site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार धुमधामसँग मनाइँदै छ । नेपाली संस्कृतिमा तिहारको पनि मौलिक विशेषता छ । यमपञ्चकमा काग, कुकुर, गोरु, गाई र भाइ पूजा गरेर तिहार मानिन्छ भने सँगै लक्ष्मीपूजा, दीपावली र ह्म पूजा पनि गरिन्छ । ह्मः (आत्म) पूजा विशेषतः नेवार संस्कृतिमा गरिन्छ ।

दसैंजत्तिकै व्यापक नभए पनि तिहार पनि नेपालभर नै मनाइन्छ । यद्यपि, कतै दीपावलीलाई महत्त्व दिइएको हुन्छ भने कतै भाइटीका र ह्मः पूजालाई । विभिन्न पशुपन्छीको पूजाले नेपालको तिहारलाई भारतका विभिन्न संस्कृतिको भन्दा फरक बनाइएको छ । लाग्छ, दसैंभन्दा पनि तिहारको बढी स्थानीयकरण भएको छ । नेपाल मूलतः प्रकृति पूजकहरूकै थलो भएको तिहारले पुष्टि गर्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसैगरी पछिल्ला दिनमा तिहारमा भारतीय प्रभाव पनि बढी नै देखिन थालेको छ । ‘धनतेरस’मा सुनचाँदी खरिद गर्नेदेखि दीपावली र रङ्गोलीको चलन अपेक्षाकृत व्यापक र तडकभडकपूर्ण हुँदैगएको छ । सहरीकरणसँगै गाई र गोरुको पूजा गर्न चलन घट्दै गएको छ भने लक्ष्मीपूजा र दीपावलीको तडकभडक बढ्दै गएको देखिन्छ । सम्भवतः नेपाली समाजको सहरीकरणको प्रक्रियाको अध्ययन गर्नेहरूका लागि तिहार महत्त्वपूर्ण विषय हुनसक्छ । 

अर्को ठूलो पर्व छठ मनाएपछि चाडपर्वको याम सकिँदै जान्छ । यद्यपि, सांस्कृतिक तथा धार्मिक विविधताका साथै पारस्परिक सद्भाव बलियो भएको नेपाली समाजमा बाह्रै महिना कुनै न कुनै चाड परिरहेकै हुन्छ । अपेक्षाकृत रौसे प्रकृतिका नेपालीहरू दुःखसुख बिर्सेर रमाइरहेका हुन्छन् । पछिल्ला दशकहरूमा मधेसमा दसैं, तिहार र पहाडमा छठ मनाउने चलन बढ्दै गएको छ । सांस्कृतिक एकीकरण हुने यसरी नै त हो ।

बढ्दो सांस्कृतिक अनुकूलनबाट नेपाली समाजमा नौलो संस्कृतिको विकास हुने सम्भावना बढ्दै गएको छ । यसले नेपाली राष्ट्रियता बलियो बनाउन मद्दत गर्नेछ । शासन पद्धतिमा नेपाली समाजले प्रगतिशील लोकतान्त्रिक पद्धति अपनाएजस्तै सांस्कृतिक उदारता र विविधतालाई पनि व्यापकरूपमा आत्मसात गरिरहेको छ । पक्कै पनि यो गर्वको विषय हो । 

अनुकूलन र एकीकरणका क्रममा पनि आआफ्नो विशेषतासहित नेपाली समाजले सांस्कृतिक बहुलता कायम राख्न सक्नुपर्छ । विविधता र बहुलताको सम्मान गर्ने र सबैप्रति सद्भाव राख्ने गुण नेपालीको साझा सांस्कृतिक विशेषता हो । स्नेह, सद्भाव र उल्लासको परम्परा कायम राख्दै नेपाली समाज शान्ति, समृद्धि र उन्नतिका मार्गमा निरन्तर अगाडि बढोस् । तिहार र छठका अवसरमा हाम्रा पाठक, शुभेच्छुक, लेखक, विज्ञापनदाता, सहकर्मीलगायत सबैमा शुभकामना !   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro