site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

संसदीय पद्धतिमा संसद्का प्रमुख दुई दल मिलेर सितिमिति सरकार बनाउँदैनन् । सामान्यतः पहिलो दलले सरकार चलाउँछ भने दोस्रो दल सशक्त विपक्षको भूमिकामा हुन्छ । यसैले नेपालको अहिलेको सरकारलाई विशेष परिस्थितिको उपज भनिएको हुनुपर्छ ।

विशेष परिस्थितिमा बनेको प्रचण्ड बहुमत भएको सरकार भए पनि जनतामा आशा जगाउने अवसर भने सरकारले पहिलो सय दिनमै गुमाएको देखियो । यही अवधिमा आएको बाढी पहिरोकै बेलामा सरकारले जनताको विश्वास र समर्थन दुवै गुमाएको छ  ।  

सरकारले जनविश्वास गुमाएका बेला विपक्ष जुर्मुराउनु संसदीय राजनीतिको विशेषता नै हो । संसदीय सङ्ख्या उल्लेखनीयरूपमा कमजोर भएको अहिलेको जस्तो अवस्थामा विपक्षले सडकबाट सरकारलाई दबाब दिनु पनि अस्वाभाविक होइन । 

KFC Island Ad
NIC Asia

सम्भवतः यही कारणले नेकपा (माओवादी केन्द्र)ले शनिवार काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो । सरकारलाई खबरदारी गर्न देशका अरू प्रदेशमा पनि माओवादी केन्द्रले जनप्रदर्शनका विभिन्न कार्यक्रम गर्न लागेको जानकारी दिइएको छ । यो लोकतान्त्रिक राजनीतिमा सही अभ्यास हो ।

सँगै विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्तरूपमा भेटेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेमा रोकिदिन आग्रह  पनि गरेका  छन् । दल विभाजन सजिलो हुनेगरी अध्यादेश ल्याउन लागिएको सन्देह केही समयदेखि गरिँदै आएको छ ।

सबै दलमा आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर छ । यही कारणले असन्तुष्टि पनि  व्यापक नै रहेको देखिएको छ । यसैले कानुनी व्यवस्था खुकुलो भए आफ्नो नेतृत्वको दल विभाजित हुने खतरा विपक्षी नेताहरूले देखेको हुनुपर्छ ।

सरकारले कुनै दल विशेष फुटाउने मनसाय राखेर अध्यादेश ल्याउन खोजेको हुनसक्छ । विगतमा दाहाल प्रधानमन्त्री हुँदा पनि सरकारकै सहमा विवादास्पद उपाय अपनाएर एउटा राजनीतिक दल फुटाइएको थियो । प्रधानमन्त्री ओली त झन् गर्न हुने र नहुने अभ्यासमा फरक नगर्ने नेताका रूपमा बदनामै छन् ।

सरकारले गलत नियत राखेर कुनै काम गर्न खोज्यो वा गरी नै हाल्यो भने राजनीतिक दलहरूले त्यसको विरोध गर्नुपर्छ । यस्तो विरोध शान्तिपूर्णरूपमा सडक र सदन सबैतिर गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । 

अध्यादेश रोक्न सडक र सदनमा विरोध गर्नु स्वाभाविक र संवैधानिक भए पनि राष्ट्रपतिलाई अध्यादेश रोक्न उक्साउनु भने संविधानसम्मत होइन । कारण नेपालको संविधान, २०७२ को धारा ११४ को राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश रोक्न मिल्ने कुनै प्रावधान छैन ।

विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानका विधायिनी प्रावधानहरू पटकपटक उल्लङ्घन गर्दा प्रमुख विपक्षी नेता पुष्पकमल दाहाललगायतले विरोध गरेका थिए । राष्ट्रपति फेरिँदैमा संविधान मिच्न मिल्ने त होइन होला नि १  

राष्ट्रपति पौडेल स्वयं संसदीय लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक पृष्ठभूमिका हुन् । यसैले विपक्षी दलले उक्साउँदैमा उनी संविधानमै नभएको उपाय अपनाउने अर्थात् अध्यादेश रोक्नेजस्तो कार्य गर्न पक्कै तत्पर हुनेछैनन् । तर, विपक्षी दलहरूको आग्रहले भने संविधानप्रति उनीहरूको प्रतिबद्धतामा सन्देह उत्पन्न गराएको छ ।

एउटा कुनै प्रक्रिया वा अभ्यासमा संविधान मिच्न थालियो भने त्यो देशका लागि र विशेषगरी लोकतन्त्रका निम्ति जोखिम हुनेछ । यस्तो अवस्था सरकारभन्दा पनि बढी विपक्षका लागि प्रत्युत्पादक हुन्छ । यसैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको ‘अध्यादेश रोकिदिने’ असंवैधानिक आग्रह आत्मघाती ठहरिने देखिन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro