site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
...अनि कुलमान घिसिङ हटाउने निर्णयबाट पछि हट्यो सरकार !

काठमाडौं । पुष्पकमल दाहाल सरकार ढलेसँगै असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए । नियुक्त भएसँगै ओलीले नेपाल विद्युत् प्राधिकरण लाइन तत्काल लाइन जोड्न ‘हुकुमी’ शैलीमा निर्देशन दिए । 

ओली सरकार गठन हुनभन्दाअघि प्राधिकरणले बक्यौता नतिरेको भन्दै ठूला ६ वटा उद्योगको लाइन काटेको थियो । सरकारमा गएलगत्तै उद्योगीले भेटी बिफ्रिङ गरेपछि ओलीले लाइन जोड्न ठाडो निर्देशन दिए ।

अघिल्लो सरकारको साथ पाएपछि लाइन काटेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हालका प्रधानमन्त्री ओलीको ठाडो निर्देशन कार्यान्वयन गर्ने पक्षमा थिएनन् । बक्यौता नतिरेको लाइन जोड्न एक किस्ता तिर्नुपर्ने वा सरकारबाट लिखित निर्देशन आउनुपर्ने उनको अडान थियो । 

Dabur Nepal
NIC Asia

अर्थात् उनी कानुन मिच्ने पक्षमा थिएनन् । ओली सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालेका दीपक खड्का पनि ओलीकै शैलीमा प्राधिकरण सञ्चालक समितिमा प्रस्तुत हुँदै छन् ।

सञ्चालक समितिको हैसियतले लाइन जोड्ने निर्णय गराउन दबाब दिएका खड्का त्यसमा सफल भएनन् । सञ्चालक समितिमा आफूलाई साथ नदिने कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेका थिए । आफूलाई हटाएको भन्दै अदालत गएका उनीहरूलाई सर्वोच्चले नहटाउन आदेश दिएको थियो ।
 
ओली सरकारसँगै एकाएक कुलमान भर्सेस सरकार भएको अवस्थामा विद्युत् नियमन आयोगले पत्र पठाउँदै तीन महिनाको भाकामा बक्यौता तिर्ने वातावरण बनाउने भन्दै लाइन जोड्न निर्देशन दियो । सँगै तीन महिना यो प्रकरण सेलायो । काटिएका उद्योगहरूमा साउन ८ गते लाइन जोडियो र कात्तिक ८ गतेसम्म प्राधिकरण र सरकार दुवै सेलाए । 

त्यसबीचमा सार्वजनिक लेखा समितिमा डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता विवाद चर्कियो । एमाले सांसद रहेका लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बक्यौता उठाउनेभन्दा पनि कुलमान घिसिङलाई कारबाही गर्न खोजे । 

पोखरेलको प्रस्तावमा सत्ता सहयात्री नेपाली कांग्रेस तथा विपक्षी माओवादी (केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका सांसदले विरोध गरेपछि अर्को बैठक बस्ने निर्णय ग¥यो । त्यही प्रकरणका पछि भदौ ९ गतेयता समितिको बैठक बस्न सकेको छैन । लेखा समिति सभापति पोखरेल स्वयं सहकारी घोटालामा नाम मुछिएका छन् ।

तीन महिनामा बित्दा पनि बक्यौता उठाउन सरकार र प्राधिकरणले कुनै पहल गरेनन् । असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले कात्तिक ८ गतेभित्र बक्यौता नबुझाए लाइन काट्ने चेतावनी दियो ।

बक्यौता तिर्न बाँकी कुनै पनि उद्योगी चुक्ता गर्नेतिर गएनन् । ८ गतेसम्म बक्यौता बाँकी राखेको उद्योगहरू प्राधिकरणले राति लाइन काट्न सुरु ग¥यो । लाइन काट्नुअघि प्राधिकरणको सञ्चालक समितिको बैठकमा ऊर्जा मन्त्री खड्काले लाइन नकाट्ने अडान लिएका थिए । 

लेखा समितिमा छलफल रहेको र लाइन काट्न नहुने खड्काको अडान हुँदा सञ्चालक समितिले माइन्युट गर्न सकेन । तर त्यही रात प्राधिकरणले ३४ वटा उद्योगको लाइन काट्यो । लाइन काटेपछि पुनः सरकार भर्सेस कुलमान देखियो । प्रधानमन्त्री ओली ऊर्जामन्त्री खड्का सबै लाइन नकाटी विकल्प खोज्नुपर्नेमा थिए । 

३४ वटा उद्योगको लाइन काटेपछि कुलमानलाई जसरी पनि हटाउँछ भन्नेमा व्यापारीहरू थिए । तर, जनतामाझ लोकप्रिय घिसिङलाई हटाउँदै व्यापारीको पछि लागेको खराब सन्देश प्रवाहित हुने भएपछि सरकार डराएको छ । 

घिसिङमाथि तत्काल कारबाही गरे त्यसले सरकारप्रति ‘ब्याक फायर’ हुन सक्ने देखेपछि सरकार पछि हटेको जानकारहरू बताउँछन् । मन्त्रिपरिषदले कुनै निर्णय नगरेपछि विद्युत् नियमन आयोगले कात्तिक १४ गते काटिएका लाइन किस्ता तिरे जोडिदिनु भनेर निर्देशन दिएको थियो । 

लाइन काटिएका उद्योगीहरू सरकारले घिसिङलाई हटाउने तयारीमा रहेको र नयाँ कार्यकारी निर्देशक आएपछि मात्रै बक्यौता तिर्ने भनी अन्यलाई समेत रोकेको स्रोत बताउँछ । 

मन्त्रिपरिषदको गत १३ गतेको बैठकले केही नबोलेपछि १४ वटा उद्योगले किस्ताबन्दीमा बक्यौता तिरेका छन् । “तिहारअघि १४ वटा उद्योगले बक्यौता तिरेका छन् । त्यसपछि बिदा भएका कारण नयाँ जानकारी लिन पाएको छैन” प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने ।

उद्योगीहरू बक्यौता बुझाउन थालेपछि घिसिङलाई हटाउँदा बदनाम हुन सक्ने देखेपछि सरकार निर्णयविहीन अवस्थामा छ ।

एक टेलिभिजन कार्यक्रममा ऊर्जा मन्त्री खड्काले घिसिङलाई कारबाही गर्न चाहे १० मिनेटको कुरा भएको बताएका थिए । “उहाँ राम्रोसँग काम गरिरहनु भएको छ । उहाँले राम्रोसँग काम नगरेको बखतमा वा सरकारलाई उहाँले गरेको काम ठीक नलागेमा हटाउन पनि सक्छ,” खड्काले भने “यसैपनि ७/८ महिना टाइम छ । त्यसो गरिराख्नु पनि परेन ।”

नेकपा माओवादी (केन्द्र) को सरकारले २०७८ साउन २६ गते घिसिङलाई दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षका लागि नियुक्त भएका घिसिङको कार्यकाल अब ९ महिना बाँकी छ । 

मन्त्रिपरिषद्को कात्तिक १३ गतेको बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल आयोगले डेडिकेटेड तथा ट्रंक लाइन विवादसम्बन्धमा तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । 

ऊर्जा मन्त्रालयले माग गरेको १५ बुँदे विवरण प्राधिकरणले बुझायो 

घिसिङमाथि दबाब बढाउन ऊर्जा मन्त्री दीपक खड्काले दसैँअघि १५ बुँदे विवरण माग गरे । कार्यकारीको अधिकार प्रत्यायोजनदेखि स्टोर शाखामा कार्यरत कर्मचारीको विवरण मागिएको थियो ।

प्राधिकरणका सहायक कम्पनीहरूमा रहेको प्राधिकरणको सेयर संरचना एवम् ती कम्पनी सञ्चालक समितिका पदाधिकारीहरूलगायतका १५ वटा विवरण मागेको थियो । उक्त विवरण प्राधिकरणले मन्त्रालयसमक्ष पेस गरेको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले तिहारअघि नै मन्त्रालयमा विवरण आइपुगेको जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro