तयारी गरेको छ । सत्रमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’लाई मुद्दा बनाइएको छ ।

जलवायु पवरिवर्तनको असरबाट सबैभन्दा धेरै प्रभावित देशमध्येमा नेपाल पनि एक हो । कार्बन उत्सर्जन गर्ने राष्ट्रबाट अधिकतम क्षतिपूर्ति पाउने व्यवस्थाका निम्ति नेपाल अन्तर्राष्ट्रिय मञ्चमा दबाब बढाउनुपर्ने भूमिकामा छ । यसका लागि नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण निम्तिएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउने तयारी गरेको छ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्मको राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ ।

जलवायु परिवर्तनसम्बन्धी बाकु सम्मेलन सोमबार (भोलि)देखि सुरु भई आउँदो मंसिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro