site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१६ दिनमा २७ सयजना अनलाइनबाटै ट्राफिक प्रहरीको कारबाहीमा, साढे १५ लाख राजस्व
फाइल तस्बिर ।

काठमाडौं । ट्राफिक प्रहरीले डिजिटल लाइसेन्सलाई मान्यता दिएसँगै अनलाइनमार्फत करिब दुई हजार ७०० जनालाई कारबाही गरेको छ । यही कात्तिक ४ गतेदेखि ट्राफिक प्रहरीले नागरिक एपमा रहेको डिजिटल लाइसेन्स जाँच एवं अनलाइनबाटै कारबाही गर्ने व्यवस्था लागु भएको थियो । 

कात्तिक २० गते बिहान ६ बजेसम्म दुई हजार ७०२ जनालाई अनलाइन अथवा ई–चलानबाट कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले उनीहरूलाई अनलाइनबाट तत्काल जरिवाना तिर्नसक्ने गरी कारबाही गरिएको बताएका हुन् ।

कारबाहीमा परेका यी व्यक्तिबाट १५ लाख ५२ हजार २२१ रुपैयाँ राजस्व उठ्ने भएको छ । हालसम्म ९८ जनाबाट पाँच हजार १५० रुपैयाँ राजस्व संकलन भएको छ । कारबाहीमा परेका अन्य व्यक्तिबाट राजस्व उठ्न बाँकी छ ।

एकपटक कारबाहीमा परेका व्यक्ति दोस्रोपटक पनि कारबाहीमा पर्दा राजस्व तिरेको हुनुपर्ने प्रहरीले जनाएको छ । एकपटकको जरिवाना तिरिएको अवस्थामा मात्रै दोस्रोपटकको जरिवाना तिर्नमिल्छ ।

वाग्मती प्रदेश सरकारसँग मिलेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यका लगायतका ठाउँमा हाल १०४ वटा स्मार्टफोनबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जाँच गरिरहेको छ । ट्राफिक प्रहरी प्रवक्ता चर्तुवेदीले सरकारले थप स्मार्टफोन उपलब्ध गराउने तयारी गरिरहेको बताए ।

डिजिटल लाइसेन्सको चेकजाँच र अनलाइनबाट कारबाही गर्ने प्रक्रिया सजिलो भए पनि थोरै सेवाग्राहीले मात्रै नागरिक एप प्रयोग गरेको पाइएको उनले बताए ।

“काठमाडौं उपत्यकामा दैनिक १५ लाख सवारी गुड्छन् । नागरिक एपमा लाइसेन्स देखाउने सेवाग्राही थोरै छन्,” उनले भने, “सार्वजनिक र निजी सवारीचालक सबैले नागरिक एप प्रयोग गरेमा उनीहरूलाई लाइसेन्स बोक्ने झन्झट हट्छ । नियम उल्लंघन गरेर कारबाहीमा परे पनि त्यतिबेलै जरिवाना तिरेर झन्झटमुक्त हुनसकिन्छ, सबैले यसको प्रयोग गर्न जरुरी छ ।”

सबै सेवाग्राहीले नागरिक एप प्रयोग गरेमा जाँचमा परेका बेला र जरिवाना तिर्नुपर्दा सजिलो हुने भएकाले एप प्रयोग गर्न आग्रह गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक चतुर्वेदीको भनाइ छ । सेवाग्राहीले इन्टरनेट नभएको अवस्थामा पनि नागरिक एपको लाइसेन्स देखाउन सक्छन् भने ट्राफिक प्रहरीले पनि इन्टरनेट नहुँदा समेत कारबाही गर्नसक्छन् ।

यातायात व्यवस्था विभागबाट मिल्ने स्मार्ट लाइसेन्स करिब २५ लाख सेवाग्राहीले पाउन सकेका छैनन् । त्यसको विकल्पमा सरकारले डिजिटल लाइसेन्सको अवधारणा अघि सारेको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro