site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
द्रुतमार्गको सुस्त काम, ‘खोकना–बुङ्मती’ मा मुख्य समस्या 

काठमाडौं । सकिएला त निर्धारित समयमै काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना ? बितेको ६ महिनामा प्रत्येक महिना औसतमा द्रुतमार्गमा ०.५३ प्रतिशतका दरले काम हुँदैछ ।

उसको कछुवा गति हेर्दा अबको साढे दुई वर्षभित्र सकिने कुनै छाँटकाँट छैन । आएको नेपाली सेनाले उपलब्ध गरेको तथ्याङ्क हेर्दा द्रुतमार्गको गर्न बाँकी कामको अंश ६३.५८ प्रतिशत छ ।  सेनाले यो काम २०८३ चैत मसान्तसम्म सक्नुपर्ने हुन्छ । किनकि पछिल्लो पटक सक्नुपर्ने म्याद २०८३ चैत मसान्तसम्मलाई थप गरिएको छ । यो मार्ग बनेपछि काठमाडौंबाट निजगढ १ घण्टा २ मिनेटमै पुगिनेछ ।

राष्ट्रिय गौरवप्राप्त सूचीभित्रको द्रुतमार्गको भौतिक प्रगति २०८० चैत मसान्तसम्म ३३.२० प्रतिशत थियो । त्यसयताको ६ महिना अर्थात् २०८१ वैशाखदेखि असोज मसान्तसम्मको अवधिमा द्रूतमार्गको भौतिक प्रगति ३६.४२ पुगेको छ । पछिल्लो ६ महिनामा द्रूतमार्गको भौतिक प्रगति मात्र ३.२२ प्रतिशत बढेको छ । 

Dabur Nepal
NIC Asia

उता नेपाली सेना र रक्षा मन्त्रालय भने काम निर्धारित समयमै सक्ने दाबी गर्न छाडेका छैनन् ।

काम निर्धारित समयमै (२०८३ चैत मसान्तसम्म) सम्पन्न हुन्छ भन्ने आधार के हो त ? नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बाह्रखरीसँग भने, “कामको प्रगति जुनस्तरमा भइरहेको छ मुख्य आधार यही नै हो ।” 

अब सेनासँग आयोजना सक्न ३० महिना समय छ । अहिलेकै गतिमा कार्य भए अबको तीस महिनामा १६.१ प्रतिशत काम मात्र हुने देखिन्छ । यसले २०८० चैत मसान्तसम्म ५२.५२ मात्र काम (भौतिक प्रगति) हुने देखाउँछ, ४७.४८ प्रतिशत काम बाँकी रहनेछ । 

निर्धारित समयभित्र सक्न ३० महिनामा प्रत्येक महिना औसतमा २.११ प्रतिशतभन्दा बढी काम गर्नुपर्ने देखिन्छ । तर जुन गतिमा द्रुतमार्गको काम भइरहेको उक्त प्रगतिको लक्ष्य प्राप्त गर्न कठिन मात्र होइन असम्भव जस्तै देखिन्छ ।

“मुख्य समस्या प्याकेज नं. ११ मा देखिएको छ । अन्त ठूला समस्या छैनन् । प्याकेज नं.११ को समस्या सुल्झाउने  र अहिलेका झैँ काम सहज रुपमा अघि बढ्ने हो भने काम समयमै सकिन्छ,” सैनिक प्रवक्ता केसीले भने “यसका लागि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र स्थानीय जनताको साथ चाहिन्छ ।” 

ललितपुरको खोकनादेखि काठमाडौं–मकवानपुर हुँदै बारा जिल्लाको निजगढसम्म चार लेनको सडक निर्माण गर्ने यसको मुख्य उद्देश्य हो । 

द्रुतमार्गले काठमाडौं र तराईबीचको यात्रा तथा ढुवानीलाई सहज बनाउने र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखिएको छ ।

२०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यो आयोजना चार वर्ष पूरा गर्नेगरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई प्रदान गरिएको थियो । २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दू्रतमार्ग निर्माण कार्यको शुभारम्भ गरेका थिए । 

आयोजना हस्तान्तरणपश्चात् एसियाली विकास बैंक (एडीबी)ले तयार पारेको ‘सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइन प्रतिवेदन’ लाई आधार मानेर सेनाले प्रारम्भिक चरणका काम अगाडि बढाएको थियो । 

नेपाली सेनाले द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न २०७५ असोज १६ गते कोरियाको सोसुङ इन्जिनियरिङ एण्ड कन्सल्टिङसँग सम्झौता गरेको थियो । उक्त फर्मले २०७५ माघमा अन्तिम प्रतिवेदन बुझाएको थियो । डीपीआर स्वीकृतिका लागि २०७५ चैत १४ गते मन्त्रिपरिषद्मा पेश गरिएको थियो भने २०७६ भदौ १ गते स्वीकृत भएको थियो । 

२०७४ असार ८ गतेको मन्त्रिपरिषद्को बैठकले आयोजना सञ्चालन कार्यविधि, २०७४ स्वीकृत गरेको थियो । उक्त कार्यविधि हालसम्म दुई पटक संशोधन भएको छ । 

सुरुको चार वर्षमा काम नसकिएपछि यसको म्याद २०८१ मंसिरसम्म थपिएको थियो । यो अवधिमा पनि काम नसकिने पक्का भएपछि म्याद सकिनु १८ महिना अगावै २०८० वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको थियो ।

नेपाली सेनाले काम सुरु गरेको साढे सात वर्ष बितेको छ । साढे सात वर्ष (९० महिना)को अवधिमा भौतिक प्रगति ३६.४२ प्रतिशत र वित्तीय प्रगति ३८.५५ प्रतिशत भएको छ । बितेको साढे सात वर्षमा भौतिक प्रगति प्रत्येक महिना औसतमा ०.४० प्रतिशतले भएको देखिन्छ । यही गतिमा काम भए अबको ३० महिनामा दू्रतमार्गको काम थप १२.१४ प्रतिशत हुनेछ भने ५१.४४ प्रतिशत काम बाँकी हुनेछ ।  

“एक ठाउँमाभन्दा अन्यत्र ठूला समस्या छैनन् । बाँकी सबै प्याकेज खरिद प्रक्रियामा गएका छन्, प्याकेज नं.११ को समस्या समाधान भए कामले गति लिन्छ,” सैनिक प्रवक्ता केसीले भने ।

के हो प्याकेज नंं.११ 
द्रुतमार्गको कुल लम्बाई ७०.९७७ किलोमिटर छ । यसमध्ये ४९.७७ किलोमिटर मकवानपुरमा, ७.६ किलोमिटर बारामा, ९ किलोमिटर ललितपुरमा र ४.६ किलोमिटर काठमाडौं जिल्लामा पर्छ । द्रुतमार्गको प्रस्थान विन्दु ललितपुरको खोकना हो भने अन्तिम विन्दु बाराको निजगढ । द्रुतमार्गको ६ स्थानमा सुरुङ मार्ग रहनेछन् जसको कुल लम्बाई १०.३०९ किलोमिटर छ । 

यहाँ ८९ वटा पुल रहने छन् जसको कुल लम्बाई १३.८८५ किलोमिटर हुनेछ । द्रुतमार्गमा तीन स्थानमा विश्रामस्थल रहनेछ । सडकको चौडाई पहाडी भू–भागमा ३५ मिटर र तराई भू–भागमा ३७ मिटर रहनेछ । इन्टरचेन्ज खोकना, बुदुने र निजगढ गरी तीन स्थानमा रहनेछ । 

नेपाली सेनाका अनुसार आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेज छन् । यीमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा छ । 

“प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया शुरु हुन बाँकी छ,” सैनिक प्रवक्ता केसीले भने ।

प्याकेज नं ११ अन्तर्गत ललितपुर खोकनामा ६.४ किलोमिटर सडकको रेखाङ्कन र जग्गा अधिग्रहणसम्बन्धी विवादका कारण उक्त क्षेत्रको डिजाइन तयार हुन सकेको छैन । प्याकेज नं. ११ को विवाद समयमै समाधान गर्न नसके द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्न गाह्रो हुने भनाई सैनिक प्रवक्ता केसीको छ । 

अहिलेसम्म के के भयो ? 
द्रुतमार्गमा रहेका ६ वटा सुरुङमध्ये १ हजार ६२३ मिटर लामो लेनडाँडा सुरुङको ‘ब्रेकथ्रु’ भएको छ । लेनडाँडामा रहेको दायाँ र बायाँ दुवै सुरुङको ब्रेक–थ्रु भएको हो । कुल १ हजार ६९१ मिटर लम्बाई रहेको धेद्रे सुरुङ अन्तर्गतको दाँया टनेलको ‘ब्रेक–थ्रु’ भइसकेको छ । यसको बायाँतर्फको टनेलको ९५ प्रतिशत खन्ने काम सकिएको छ ।

३ हजार ३५५ मिटर लम्बाई भएको महादेवटार सुरुङअन्तर्गत बायाँ टनेलको ६८ प्रतिशत र दायाँ टनेलको ५१ प्रतिशत खन्ने काम सकिएको छ । यस्तै एक हजार मिटर लामो देवीचौर सुरुङको खरिद सम्झौता सकिएको र डिजाइनको क्रममा छ । 

नेपाली सेनाका अनुसार, ३९० मिटर लामो सिसौटार सुरुङको पनि खरिद सम्झौता भएको र डिजाइनको क्रममा छ । यस्तै, २ हजार २५० मिटर लम्बाई रहेको चन्द्रामभीर सुरुङको पोर्टल प्रिपेरेसनको काम भइरहेको छ । 

आयोजनाअन्तर्गत ८९ पुलमध्ये ८५ स्थानका पुलहरू ठेक्का सम्झौता भएको छ । हालसम्म मकवानपुरको राजदमार इलाकामा ५ वटा पुलहरूको बनिसकेका छन् । अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलहरूको ‘फाउण्डेसन’ तथा ‘सव–स्ट्रकचर’ को कार्य भइरहेको छ । 

द्रुतमार्ग आयोजनाका लागि कुल अधिग्रहण गर्नुपर्ने १७ हजार ६५१ रोपनी जग्गामध्ये व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकामा ४ हजार ८११ रोपनी अधिग्रहण भइसकेको छ । ३९४ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी छ । 

अधिग्रहण गर्न बाँकी उक्त जग्गामध्ये खोकना–बुङ्गमती खण्डको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी र मुल्य निर्धारण हुन बाँकी १६५ रोपनी सहित करिव ३७१ रोपनी जग्गा छ । यस्तै, मकवानपुर १६ रोपनी र काठमाण्डौ ४ रोपनी जग्गा पनि अधिग्रहण गर्न बाँकी रहेका छन् ।

सेनाका अनुसार हालसम्म आयोजनामा पर्ने ३१ हजार ९५० वटा रुखहरू कटान भएका छन् । २०८० पुस १२ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम कटान स्वीकृति दिइएका विभिन्न प्रजातीका ४ हजार ३४५ रुखमध्ये हालसम्म ३ हजार ३३५ रुख काटिएका छन् । कटानको बदलामा हालसम्म जम्मा ७ लाख ५ हजार ५५२ विरुवा रोपिएको छ ।

द्रुतमार्गको कार्य कछुवा गतिमा हुँदा आयोजनाको लागत बढ्दै गएको छ । सुरुमा लागत अनुमान ९८ अर्ब रुपैयाँ थियो । त्यसपछि १ खर्ब १६ अर्ब रुपैयाँ हुँदै १ खर्ब ७५ अर्ब रुपैयाँ पुग्यो । डीपीआर संशोधन गरेपछि लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । 

साढे सात वर्षमा ७० अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले २२ अर्ब ५४ करोड ९३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ जसमध्ये पहिलो तीन महिनामा ३ अर्ब ४६ करोड ५१ लाख ४५ हजार ७४७ रुपैयाँ खर्च भइसकेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro