site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘छापा मार्ने’ अभियन्ता आशिका ! कानुन हातमा लिन पाइन्छ ? 

काठमाडौं । पछिल्लो समय फेसबुक, युट्युब र टिकटकजस्ता प्लेटफर्ममा होटल, पसल र सार्वजनिकस्थलमा ‘छापा मार्दै गरेकी’ देखिन्छन्, आशिका तामाङ ।

केही वर्ष पहिले दसैँको छेकोमा ‘जहान परिवार भएका खसी–खसिनी काटेर नखानुहोस्’ भन्ने भिडियोसँगै ‘भाइरल’ संसारमा छिरेकी थिइन्, आशिका । यतिखेर स्व–घोषित ‘सामाजिक अभियन्ता’का रुपमा छड्के छापा मार्दैछिन् ।
आफ्नै नामको ‘आशिका तामाङ फाउन्डेशन’ मार्फत केही अघिसम्म सरसफाई कार्यक्रम गरिरहेकी थिइन् । 

२०७६ को जेठमा उनले ‘हरियाली र सफा आशिका फाउन्डेशन’ नामको संस्था दर्ता गराइन् ।  यही संस्थामार्फत् उनी सरसफाइ र राहत वितरणको कार्यक्रम गर्ने गर्थिन् । पछिल्लो समय सरसफाइ छाडेर उनी ‘छड्के जाँच’मा उत्रिन थालेकी छन् । 

Dabur Nepal
NIC Asia

उनी ‘इन्सट्यान्ट जस्टिस’ दिलाउने ‘अभियन्ता’ बनेकी छन् । एकहुल ‘युट्युबर’ बोकेर उनी कहिले भक्तपुरको साँगा पुल पुग्छिन् त कहिले पसलमा छापा मार्छिन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङदेखि गोँगबुको नयाँ बसपार्कसम्मका पार्किङ शुल्क हटाउन पुगिन् ।

उनी त्यहाँ पुग्दा क्यामेरा अघि राखेर हिँड्ने गरेको पाइएको छ । उनले ती स्थानमा पुग्दा स्थानीयलाई दुर्व्यवहार गरेको आरोप पनि छ । यतिले नपुगेर उनी होटल, रेष्टुरेन्ट चहारेर खानाको मूल्यलाई लिएर तमासा गरिरहेकी छन् ।

राजमार्गका होटल, खुद्रा पसलमा पुगेर उनी खानाको गुणस्तर र मूल्य जाँच गरिरहेको भिडियो सामाजिक सजालमा भाइरल भइरहेको छ । त्यसपछि युट्युब, फेसबुक र टिकटकको भिडियो फिडमा आक्रामक हेडलाइनसहित तामाङका भिडियो पोष्ट भइरहेका छन् ।

लालीगुराँस डेली नामको युट्युब च्यानलले एउटा भिडियोमा लेखेको छ, “आशिका तामाङले प्लेनले भाडा बढी लियो भन्दै एयरपोर्टमा छड्के हान्न पुग्दा भागाभाग ।”

सपना अनलाइन टीभीले लेखेको छ, “आशिकाले होटलमा तहल्का पिटिन् ग्राहक आक्रोश–भय व्यवसायीले आशिकाको भण्डाफोर गरे खानाको रेट कम ।”

जिम्मेवार टेलिभिजन नामको युट्युब च्यानलमा राखिएको एउटा भिडियोको थम्बनेल छ, “बरु मर्छु तर दलालहरुलाई छाड्दिन छाति ठोक्दै नेतालाई दिइन् चेतावनी ।”

लाखौं भ्यूज हुने यस्ता भिडियोमा तामाङले पार्किङ, खाना, टिकटको मूल्य हकमा उनको क्रियालापलाई ‘ग्लोरीफाई’ गरेर देखाइएको हुन्छ । एक हुल युट्युबरसहित भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेको झोलुँगे पुलमा पुगेर तामाङले गरेको उपद्रोविरुद्ध त नगरपालिकाले प्रहरीमा उजुरी नै दियो ।

आन्तरिक पर्यटकीय उद्देश्यका लागि बनाइएको पुल वारपार गर्न २० रुपैयाँ शुल्क तिुर्नपर्छ । भाइरल संसारका लागि पुल तरेको पनि पैसा भनेपछि अरु के चाहियो ! तामाङ एक हुल युट्युबर बोकेर पुलमा पुगिन् । 

टिकट काट्न बसेकी महिला कर्मचारीलाई ‘बहिनी’ ‘तँ’ भन्दै उनको हातमा भएको टिकटको मुठो खोसिन् ।  टिकट काउन्टरमा टाँसिएका फ्ल्ेक्स, बोर्ड कैंचीले काटिन् । टिकट आगो लगाइन् । काउन्टरको तारबार पनि काटिन् । 

यी सबै गरिसकेपछि तामाङ आफ्नो कुम देखाउँदै गर्जिइन्, “६२–६३ को आन्दोलनमा खालै गएर ल्याएको गणतन्त्र यही गर्नलाई हो, पुल तरेको २० रुप्या तिर्नलाई हो ?”

यसपछि उनको साथमा रहेका युट्यबरले ‘हुटिङ’ गर्दै हौस्याए । ‘छड्के जाँच’का नाममा उनका उपद्रो व्यवहार भिडियोहरु युट्युबमा छ्यापछ्याप्ती छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दक्षिणकाली मन्दिर, गोँगबु बसपार्क, धादिङको मलेखु क्षेत्रका होटलका खानाविरुद्ध भिडियो छरपष्ट छन् ।

उनको फाउन्डेशनको नाममा रहेको ‘ग्रिन एन्ड क्लिन आशिका तामाङ फाउन्डेशन’ नामको फेसबुक पेज हेर्दा तामाङले सरसफाइ अभियान चलाउँदासम्म उनको यो सरसफाइ अभियानलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल आर्मीले पनि सघाएको देख्न सकिन्छ । 

नेकपा एसका नेता कृष्णकुमार श्रेष्ठले समेत उनको कामको प्रसंशा गरेको भिडियो फेसबुकमा देख्न सकिन्छ ।  सरसफाइ गर्दै समाजसेवामा छिरेकी आशिकामाथि यतिखेर अभद्र व्यवहारको आरोपमा छन् । भक्तपुरको साँगास्थित भोलुंगे पुलमा तोडफोड गरेपछि उनीविरुद्ध सूर्यविनायक नगरपालिकाले दिएको जाहेरीको जवाफमा उनले भनेकी थिइन्, “आशिका तामाङ एउटा व्यक्ति होइन क्या सोच हो ।”

‘भाइरल’ दुनियाको आयु निकै छोटो हुने भए पनि यसको असर भने दीर्घकालसम्म हुन्छ । यसअघि तामाङ जस्तै ‘हुलहुज्जत’को ‘भाइरल’ गतिविधि गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गर्‍यो । 

सामाजिक सद्भाव बिथोल्ने, चरित्र हत्या गर्ने कयौं युट्युबरलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

सार्वजनिकस्थल र र निजी सम्पत्तिमा उनी जुन शैलीमा ‘छापा, छड्के’ हान्छिन्, त्यसैगरी जसरी नै कुनै दिन कसैले तामाङमाथि हुलहुज्जत नगर्लान् भन्ने अवस्था नरहेको एक प्रहरी अधिकारी बताउँछन् ।

पूर्वडीआईजी हेमन्त मल्ल तामाङका गतिविधिले समाज अनुशासनहिनता र दण्डहिनतातर्फ गएको संकेत भएको बताउँछन् । 

“उहाँले जुन विषय उठाउने गर्नुहुन्छ तिनको समाधानका लागि सरकारी निकाय छन् । सरकारी निकायमा जानुपर्छ, यसरी क्यामेरा बोकेर आफैँ अनुसन्धानकर्मी आफैँ न्यायाधीश बन्नु भनेको अराजकता हो,” उनले भने ।

मल्ल चिन्ता व्यक्त गर्छन्, “उहाँ (आशिका तामाङ)कै शैलीमा भोलि कसैले उहाँलाई दुर्व्यवहार गर्‍यो, कुटपिट गर्‍यो भने अवस्था झन् खराब हुन्छ ।”

आशिकाले गरिरहेको कामबारे सरकारी निकायले पनि चासो दिनुपर्ने सुझाउँछन्, मल्ल । 

“उहाँले जुन जुन क्षेत्र वा विषयमाथि कुरा गर्नु भएको छ, ती विषयसँग सम्बन्धित निकायले आफैँ नोटिसमा लिएर उहाँलाई सचेत गराउनुपर्छ । यस्ता उदण्ड र अनुशासनहीन गतिविधि निर्वाध भयो भने भोलि नियन्त्रणभन्दा बाहिर जान्छ,” उनले भने ।

आशिका तामाङले राजमार्गको होटलमा खानाको गुणस्तर र मूल्य, पार्किङ शुल्क, पुल तरेको शुल्कलगायतका विषयमा गरेका ‘छड्के जाँच’ भाइरल भएका छन् । पूर्वडीआईजी मल्ल पनि यी क्षेत्रमा बेथिति हुनु र तिनको समाधान सरकारले नगर्दा ‘आशिका तामाङ’ जस्ता ‘भाइरल’ले यो विषय उठाएको बताउँछन् । 

“आम मान्छेलाई यस्ता समस्याले दुःख दिएको छ । यी विषयमा सरकारका निकायको रेसपोन्स राम्रो भएन, भए पनि निकै ढिला भयो,” मल्ल भन्छन्, “जसका कारण यस्ता उदण्ड गतिविधि हुन थाले ।”

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी दानबहादुर कार्की पनि नागरिकका समस्या उठाउनु जायज भए पनि आशिकाको शैली, व्यवहार भने कानुनविपरीत भएको बताउँछन् । 

उनी भन्छन्, “नागरिकका समस्या उजागर गर्न पाइन्छ, तर, समस्या उजागर गर्ने नाममा अराजक गतिविधि गर्न पाइँदैन । राम्रा कुरा पनि राम्रो तरिकाले भन्नुपर्छ । उहाँ (आशिका)ले त्यसो गरिरहनु भएको छैन ।”

प्रहरीले आशिकाका क्रियाकलापलाई ‘नोटिस’मा राखेको जानकारी कार्कीले दिए । “हामीले उहाँका गतिविधि नियालिरहेका छौं । अराजकता, उदन्डता फैलाउने दुर्व्यवहार गर्ने, तोडफोड गर्ने काम गैरकानुनी हुन्,” प्रवक्ता कार्कीले भने । 

दुई वर्षकै उमेरमा आमाले छाडेर गएपछि आफूले निकै दुःख गरेको बताउने आशिका स्टाफ नर्स हुन् । जर्मन नागरिकसँग विवाह गरेकी उनका दुई सन्तान पनि छन् । 

सन् २००१ मा जर्मन पुगेकी उनले जर्मनबाटै दिएको एक अन्तर्वार्तामा भनेकी थिइन्, “नेपाललाई नेपालजस्तै बनाउनुपर्छ ।”

आफूले कथित ‘छड्के जाँच’ ‘हरियाली र सफा आशिका फाउन्डेशन’ मार्फत् नगरेको बताउँछिन् आशिका । तर, उनले त्यसो भने पनि ‘छड्के जाँच’का भिडियोमा उनले आशिका फाउन्डेशनको कार्ड घाँटीमा भिरेको देखिन्छ ।
आफूले कानून हातमा लिन नखोजेको दाबी गर्छिन् आशिका । 

“हामीले कानुन हातमा लिन खोजेको होइन । समस्यामा परेका नागरिक, जहाँ बेथिति भएको छ त्यसको उजागर गर्ने नागरिकलाई न्याय दिने हो,” उनले भनिन् ।

‘न्याय दिन्का लागि त राज्यका निकाय छन्, राज्यका संरचना छन्, एउटा व्यक्तिले न्याय दिन मिल्छ त ?’ भन्ने बाह्रखरीको प्रश्नको जवाफमा उनले भनिन्, “समस्यामा परेका मान्छेले, हामीलाई फोन गरेर गुनासो गर्छन्, आउनुहोस् सहयोग गर्दिनुहोस् भन्छन् हामी त मान्छेलाई सहयोग गर्न गएका हौं ।”

आफू धेरै भावुक भएर सार्वजनिकस्थलमा तोडफोड र आगजनी गर्न पुगेको उनले स्वीकारिन् । 

तर दुर्व्यवहारका विषयमा भने उनले आफ्नो बोली नै ‘कडा’ ‘रुखो’ भएको बताउँदै भनिन्, “मेरो बोली नै यस्तो छ, त्यही भएर मान्छेहरु डराउँछन् ।”

मलेखु क्षेत्रका होटलमा उनले गरेको दुर्व्यवहारविरुद्ध जिल्ला प्रशासन धादिङमा होटल संघले उजुरी दिएको छ । भक्तपुर र धादिङमा उजुरी परेको विषयलाई लिएर टिप्पणी गर्न नचाहेको बताउँदै उनले भनिन्, “अब कानुनी हिसाबले काम गर्ने हो ।”


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro