site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

कोसीका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई जापान भ्रमणको रहर निकै महँगो हुने देखियो । उनलाई जापानभित्र पस्नै नदिएर साथमा गएमा केही संदिग्ध व्यक्तिहरूसहित फर्काइयो । घटना सार्वजनिक हुनेबित्तिकै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो ।

उनीसँगै गएका कागज मिलाएर जापान जानेहरूलाई प्रहरीले नेपाल फर्कनेबित्तिकै पक्राउ गरी कारबाही सुरु गरेको छ । यस काण्डमा नाइके मानिएका अधिकारी भने अहिलेसम्म पक्राउ परेका छैनन् । यसबाट सत्ताको नेतृत्व गर्ने नेकपा (एमाले)का नेता भएकै कारण अधिकारीलाई कारबाहीबाट उन्मुक्ति दिन खोजिएको त होइन भन्ने सन्देह उब्जेको छ ।

मानव तस्करीको आरोप लागिसकेको व्यक्तिलाई जो सुकै भए पनि सामान्य नागरिक सरह पक्राउ गरी कानुनबमोजिम कारबाही  चलाउनुपर्छ । नेपालको संविधान र कानुनले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन । यसैले सरकारले पनि असमान व्यवहार गर्न मिल्दैन ।   

सार्वजनिक पदमा बस्नेहरूले गरेको अपराधमा झन् गहिरो अनुसन्धान र  विशेष कारबाही हुनुपर्छ ।  अनिमात्र देशमा विधिको शासन रहेको दाबी गर्न मिल्छ । यस प्रकरणमा आफ्नै दलका नेतालाई समेत कारबाही गराएर एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले विधिको शासनप्रतिको प्रतिबद्धता प्रदर्शन गर्ने अवसर पनि पाएका छन् । 

त्यसो त अधिकारीलाई मन्त्री पदबाट राजीनामा गराउनु पनि कारबाहीकै एउटा चरण हो । अधिकारीलाई आरोप लागेपछि बचाउनका लागि एमालेका कुनै नेता अगाडि सरेको नदेखिनु अर्को सकारात्मक पक्ष हो । अब उनलाई कोसी प्रदेश सभाको जिम्मेवारीबाट पनि निलम्वन गरिनु उचित हुनेछ । *यसैबीच एमालेको कोसी प्रदेश कमिटीले आरोपको अन्तिम निरूपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा नरहने गरी निलम्वन गरेर सराहनीय अग्रसरता देखाएको छ । 

उपसभामुख इन्दिरा रानामाथि पनि अधिकारीमाथिजस्तै आरोप लागेको थियो । उनले पनि संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई अमेरिकाका लागि भिसा दिलाउन  आफैँले हस्ताक्षर गरेर पत्र पठाएकी पुष्टि भएको हो । कदाचित् भिसा पाएका भए उनीहरू पनि रानासँगै अमेरिका पुग्न सक्थे । 

रानामाथि भने कारबाही हुनु त परै रहोस् अनुसन्धानसमेत भएन । सत्ता स्वार्थमा गुपचुप पारियो । उनको पार्टीका नेता बचाउमा उत्रिए । प्रमुख विपक्षी नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले त रानामाथिको कारबाहीको मागलाई ‘षड्यन्त्र’को संज्ञा दिएका थिए । 

यस्तो अवस्थामा अधिकारीमाथि गरिने कारबाहीले रानामाथि पनि  कारबाहीका लागि नैतिक दबाब पर्न सक्छ । यसैले अहिले अधिकारीमाथि  बिनाहिचकिचाहट कानुनबमोजिम कारबाही चलाएर नेतामाथि ठगीमा मुद्दा चल्दा सडकमा जुलुस निकाल्नेहरूलगायत सबैलाई नैतिकताको पाठ पढाउन सरकार अग्रसर  होस् ।     

* थप गरिएको

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro