site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘बडी सेमिङ’ किमार्थ मान्य छैन

म त्यस्तै आठ वर्षकी थिएँ । मेरा हजुरबुवालाई बुवाले डोर्‍याएर घरबाट ओराल्दै हुनुहुन्थ्यो । त्यतिखेरै ‘भुइँचालो गयो’ भनेर सबै कराउन थाले । म बुवा र हजुरबुवालाई छिचोल्दै भर्‍याङबाट दगुरेर बाहिर निस्किएँ ।

मेरो बाल मानसपटलमा केवल आफू मात्र बाँच्ने धुन थियो सायद त्यति बेला । त्यसैले त होला, मैले हजुरबुवा र बुवाको उमेरको लिहाज राखिनँ । सबैलाई छिचोलेर आफू मात्रै निस्किएँ !

यदि, साँच्चै म मात्र बाँचेको भएदेखि के हुन्थ्यो होला ? यो कल्पना मैले धेरैपटक नगरेको होइन ।

Dabur Nepal

बीचमा मैले यो घटना बिर्सिएँ पनि सायद ! तर, पछिल्लो लामो समयदेखि बारम्बार यो दृश्य मेरा आँखाअगाडि आइरहन्छ । त्यो क्षण म सम्झिरहन्छु ।

जब म कुनै अशक्त वृद्ध व्यक्तिलाई आफ्नाअगाडि विस्तारै हिँडिरहेको देख्छु र पछाडिबाट हतारहतार छिचोल्दै अघि बढ्न खोज्छु, तत्क्षण झसंग हुन्छु । सोच्छु, म यसरी जोसिएर हिँडिदिँदा यी अशक्त वृद्धलाई कस्तो असर पर्छ होला !

उमेरले ५० कटेको मेरो मन र शरीरले मलाई बुढो भइस् भनेको छैन । तर, बारम्बार मसँग जोडिएको समाज र परिवारले मलाई उमेरको हेक्का दिलाउन खोज्छ, मानौँ त्यो नै उनीहरूको मुख्य धर्म हो ! अथवा, वर्षौँदेखि उनीहरू त्यही भन्न लालायित थिए !

एक मित्रले भने, “किन कपालमा कालो नलगाएको ? अझै १०/१२ वर्ष त राम्रै देखिन्थ्यो नि !”

मैले हाँसेर जवाफ दिएँ, “म आफूलाई यसैमा सुन्दर देखिरहेछु ।”

“ओहो, दिदी हजुर त कस्तो बुढी देखिनुभएको हरे ! कपाल पनि कस्तो सेतै फुलेका ?”

यहाँ पनि म हाँसेरै जवाफ दिन्छु, “अरे भाइ, मेरो विषयमा किन यति धेरै चिन्तित हुनुभएको ?” 

“साथी, मेरी छोरीले के भनिन् थाहा छ तिम्रो फोटो हेरेर, ‘ममी, आन्टी त बच्चाहरूको अगाडि कस्तो बुढी देखिनुभएको ।”

अवश्य, जति बेला म मेरो हजुरबुवालाई छिचोल्दै घरबाट बाहिर निस्केकी थिएँ, त्यति बेलाका मजस्ता बच्चा र त्यस बेलाका युवालाई आजकाले केटाकेटी र युवाले बुढो भन्ने बेला त आयो नै ।

नयाँनयाँ प्रविधिअनुसार चल्न रहर लाग्नु आजको माग हो । यस्तै एउटा नयाँ एप्स डाउनलोड गर्न खोजेँ मोबाइलमा । यसका लागि मैले मेरो भान्जासँग अलिकति सहयोग मागेँ ।

म उनकै मार्गनिर्देशमा चल्दै आफ्नो मोबाइलमा औँला पुर्‍याउँछु, एप्स ‘लग इन’ गर्न । तर, त्यसले काम गरेन । सायद मोबाइलमा केही समस्या आयो वा मेरो औँलाको स्पर्शलाई मोबाइलले अवमूल्यन गर्‍यो ।

लग इन भएन । अचानक मलाई मोबाइलमा नयाँ प्रविधि सिकाउँदै गरेका भान्जाले भने, “के भो, हजुरको औँलामा चाउरी पर्‍यो कि क्या हो !”

एउटा डेक्चीमा पानी राखिएको छ र त्यसलाई तलबाट लगातार आगो दिइरहेको छ भने त्यसले एउटा निश्चित समयपछि उम्लनु प्रकृतिको नियम हो । एक सय डिग्री सेल्सियसमा पुगेपछि पानी उम्लिन्छ, यो स्वाभाविक हो ।

उम्लिएको पानीलाई बेलैमा आगोबाट निकालिएन अथवा पानी आगोबाट पर नभए त्यो छचल्किएर वरिपरि पोखिएर कसैलाई पोल्न पनि सक्छ ।

पोल्नु र पोखिनुअगावै डेक्चीलाई अगेनाबाट अलि पर अलग्गै राखेर म एकछिन सोच्न थालेँ, आफैँलाई एकछिन खोतल्न थालेँ, आखिर के हो यो मप्रतिका यस्ता भनाइ ?

एजिजम (उमेरवाद) हो ? या बडी सेमिङ (शरीरको निन्दा) ? अथवा दुवै ?

पश्चिमाहरू अत्यन्त सजग रहेको यस परिभाषामा सायद एसियन मूलका हामी त्यति सजग छैनौँ । त्यसैले यस्ता आलोचना अनि निन्दा विशेषतः ‘बडी सेमिङ’ यहाँ जुनसुकै उमेर समूहलाई पनि भइरहेको हुन्छ ।

कसैको शरीरको बनावट, आकार, तौल वा अन्य शारीरिक विशेषताहरूलाई आधार बनाएर आलोचना गर्नु अपमान हो र यसले मानसिक तनावको अवस्था सिर्जना गर्छ । यसले जो कोहीको आत्मसम्मानमा गहिरो नकारात्मक प्रभाव पार्न सक्छ । र, मानसिक स्वास्थ्यमा पनि ठूलो असर गर्न सक्छ भन्ने लाग्छ ।

म हुर्केको परिवार, समाज, समुदायमा सौन्दर्यका मान्यताहरूले यस्तो प्रकारको शारीरिक आलोचनालाई अझ बढावा दिएको जस्तो पो लाग्दछ मलाई त ।

मेरा एक वरिष्ठ गुरु भन्नुहुन्छ, “दाजु र म हिँड्दा मलाई सोध्छन् कि उहाँ तपाईंको भाइ हो ? म भन्छु– होइन, मेरो दाजु हुनुहुन्छ उहाँ । तब उनीहरू भन्छन्– ओहो, तपाईं पो दाजुजस्तो देखिनुहुन्छ त । मलाई यो पटक्कै मन परेको हुँदैन, किनकि उमेरले परिपक्व भए तापनि दाजुका अगाडि म आफू मिश्रित अपमानको महसुस गरिरहेको हुन्छु । दुवै एकैपटक पर्दा मलाई आफूमा हिंसा भएको महसुस हुन्छ । माननीयहरूबाट यो व्यवहार मलाई किमार्थ मान्य हुँदैन ।”

अब हामीले कोहीसँग भेटघाट हुँदा एकार्कालाई गर्ने संवादमा परिवर्तन ल्याउनुपर्ने भएको छ कि भन्ने लाग्छ । हामी के विषयमा कुरा गर्ने भन्ने विषयमा पनि सोच्नुपर्छ ।

कसैको शरीर, रूप, रङ वा तौललाई लिएर कुरा अगाडि बढाउने या त्योभन्दा माथि उठेर बौद्धिक या व्यावहारिक कुरा गर्ने ?

केटाकेटीलाई उसको नामले नबोलाई सानी, फुच्ची, डल्ले, मोटे, लुरे भनिनु र आफ्नो पहिचान खोजिरहेको उमेरमा तिनलाई अवमूल्यन गर्नु – के यो पनि ‘बडी सेमिङ’ होइन र ?

अझ विशेष गरी देशबाहिर आफ्नो परिवारबाट टाढा एक्लै रहेका आफन्त, छोराछोरी, नातेदारलाई सामाजिक सञ्जालमा देख्नासाथ ‘तिमी त्यहाँ कसरी बसिरहेको छौ, तिमीले कतिको संघर्ष गर्नुपरेको छ, तिम्रो पढाइ कस्तो चलिरहेको छ अथवा तिम्रो पेसा, व्यवसाय कस्तो छ भनेर नसोधी ‘लौ बाबु, दाह्री पालेर तिमी त बुढो पो देखिएछौ ! ...ओहो, कस्तो ठ्यास्स मोटाएकी !’ भनेर टिप्पणी गर्ने गरिन्छ ।

अचेलका युवापुस्ता अघिल्ला पुस्ताको अगाडि सकेसम्म पर्नै नचाहने कारण कतै यही त होइन ? कि मायाको नाममा उनीहरूले थाहा नपाउँदो किसिमले यी युवापुस्तालाई ‘बडी सेमिङ’ गरिरहेका त छैनन् ? कतै यसै कारण उनीहरू डिप्रेसनको सिकार त भइरहेका छैनन् ? यी सवाल उठ्नु अस्वाभाविक होइन ।

आफ्नै लागि बाँच्न थालिसकेकी मैले यी प्रसंगहरू यसकारण उठाइरहेकी छु कि कुनै पनि उमेर समूहका मानिससँग माथ्लोे, तल्लो र समकालीन पुस्ताले प्रयोग गर्ने बोली र व्यवहारले केटाकेटी, युवा, वयस्क र वृद्ध अवस्थामा पुगेका उनीहरूमा विभिन्न संघर्ष अनि चुनौतीहरू आफ्नै हुन्छन् ।

त्यसमा यो पनि थप हुन जाने र उनीहरू मानसिक तथा शारीरिक रूपमा पनि कमजोर हुँदै जान सक्छन् ।

म आफू कस्तो देखिन चाहने भन्ने कुरो मेरो नितान्त निजी चाहना र छनोट हो । यसमा अरू कसैको हस्तक्षेप रहनु हुँदैन भन्ने मेरो मान्यता छ ।

कपालमा कालो लगाउने विकल्प मसँग छ । शृंगारले राम्रो देखिने वा विनाशृंगारमा हिँड्ने – यो मेरो आफ्नो छनोट हो । मोटाउनु र दुब्लाउनु पनि आफ्नै चाहना हुनसक्छ ।

मोटाउनु, दुब्लाउनु कतिपय अवस्थामा मान्छेको स्वास्थ्यका कारण पनि हुनसक्छ । यस्तोमा त्यो व्यक्तिप्रति गरिने आलोचना र प्रश्नले थप बोझ अनि मनोवैज्ञानिक असर पर्न सक्छ नै ।

मानिस सामाजिक प्राणी भएकोले समाजका विभिन्न वर्ग, जाति, लिंग, समुदायमा मिलेर रहनुपर्दा यी र यस्ता खालका सवालहरू कुनै पनि उमेर समूहको लागि एक अपमान हुने निश्चित छ ।

तसर्थ, यस्ता शब्दको प्रयोजन, व्यवहार र दृष्टिकोणप्रतिको संवेदनशीलतालाई सबैले बुझ्नु जरुरी छ । तर, यसबाट अनभिज्ञ हामी या त संस्कारको कमी भएर या आफैँमाथिको कुण्ठाले यस्तो व्यवहार गरिरहेका हुन्छौँ ।

यही समाजको एउटा पात्र म पनि हुँ । म झसंग भएँ कि मैले कुन उमेरदेखि यो आलोचना सुन्दै आइरहेकी छु र कतिका लागि म स्वयं पनि कारण बनेकी छु ?

स्मरण गर्दा पाएँ कि मबाट पनि त भएको रहेछ यस्ता व्यवहार विगतमा ।

हो, साँच्चै रहेछ । बेलाबेलामा मनको विरेचन, आत्मसमीक्षा गरेर स्वीकारोक्ति पनि गर्नुपर्दो रहेछ आफ्ना कमजोरीमा । अन्यथा वैभव, मानसम्मान र समृद्धिले जतिसुकै उचाइ लिए पनि यदि परिवार, समाज र पेसागत जीवनमा एकार्काको मुटुमा भावनात्मक खाता खोल्न सकिँदैन भने ज्ञान अनि मुद्रा बैंक ब्यालेन्सको कुनै अर्थ रहन्न ।

(मीनभवन, काठमाडौं)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro