site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६० वर्षदेखि नेपालीभूमिको रक्षामा खटिएका सुस्ताबासी
SkywellSkywell

नवलपरासी (सुस्ता) । पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट करिब २१ किमी तल झरेपछि नारायणी नदीको तल्लो भेगमा पुगिन्छ । नारायणी नदीको पारिपट्टी ठ्याक्कै ४० हजार ९८० हेक्टर जमिन छ, नेपालको ।

सुस्ता क्षेत्रको तीनतिर भारत छ भने अर्कोतिर नारायणी नदी । 

आजभन्दा करिब २०९ वर्ष पहिला अर्थात् सन् १८१६ मा नेपाल–भारतबीच सुगौली सन्धि भयो । सुगौली सन्धि नेपाल र इष्ट इन्डिया कम्पनीबीच भएको हो । उक्त सन्धि हुँदा सुस्ता गाउँ नारायणी नदीभन्दा उत्तरमा थियो ।

KFC Island Ad
NIC Asia

विस्तारै नदीले आफ्नो धार परिवर्तन गर्दै गयो । नदीले नेपालतिरको जग्गा काट्न थाल्यो । जग्गा काट्दै गएपछि गाउँ नदी र भारतको बीचमा पर्‍यो । 

इस्ट इन्डिया कम्पनीबाट स्वतन्त्र भएपछि भारतले पुरानै सम्झौताअनुसार नदी नै सीमा भएको दाबी गर्न छाडेन । र, नेपालको उक्त गाउँ आफ्नो भएको दाबी भारतले गरिरह्यो ।

Royal Enfield Island Ad

इतिहासकारका अनुसार नारायणी नदीले पटक पटक त्यहाँ धार परिवर्तन गरिरहेको छ ।

susta15-1729743359.JPG
 

सीमाविद् बुद्धिनारायण श्रेष्ठले आफ्नो पुस्तक ‘नेपालको सिमाना’मा सुस्ताको धार परिवर्तनबारे लेख्छन्–नारायणीले हरेक पटक पश्चिमतिरको जमिनको भाग काटी पश्चिमतर्फ सर्दै नयाँ धार बनाउनाले नेपालको जमिन नदीका हिसाबले भारततर्फ पार्दै जाने गरेको छ । ठूला–ठूला बाढी आउँदा त एकैपटक हजारौँ बिगाहा जमिन नदीभन्दा पूर्वतर्फ परेको पनि पाइन्छ ।”

विसं. १९०२ सालमा ठूलो बाढी आएको थियो भने २०११ सालमा आएको बाढीले कम्तिमा पनि १८ सय बिगाहा जग्गा काटेको उनले उल्लेख गरेका छन् । २०३७ सालमा पनि कम्तिमा १५० बिगाहा जमिन काटिएको थियो ।

नदीले जति जति नेपालको भूभाग काट्दै नेपालतर्फ सर्छ भारतले भारतले नारायणी नदीलाई सीमानाका दाबी गर्दै उक्त भूभाग आफ्नो भनिरहन्छ । विवादको मूल कारण नै यही भएको स्थानीय जानकार बताउँछन् ।

तर नेपालले नदीले धार परिवर्तन गरिरहने भएकाले पहिलेकै क्षेत्रमा सीमा स्तम्भ हुनुपर्ने अडान राख्दा समस्या निम्त्याइने गरेको छ ।

सीमा निर्धारणसम्बन्धी मान्यता ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अनुसार नदीले धार परिवर्तन गरेर जमिनमा क्षति पुगे पनि सीमा रेखा तलमाथि पर्दैन । इतिहासका जानकार र सीमाविद्हरुका अनुसार, सन् १९७२ देखि २०१६ को बीचमा नदीले पटक–पटक धार परिवर्तन गरिरहेको छ ।

सुस्तामा रहेको ४० हजार ९८० हेक्टर जमिनमध्ये १४ हजार पाँच सय हेक्टर भारतले कब्जा गरिसकेको छ । 

susta15-1729743359.JPG
 

बाँकी जग्गामा नेपालीले जोतभोग गर्दै आएका छन् । तर पनि उक्त भूभागलाई विवादको घेरामा राख्ने प्रयास भारतले जहिल्यै पनि गरिरहेको स्थानीय बताउँछन् ।

भारतको सीमा क्षेत्र भएकाले सुस्तामा तत्कालीन राजा महेन्द्रले विक्रम सम्वत् २०२० सालमा भूतपूर्व सैनिक लगेर बस्ती बसाले । त्यसबेला कसैलाई दुई बिगाहा त कसैलाई तीन बिगाहा दिएर बस्ती बसालेको सम्झन्छन्, संविधानसभा सदस्य तथा कांग्रेसका नेता सन्तु कलवार ।

बाह्रखरीसँग सुस्ता क्षेत्रमै उभिएर सुस्ताको इतिहासका बारेमा कलवारले यसरी बेलिविस्तार लगाए ।

२०२० सालमा राजा महेन्द्रले भुपू सैनिक ल्याएर बसाले । कसैलाई दुई बिगाहा कसैलाई तीन बिगाहा जमिन दिए । पहाडबाट आएर भुपू सैनिक यहाँ बसे ।

पञ्चायतकालमा सुस्ता गाउँ पञ्चायत पनि भयो । त्यसबेला भारतमा काठको निकै माग थियो । सुस्तामा भारतका काठ काट्ने र तस्करी गर्ने मान्छे बढी नै थिए । त्यो रोक्न महेन्द्रले लगेर त्यहाँ बस्ती बसालेका हुन् ।

२०२० सालभन्दा अघि सुस्ता जंगल थियो । २०२४ सालमा त्यहाँ बसोबास गर्ने सबैलाई लालपूर्जा पनि वितरण गर्‍यो नेपाल सरकारले । बस्ती बढ्न थालेपछि गाउँ भयो, पञ्चायत पनि भयो । गाउँ पञ्चायतबाट सबै काम हुन थाल्यो ।

२०३९ सालमा ठूलो बाढी गयो । र, सुस्तालाई पनि खत्तम बनायो । त्यहाँ बाढीले सखाप पार्ने अवस्था आएपछि केही मान्छेलाई त्रिवेणी क्षेत्रमा बसालियो ।

कोही विहारतिर लागे, केही उत्तर प्रदेशतर्फ ।पछि विस्तारै बस्ती सुरु भयो । बाहिर बाहिर गएका मान्छे विस्तारै आफ्नै थातथलोमा बस्न थाले ।

kalwar-1729743466.JPG
 

तर बाढीपछि भारतले बढी आँखा लगाउन थाल्यो, उक्त क्षेत्रमा । किनकि नदीले धार परिवर्तन गरिसकेको थियो । २०४२ सालतिर भारतबाट एकजना इन्स्पेक्टरको नेतृत्वमा उक्त भूमि कब्जा गर्न खोजियो । त्यसबेला सुस्ताका स्थानीयसँग झडप भयो । झडप हुँदा दुईजनाको ज्यान गयो । केही प्रहरी पनि हताहत भए । त्यसपछि झनै विवाद झिक्न थालियो । 

बाढी आउँछ, जान्छ, मान्छे बस्ने काम जारी रह्यो । नदीको किनारैमा करिब १५ सय बिगाहा जग्गा हाम्रो थियो ।

यहाँ खेती सुरु गरेपछि भारतले स्थानीय जनतालाई उचालिदियो–‘यो हाम्रो भूमि हो भनेर ।’

अनि विवाद गराइदियो । दुवैतर्फ ठूलै झडपको अवस्था आयो । झडप हुने अवस्था आएपछि दुवैतर्फका प्रतिनिधि बसेर यहाँ केही नगर्ने भनियो ।

तर जग्गा हाम्रो हो । हाम्रो जग्गामा हामीले नै यहाँ १५ सय बिगाहा जग्गामा केही नगर्ने भनेर सहमति गर्नुपर्ने अवस्था आयो । १५ सय बिगाहालाई विवादित बनाउन सकिए बाँकी रहेको सात सय बिगाहामा रहेका नेपालीलाई जुनसुकै बेला लखेट्न सकिन्छ भन्ने भारतलाई लागेको हुन सक्छ । तर हामी अन्तिम अवस्थासम्म पनि हाम्रो भूमिको रक्षाका लागि लडिरहन्छौँ ।

सुस्तामा २७० घरधुरी र ३५ सय नागरिक छन् । पहिला सबै काममा भारतको भर पर्नुपर्ने अवस्था थियो । तर झोलुंगे पुल बनेपछि अन्त्य भएको छ ।

यहाँका बासिन्दा दैनिक सामान लिन भारत जान्थे । नेपालीलाई कहिले पिट्ने, कहिले दुःख दिने, यातना दिने काम भारतीयहरूले गरिरहे । यातना सहेर पनि हाम्रो भूमिमा भारतको झन्डा गाड्न दिएनौँ । सबैभन्दा पीडा राति बाढी आउँदा, सुत्केरी हुने बेलामा हुन्थ्यो ।

भारततर्फ विवाद छ जानै सकिँदैन । अर्कोतिर ठूलो नदी छ पार गर्न सकिँदैन । यस्तो अवस्थामा सरकारको ठूलो साथ चाहिन्छ तर पनि पर्याप्त साथ पाइएको छैन । हामीले जोतिआएको जग्गालाई भारतले करिब २० वर्षदेखि विवाद उत्पन्न गराएर राखेको छ ।

जग्गा हाम्रो हो । काम नेपाल सरकारले गरिरहेको छ । यहाँ बाटोदेखि स्कुलसम्म बनाइरहेको छ । तर विवाद भारतले झिकिरहन्छ । यो विवादित बनाएर भारतले काम गर्न दिएन । 

भारतले पुल बनाउने बेला पनि झिक्यो बखेडा 

हरेक कुरामा भारतको भर पर्नुपर्ने, वर्षाको समयमा नेपाली भूमिमै जान पनि समस्या हुने । त्यसैले यहाँ पुल बनाउने योजना बन्यो ।

“यो काम म संविधानसभा सदस्य भएको बेलामा भएको हो,” कलवारले भने, “भारतले पहिला झोलुंगे पुल बनाउनै नदिन चलखेल गर्‍यो । पहिला जिल्ला प्रशासन कार्यालयमै उनीहरूले अवरोध खडा गरे । भारतीय अधिकारी सिँचाइ मन्त्रालय पुगे । त्यहाँ पनि पुगेर फेस गरियो । भारतीय दूतावासबाट परराष्ट्र मन्त्रालयमा दबाब बढाए । हामी त्यहाँ पनि पुग्यौँ र पुलको आवश्यकताकाबारेमा अवगत गरायौँ । हामीले हरेश खाएनौँ ।”

२०७१ सालमा सुशील कोइराला प्रधानमन्त्री भएका बेला ठाडो निर्देशन दिएपछि पुलको काम अघि बढेको उनी बताउँछन् ।

susta-(9)-copy-1729743344.jpg
 

“सुशील कोइरालाले निर्देशन दिएपछि काम अघि बढ्यो । २०६५ सालमा सीडीओ गोविन्द खनाल भएको बेलामा भारतसँग सहमति भएको हो । यो जग्गामा कसैले नजोत्ने, त्यसै राख्ने । सुस्ता हाम्रो हो तर हामीले नजोत्ने भनेर सहमति गर्नुपर्ने अवस्था आयो । नभए सुरक्षामाथि खतरा बढ्यो ।” 

नालामा ‘कल्भर्ट’ राख्ने बेलामा पनि भारतले विवाद झिक्यो । सुरक्षा बलका कमान्डर आएर किन बनाएको ? भनेर विवाद गरे । गोली चल्ने अवस्था आयो । 

“यहाँको समस्या भनेको भारतीय जहिले पनि आएर विवाद खडा गरिहाल्छन्,” उनी भन्छन्, “हामीले हाम्रो भूमिमा बनाएका छौँ । किन रोक्ने ? हाम्रो प्रश्न जहिले पनि यो रहन्छ । यहाँ पुल बनाउने बेलामाभारतीय राजदूतलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बोलाएर भन्नुभयो, सुस्ता नेपालको भू–भाग हो । त्यहाँ पुल बनाउँदा के समस्या ?”

susta-(19)-copy-1729743357.jpg
 

भन्छन्– मैमाथि लाग्यो भारत...

म यहाँको भू–भागका लागि पहिलेदेखि नै लड्दै आएको व्यक्ति हुँ । म नेपाली कांग्रेसको एकजना सच्चा कार्यकर्ता भएको हुनाले देशको भूमिको रक्षाका लागि लड्नुपर्छ भनेर लागेको व्यक्ति हुँ । २०६५ सालतिरको कुरा हो, भारतमा मेराविरुद्ध मुद्दा हालियो ।

भारतमा देशद्रोहको मुद्दा दर्ता भएको बारेमा जानकारी पाएँ । यो मेराविरुद्ध गरिएको ठूलो षडयन्त्र थियो । भारतमा अर्को देशको नागरिकको बारेमा पनि यसरी मुद्दा दर्ता गरिँदो रहेछ ।

पछि मैले कांग्रेस जिल्ला कार्यसमितिबाट लेखाएँ, गृह मन्त्रायलमा गएँ । त्यहाँबाट परराष्ट्र मन्त्रालयलाई पत्र लेख्न भनेँ । परराष्ट्रले दिल्लीमा पत्राचार गरिदियो । दिल्लीले लखनौमा लेखिदियो । लखनौले जाँच गरेपछि मेरो देशद्रोहको मुद्दा फिर्ता भयो ।

भारतमा यस्ता मुद्दा थानामा कसैले दर्ता गराइदिए समस्या परिहाल्छ । मैले सुस्ताको विषयमा सदनमा बबोल्दा पनि धेरैको साथ पाइनँ ।

बोलेकै दिन बेलुका मसँग भारतीय दूतावासका मान्छे आएर भने– तिमी सुस्ताको विषयमा नबोल ।

susta1-(6)-1729743358.jpg
 

मैले भनेँ– त्यहाँका जनताको मत लिएर म किन नबोल्नू ?

मलाई नबोल्नू भन्ने तपाईंहरु को ?

केहीबेर भनाभन भएपछि उनीहरू फर्किए । 
...
अहिले सुस्ता क्षेत्र नेपाली भूभागसँग जोडिएको छ झोलुंगे पुलका माध्यमबाट ।

त्यस क्षेत्रका जनप्रतिनिधि सांसद विनोद चौधरीले उक्त पुलको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गराउन पाउँदा आफूहरुलाई गर्व लागेको टिप्पणी गर्छन् । आफू सांसद भएलगत्तै बिजुली र पुलका लागि पहल गरेको र ती दुवै कुरा एकैसाथ पूर्ण भएकोमा चौधरी गौरवान्वित छन् । 

केही दिनअघि राष्ट्रपति पौडेल सुस्तामा उभिएर भने– यहाँको जमिनसँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ ।

उनले आफू उक्त क्षेत्रमा आउँदा बढी भावुक हुने गरेको स्मरण गर्दै त्यहाँ जनतालाई सम्बोधनका क्रममा भने–झोलुंगे पुल निर्माण गरेका छौँ अब पक्की पुल बनाउनुपर्छ र यहाँ कोही पनि नागरिक नागरिकताविहीन भएर बस्नुपर्दैन ।

झोलुंगे पुल बनेपछि त्यहाँ बिजुली लैजान पनि सहज भयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि त्यहाँ पुगेर राष्ट्रपतिबाट विद्युत् सवस्टेशनको उद्घाटन गराए । यसले सुस्ता क्षेत्रमा अब उद्योग, कलकारखाना निर्माणका लागि सहज हुने घिसिङको तर्क थियो । सुस्ताको करिब सात सय बिगाहामा अहिले २७० परिवार बसोबास गरिरहेका छन् ।

susta-(16)-copy-1729743352.jpg
 

कक्षा सातसम्म स्कुल रहेको त्यस क्षेत्रका बालबालिकाले त्यहाँबाट माथि पढ्न सक्ने अवस्था थिएन । कारण– नेपालको भूभागमा जान ठूलो नदी पार गर्नुपर्ने अवस्था थियो भने भारततर्फ जहिले पनि तनाव ।

सात कक्षामा पुगेपछि कि पढाइ छाडिदिन्थे कि नवलपरासीमा डेरा जमाएरमात्रै विद्यार्थी पढ्न पाउँथे ।

लगातारको तनावपछि २०६५ मा सहमतिको सीमा तय गरियो दुवै पक्ष मिलेर । त्यसयता ठूला विवाद नभए पनि सामान्य विषयमा बेला बेलामा विवाद भने भइरहन्छ । अहिले पनि सुस्ता क्षेत्रमा नेपाल र भारततर्फका प्रहरीले सातामा एक दिन संयुक्त गस्ती गर्छन् ।

उता भारतीय सीमा सुरक्षा बल छन् । यता सशस्त्र प्रहरीले सुरक्षा दिन्छन् । सुस्तामा कोही नयाँ व्यक्ति देखिए सशस्त्र प्रहरीलाई एसएसबीले सोधिहाल्छन्– यिनीहरु को हुन् ?

पक्की घर बने, पुल बन्यो, तटबन्ध बनिरहेको छ तर पनि भारतीयले उक्त भूभागलाई आफ्नो भन्न छाड्दैन ।“४२ सालमा गोली लागेको ठाउँ यहीँ हो,” कलवारले उक्त भूमि देखाउँदै बाह्रखरीसँग भने, “उनीहरूले खेत नै कब्जा गरे । यहाँका जनताले बलिदानी नदिएको भए भारतले लिइसक्थ्यो । यहाँका जनताले बलिदानी दिएको हुनाले हाम्रो भूभाग बचेको हो ।”

susta-(13)-copy-1729743349.jpg
 

नेपाली भएकोमा गर्व लाग्दैछ

सुस्ता क्षेत्रमा करिब ५९ वर्षदेखि बसोबास गर्दै आएका राम बगिया मुसहरको मुहारमा अहिले खुसीयाली छाएको छ । अब भारतको मिचाहा व्यवहारको खुलेर विरोध गर्न सकिन्छ भन्ने उनलाई लागेको छ ।

कारण हो–झोलुंगे पुल निर्माण हुनु । आफूहरुलाई केही समस्या भइहालेमा अब भारततर्फ जानै पर्दैैन सहजै नेपाली भूभागमा पुग्न सकिन्छ भन्ने उनलाई लागेको छ ।

“हामी २२ सालमा पारि पक्लिहवाबाट यहाँ आएका हौँ,” मुसहरले बाह्रखरीसँग कुरा गर्दै भने, “पहिला भूपु सैनिकलाई खटाइयो । भुपु सैनिक आएर यहाँ जंगल फाँड्न थालेपछि हामी पनि आएका हौँ । पुल बनेपछि धेरै सजिलो भयो । हामी निकै खुसी छौँ ।”

susta1-(1)-copy-1729743357.jpg
 

उनले अहिलेसम्म पाएको दुःख त सम्झन पनि चाहन्नन् । कयौपल्ट एसएसबीको कुटाइ खाए । कैयौँपल्ट भारतीय अधिकारीको दुर्व्यवहार उनले भोग्नुपर्‍यो ।

“दुःख त कति पायौँ पायौँ । एसएसबीले हामीलाई कैयौँपटक धपाउने प्रयास गर्‍यो,” उनले ती दिन स्मरण गर्दै भने, “तर पनि हामी हाम्रो भूमिको रक्षाका लागि लडिरह्यौँ ।”

उनी पटक पटक भूमि रक्षाको आन्दोलनमा सहभागी भएका छन् । आफ्नो भूमि जोगाइदिन माग गर्दै काठमाडौंमा भएको आन्दोलनमा सहभागी भएका छन् । ज्ञापनपत्र बुझाउन कहाँसम्म पुगेनन् !

“सरकारसँगै आन्दोलन गर्ने अवस्था आयो,” उनी भन्छन्, “बिन्तीपत्र लिएर काठमाडौं गयौँ । काठमाडौंमा गएर हामीले धेरैलाई भेट्यौँ । त्यसबेलाका गृहमन्त्रीसँग भेट गरेर ज्ञापनपत्र दियौँ । त्यसपछि सरकारले सुनुवाइ गर्‍यो ।”

आफूहरुले गरेको आग्रहपछि सशस्त्रको बेसक्याम्प बसेको उनले बताए । मुसहरजस्तै ओमप्रकाश चौधरी पनि सुस्तामा नेपाली भूमि बचाउने अभियानमा पटक पटक भारतीय सुरक्षा बलसँग भिडेका व्यक्ति हुन् ।

सशस्त्र प्रहरीको बेसक्याम्प स्थापना भएपछि आफूहरु सुरक्षित महसुस गरेको उनी बताउँछन् । “...नभए त थाना यहीँ थियो । थानामा उताका एसएसबी भ्यानमा हतियारसहित आउँथे । थानामै बस्थे । यहाँ बोल्न सक्ने मान्छे थिएन । बोल्यो भने अगुवाहरुलाई लैजान्थ्यो । हामी सबै उखुबारीमा भाग्नुपर्थ्यो ।”

उनी पनि एसएसबीको पटक पटक पिटाइ खानेमध्येका एक हुन् ।

susta1-(3)-copy-1729743357.jpg
 

“मैले धेरै पिटाइँ खाएको छु । भारतीय प्रहरीको कुटाइ पटक पटक खाएको छु मैले,” उनले भने, “यस्तो घटना बेला बेलामा भइरहन्छ तर पछिल्ला दिनमा कम भएको छ । जग्गा हाम्रो हो हामीले खनजोत गर्दा पनि भारतीयको डर मान्नुपर्ने अवस्था किन आएको छ मैले बुझ्नै सकिन ।”

एकपल्ट जग्गाको विषयमा विवाद भयो । खेतमा रहेको ट्याक्टर भारतीयले जलाइदिए । ट्याक्टर चालकलाई भारतीय जेलमा पठाइदिए ।

त्यसपछि सुस्ताबासी उठेर भारतीय रेन्जरलाई कुटपिट गरेको उनी स्मरण गर्छन् । “त्यसपछि हामीले रेन्जरलाई पिट्यौँ । उनीहरुले थानामा लगे । थानाबाट आएर गोली चलाए । म त्यसबेला पक्लिहवा पढ्न गएको थिएँ । डुंगामा जान्थेँ । आउँदा यहाँ लडाइँ भइरहेको रहेछ ।यहाँ गोली चल्यो,”उनले भने ।

त्यसपछि लामो समयसम्म त्यहाँका नागरिक भारततर्फ जानै डराए । पुल बनेपछि अब आफूहरुलाई विहार जानुनपर्ने उनको प्रतिक्रिया छ ।

“अब हामीलाई विहार जानुपर्दैन । हामी बजार गर्नका लागि जानुपर्थ्यो, अब त्यो पनि पर्दैन,” अब हामी नेपाली भूभागमै पुगेर किनमेल गर्न सक्छौँ । यहाँबाट चार किमीमा ठूलै बजार छ भारततर्फ । खाद्यान्न लिन हामी जान्थ्यौँ । गहुँ पिसाउन, धान कुटाउन जानैप¥यो । यहाँ गहुँ पिस्ने मेसिन छैन । अहिले पनि उतै जानुपर्छ । अब पुलबाट पारि जान सक्ने भयौँ । अब हामीलाई विहार गइरहन पर्दैन ।”

अहिले पनि वर्षौँदेखि बसोबास गर्दै आएका केही नागरिकसँग  न त लालपूर्जा छ न त नागरिकता नै । त्यो समस्या छिटो समाधान गरिदिए हुन्थ्यो भन्ने लाग्छ ओमप्रकाश चौधरीलाई । 

“हामीलाई आफ्नै देशको भूमिको धेरै माया छ । अब उपचार गर्न पनि जानु पर्दैन,” उनले भने, “तर हाम्रा समस्या चाँडै समाधान गरिदिए हुन्थ्योजस्तो लाग्छ ।”

ओमप्रकाश चौधरीजस्ता धेरैलाई भारतले पटक पटक लोभ पनि देखायो । भारतको पक्षमा नारा लगाए सुविधा दिने भनेर ।

तर उनीहरूले मानेनन् । “भारतको पक्षमा नारा लगाऊ, जनता तिमीहरु बोल तिमीहरुलाई सुविधा दिन्छौँ भनेर हामीलाई लोभ पनि देखाए,” उनी भन्छन्, “तर हामीले मानेनौँ । नमानेपछि एकपल्ट हाम्रो उखु काटिदिए । बीचबीचमा अत्याचार त निकै हुन्थ्यो । तर अहिले पहिलाजस्तो छैन ।”

रमावती देवी राजभर सुस्तामै जन्मिइन्, विहे पनि त्यहीँ भयो । उनी पनि अहिले दंग छिन् ।

एसएसबीको ज्यादती अब सहनुपर्दैन भन्ने उनलाई लागेको छ । “म यहीँ जन्मिएँ । बिहे पनि यहीँ भयो । पुल बन्यो अब हामी पारि जान सजिलो भयो । पहिला हामी निकै भारत जानुपर्थ्यो । बिरामी हुँदा पनि विहार जानुपर्थ्यो पहिला,” उनी भन्छिन् ।

susta1-(6)-1729743358.jpg
 

उनका अनुसार एसएसबीका कति शब्द उनले मनमै राखेकी छन् । कसैलाई भन्न सक्ने खालका शब्द नै छैनन् कसरी सुनाउनू ? उनको प्रश्न छ ।

“हामी जे कुरा मुखले बोल्न सक्दैनौँ, एसएसबीले त्यही भन्छन् हामीलाई तर सहनुको के विकल्प थियो र ?,” उनले भनिन् ।

“यहाँ पटक पटक झडप भए । त्यसपछि लोग्नेमान्छे भारत जाँदा उनीहरुले पिट्थे । हामी महिला जाँदा जे मनमा आउँछ त्यही भन्थे ।नवलपरासी जान धेरै समस्या थियो बाढीका बेला । जेठदेखि भदौसम्म नेपालतर्फ जानै समस्या हुन्थ्यो, अब त्यो समस्या पनि हटेर गएको छ । अब हामीले एसएसबीका ती शब्द सुन्न पर्दैन,” उनले भनिन् ।
तस्बिर–सुनील प्रधान

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro