site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कारागारबाट दुईपटक भागेका यादव छठ मनाउने क्रममा पक्राउ

काठमाडौं । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुईपटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् ।

सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गएराति नेपाल–भारत सीमाको कोसी गाउँपालिका–८, पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोसी गाउँपालिका–८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फरार प्रतिवादी रहेका विनायकलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउन्ड गोली समेत फायर गर्नुपरेको जनाएको छ । प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली फायर गर्नुपरेको बताए । भाग्न खोज्ने व्यक्ति आत्तिएर लडे पनि उनलाई गोली भने नलागेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।

घटना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रहरीले पक्राउ परेकाको हकमा कानुन बमोजिमको कारबाहीको प्रकृया अघि बढाइएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका विनायककुमार यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए । अदालतको फैसला बमोजिम २० वर्ष आठ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ कात्तिक २३ गते सुरूङ खनेर भागेका थिए । सो बखत उनीसँगै बंगलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए ।

झुम्का कारागारबाट भागेका विनायकलाई केही समयपछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । यद्यपि, कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी त्यहाँबाट समेत भूकम्प गएको मौका छोपी २०७२ वैशाख १२ गते भागेका थिए । प्रहरीका अनुसार झुम्का कारागारबाट सुरूङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी सातजना मात्रै पक्राउ परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro