कस्तो उत्ताउलो बुढो, यो उमेरमा पनि रंगीचंगी फेसनदार लुगा लगाएर पट्ठो बनेर हिँड्नुपरेको !
यो सुनेर बुढालाई रिस उठ्छ । अलि हकार्दै उसले भन्छ, “कसलाई बुढो भनेको ? बुढो होलास् तँ, बुढो होला तेरो खानदान ! म त ज्येष्ठ नागरिक, सिनियर सिटिजन हुँ । म बुढो होइन बुझिस् !”
उपरोक्त संवाद सुनेर म झस्कन्छु । मैले अवकाश पाएको २० वर्ष बढी भइसक्यो । आज आएर लाग्न थाल्यो मलाई म बुढो होइन भने के हुँ ? उमेरले जवान म कदापि होइन, वृद्ध नै भन्नुपर्छ ।
भौतिक देहले उमेरको छाप बोकेर हिँड्नुको विकल्प छैन । जति लुकाउन खोजे पनि चाउरिएको छाला, टल्केको तालु, फुक्लेको दन्तलहर, खिइँदै गएको स्फूर्ति आदिले वृद्धत्वको प्रदर्शन गरिरहेकै हुन्छ । जति लुकाउन खोज्दा पनि कतै न कतैबाट उजागर भइनै हाल्छ । इहलीला समाप्त भएपछि मात्र रोकिने यात्राको परिणाम हो यो ।
यो यात्रा चाहेर हुने र नचाहेर नहुने होइन रहेछ । कसैको अधीनमा रहने कुरा पनि होइन । यो अविरल अघि बढिरहन्छ । आँखामा बिर्को लगाउँदैमा यो शाश्वत सत्य मिथ्या हुँदैन ।
हेर्ने दृष्टिकोण फरकफरक हुन्छ । कसैले अन्त्यतर्फ कदम बढेको ठान्छ । कसैले दीर्घायु भएको ठान्छ । गिलास आधा भरेको भन्ने कि आधा खाली ! फरक यत्ति हो ।
जन्मेपछि मृत्यु अवश्यम्भावी हुन्छ । कुनै आग्रह दुराग्रहविना स्वीकार्छौँ हामी यसलाई । उमेर पछि फर्किंदैन, कसैलाई पर्खिंदैन । अघि बढ्दै जाने स्वभाव उसको ।
अग्रगत यात्राक्रममा आयुले विभिन्न पडाबहरू पार गर्दै जान्छ । वृद्धावस्था पनि एउटा बिसौनी हो, अग्रगत यात्राको । यो अनुभव सम्पन्नतातर्फको यात्रा हो ।
उमेरको यस बिसौनीलाई सहज रूपमा आत्मसात् गर्दैनाँै हामी । यसलाई थोपरेको ठान्छौँ । बैँसलाई तिर्खालु भएर जिउँछौँ हामी । वृद्धावस्थाको बिसौनीमा पुग्दा जीवनलाई हेर्ने हाम्रो दृष्टि नकारात्मक हुन्छ ।
जन्मलाई शुभ र मांगलिक ठान्ने हाम्रो चलन छ । वृद्धावस्थालाई मृत्युबोधको अँध्यारो मानसिकताले बुझ्ने गर्छौँ । यद्यपि, जन्मले मृत्युलाई बोकेरै हिँडेको हुन्छ । सबैलाई यसको ज्ञान भएकै हुन्छ । फेरि, यो नकारात्मकता किन ?
भोगको अगस्ति डोरीले टनटनी बाँधेर राखेको मानसिकता ! सबैका निर्क्योल यही हुन्छ सायद ।
ज्येष्ठ नागरिक, वरिष्ठ नागरिक, सिनियर सिटिजन आदि अभिधाले बुढ्यौलीको नकारात्मकतालाई रचनात्मक अभिव्यक्तिको नयाँ चिन्तनतर्फ उन्मुख गराउँछ । उमेर अगाडि बढ्दा जीवन घट्दै जाने मान्यतालाई नकार्छ यसले ।
माथि उल्लेखित बुज्रुकको तिखो संवाद अभिव्यक्तिलाई यसै सन्दर्भमा बुझ्न सके छर्लंग हुन्छ । बुढ्यौली र सिनियर सिटिजनले सम्प्रेषण गर्ने गूढार्थभित्र अस्तित्ववादी तत्त्वको सिला खोजाइको पीडा देख्छु म ।
जीवन बाँच्ने होइन, बाँच्न त सबै बाँचेकै हुन्छ । यसलाई जिउन सिक्नुपर्छ धीत मर्ने गरी । उक्त अभिव्यक्तिले बुढ्यौलीको परम्परागत सीमालाई भत्काइदिन्छ । जिन्दगीको इन्द्रेणीलाई अझै रंगीचंगी बनाउन हौसला दिन्छ ।
कतिलाई वृद्धत्वको मर्यादा भत्केको लाग्छ । अराजक चिन्तन लाग्न सक्छ कतिलाई । उमेरको यो पडाबमा जीवन्तताको परिचय दिनु जिउनुको सार्थकता हो, अराजकता होइन । जसरी बुझे पनि हुन्छ ।
साधारणतः दुवै शब्दले उमेरको एकै बिसौनीमा पुगेको अवस्थालाई बुझाउँछ । तापनि, दुवै लबजको अभिप्राय नितान्त विपरीत ध्रुवीय हुन्छ ।
बुढ्यौली देख्छ, घाम डाँडापारि पुगिसकेको छ । बिस्कुन सुकाएर बस्नु के काम ! बाँकी जीवन जसरी भए पनि बिताउने ध्येय हुन्छ उसको । बाँच्नुलाई रहर मान्दैन, बाध्यता ठान्छ ऊ ।
सिनियर सिटिजनले ठान्दछ यो उमेरले दिएको विशेषाधिकार हो । सबै व्यक्ति भाग्यमानी हुँदैन यो मौका पाउन । कैयौँ बाटोमै हराउँछन्, यहाँ पुग्दा पुग्दै ।
जीवनको ऊहापोह पार गर्दै थोरै भाग्यशालीहरू यो पडाबसम्म आइपुग्छन् । त्यसैले यो अवसर हो, सदुपयोग गर्नुपर्छ । त्यसैले जीवनलाई हाँसीखुसी बिताउन चाहन्छ ।
मानिसले उमेरको यो पडाबलाई जसरी बुझ्ने कोसिस गरे पनि हुन्छ । एउटा कुरा निश्चित छ, जति गहिरिएर डुबुल्किन सक्यो उति बढी मुक्ताफल हात पर्छ ।
गन्तव्य निश्चित छ, यो ज्ञात भएर पनि ज्येष्ठ नागरिकहरू पाएको मौकालाई सुखमय बनाएर जिउने कोसिस गर्छन् । सलाम छ यस्ता जीवात्मालाई ।
मानिसको आयु बढ्नु नैसर्गिक प्रक्रिया हो । बुढो भएँ भन्ने ठानेर चारैतिरबाट आफूलाई बन्द गरी खुम्चिएर बस्नु मानव मस्तिष्कको अँध्यारो पक्ष हो ।
अँध्यारोले छोप्दा सबै अगोचर हुन्छ । आँखा खुला भएर पनि दृष्टिविहीन हुन्छ । मन छटपटिन्छ निःसहायपनले । असमर्थताले मन कोपर्न थाल्छ । मनभित्र उकुसमुकस हुन्छ । हौसला टुटेर छ्यालब्याल हुन्छ ।
बटुलेर जति ठोकठाक पारेर जोड्दा पनि उभिन सक्दैन । मनले हरेस खान्छ । पाइताला अगाडि सर्दैन । वरिपरिका सबै छुट्दै जान्छन् । एक्लो हुँदै जान्छ मन । विकल्प हुँदैन ऊसँग ।
सम्झौता गरी बस्छ बुढ्यौलीसँग । सहारा खोज्छ अरूसँग । समयले पनि बिर्सिन थाल्छ उसलाई ।
उमेरलाई संख्या मात्र हो, यो घट्दैन बढेरै जाने हो । यो मान्नेहरूले उमेरसँग सम्झौता गर्दैनन् । उमेरलाई निर्बाध जिउँछन् यिनीहरू । मानव मस्तिष्कको उज्यालो पक्ष हो यो ।
यिनका मन सधैँभरि जवान रहन्छ । मन खुम्चिँदैन कहिल्यै । यिनमा प्रसन्नात्मा हुन्छ । सहारा खोज्दैन कसैको । आफ्नो आर्जित अनुभव र परिपक्वताले अरूलाई सहयोग गर्छन् ।
समयानुरूप राख्छन् आफूलाई । उमेरलाई इन्द्रेणी बनाई जीवनका हरेक रङ पिएर रमाउँछन् ।
मानिसमा उमेरले छाड्ने मनोदैहिक छापलाई नकारी ऊर्जाशील रहने मनोभाव नै ‘सिनियर सिटिजन’ हो । उमेरको अंकगणितीय संख्यालाई मात्र हेरेर आफ्नो अवस्था स्वीकार गरी बस्दैन सिनियर सिटिजन ।
हामी देख्छौँ १८÷१९ वर्षका कैयन् युवा बुढोजस्तो देखिएको, तिनको बुढ्यौली प्रवृत्ति र व्यवहारका कारण । कतैकतै ९० वर्षकाहरू पनि उत्साही र ऊर्जावान् पाउँछौँ । यो मन हो – जसले मानिसलाई जवान र बुढो बनाउँछ ।
उमेरलाई संख्यामा व्यक्त गर्ने एउटा प्रक्रिया वा मानक मात्र हो । यसरी बुझेर जीवनयात्रामा अघि बढ्ने हो भने उमेरको त्यो पडाबमा हामी पनि सिनियर सिटिजन हुन्छौँ । ज्येष्ठ नागरिकको परिचयपत्र गोजीमा राखेर हिँड्दैमा वृद्ध भनिएला, सिनियर सिटिजन भइन्न ।
अपसोस, ज्येष्ठ नागरिक परिचयपत्र वृद्धभत्ता र सरकारी सुविधा प्राप्त गर्ने लाइसेन्स मात्र भएको छ । मनोवैज्ञानिक रूपमा क्रियाशील भएर समाजमा बाँचौँ भन्ने मानसिकता वृद्धहरूमा यसले स्थापित गर्न सकेको छैन ।
रेमिट्यान्सले चलेको देशमा सामाजिक सुरक्षा भत्ता भोट ब्यांकको निम्ति राजनीतिक स्टन्टका रूपमा प्रयोग भइरहेछ । यो भत्ता दिनु नराम्रो कदापि होइन । तर, देशले यसको भार कतिन्जेल थेग्न सक्छ ? चिन्ताको विषय हो यो ।
उमेरसँग हारेर मानिस बुढो हुन्छ । दैहिक रूपमा मात्र नभई मानसिक रूपमा पनि हुन जान्छ ।
सिनियर सिटिजनलाई जीवनको उत्तराद्र्धमा डाँडापारिको घाम महत्त्वपूर्ण लाग्दैन । ऊ भोलिको सुन्दर बिहानीलाई पर्खेर बस्न मन पराउँछ ।
त्यसैले कुनै विद्वान्ले भनेका कुरा म सम्झन्छु, ‘ओल्ड इज ह्वेन यु गिभ अप, अन्टिल देन यु आर स्पेक्चुलर ।’