site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकमा थुप्रिँदै पैसा : किन ऋण थप्न अनिच्छुक छन् व्यवसायीहरू ?

काठमाडौं । उद्योगी व्यवसयीहरू ऋण थप्न अनिच्छुक हुँदै गएका छन् । उनीहरू बरु ७०/८० प्रतिशत क्षमतामा व्यवसाय चलाइरहेका छन् । तर, ऋण थप्दै व्यापार व्यवसाय विस्तार गरी टाउको नदुखाउने रणनीति अपनाएको देखिन्छ । 

उपभोक्ताको क्रयशक्ति घटेका कारण बजारमा खपत घट्दै गएको छ । यही अवस्था रहेमा उद्योग व्यवसाय टिकाइराख्न पनि धौ–धौ परेको व्यवसायीहरू सुनाउँछन् ।

सरकारका नीतिका कारणले गर्दा उद्योगी व्यवसायीहरू निराश अवस्थामा रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन् । 

उनको भनाइमा, राष्ट्र बैंकका केही निर्देशिकाका कारणले गर्दा उद्योगी तथा व्यवसायीहरू ऋण लिन अनिच्छुक देखिएका हुन् । ऋण लिएर नीतिगत झमेलामा पर्न कुनै पनि उद्योगी व्यवसायी चाहेका छैनन् ।

“नेपाल राष्ट्र बैंकले कोभिडपछि व्यवसयीहरूलाई कस्ने खालका नीति ल्याएको छ । यिनै नीतिका कारण व्यवसाय विस्तार गर्ने अवस्था छैन,” उनले बाह्रखरीसित भने, “निजी क्षेत्रमा कर्जा नबढ्नुको मुख्यकारण राष्ट्र बैंकका नीति हुन् । यसलाई सच्याउनुपर्छ । कोभिडभन्दा पहिलेका नीति लागु गर्नुपर्छ ।” 

बैंक तथा वित्तीय संस्थाले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाइरहेका छन् । कात्तिक महिनाका लागि अधिकांश बैंक वित्तीय संस्थाहरूले ब्याजदर घटाएका छन् । बैंकहरूमा प्रशस्त पैसा थुप्रिएर बसेको छ । तर, कर्जा विस्तार हुन सकेको छैन ।
 
नेपाल राष्ट्र बैंकको भदौसम्मको तथ्यांक हेर्दा निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तारमा उत्साह देखिँदैन । राष्ट्र बैंकका अनुसार, भदौ मसान्तसम्म गतवर्षको त्यही अवधिको तुलनामा निजी क्षेत्रतर्फ जाने कर्जा १.४ प्रतिशतले वृद्धि भएको छ । 

कर्जाको माग कम भएकाले बैंकहरूमा प्रशस्त पैसा थुप्रिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताउँछन् । उनका अनुसार, बैंकहरूले निक्षेप संकलन नगरी बसे भने पनि आगामी एक वर्षलाई धान्ने पैसा बैंकहरूमा छ । 

हाल कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, बैंकहरूको सीडी रेसियो अनुपात ८० प्रतिशतभन्दा कम छ । यसले पनि बैंकहरूमा लगानीयोग्य रकम प्रशस्त रहेको संकेत गर्छ । 

तिहारपछि भने निजी क्षेत्रले कर्जा बढाउने आशमा बैंक छन् । “यो समय भनेको ‘फेष्टिभ’ अवधि पनि हो । दसैँ–तिहार भएका कारण पनि कर्जा माग नभएको हुनसक्छ,” अध्यक्ष केसीले भने, “छठपछि भने निर्माण क्षेत्रले गति लिनसक्छ । अर्थतन्त्रलाई चलायमान बनाउने भनेकै निर्माण क्षेत्रले हो ।”

निर्माण क्षेत्र चलायमान भयो भने यससँग धेरै जोडिने र बैंकको कर्जा माग पनि बढ्ने पूर्व बैंकर बिएन घर्ती बताउँछन् । घरजग्गाको कारोबार खुम्चिएकाले पनि अर्थतन्त्रको चक्र नचलेको जस्तो देखिएको उनको बुझाइ छ ।
 
उनको भनाइमा, सहकारीमा समस्या आएका कारण बैंकमा पैसा थुप्रिएको जस्तो देखिएको हो । “कर्जा नबढ्नुमा मुख्य त घरजग्गा कारोबार पनि हो । हाम्रो अर्थतन्त्र मुख्यतः घर निर्माणसँग पनि जोडिएको रहेछ । नयाँ घर बनाउने काम कम भएको जस्तो पनि लाग्छ,” घर्तीले भने । 

युवा जनशक्ति पलायन हुने र उनीहरू उतै सेटल हुन लाग्दा पनि त्यसको असर पर्न थालेको उनी बताउँछन् । पहिले पहिले विदेशबाट नेपाल भित्रिएको रेमिट्यान्स घर–घडेरी किन्ने तथा नयाँ घर बनाउनेमा जाने गरेको थियो । उनी भन्छन्, ‘‘त्यो अवस्था यतिखेर देखिँदैन । साना तथा मझौला उद्यमीहरू पलायन हुने अवस्थामा पुगेका कारण पनि यो अवस्था सिर्जना भएको हो ।’’

तर, अर्थतन्त्र सुस्त अवस्था सिर्जना हुनुमा मुख्य दोषी राजनीतिक नेतृत्व र राष्ट्र बैंक भएको व्यवसायीको आरोप छ । राजनीतिक नेतृत्वले आर्थिक विकासलाई प्राथमिकता दिन नसक्दाको परिणाम अर्थतन्त्रमा देखिएको नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको घरेलु तथा साना उद्योग समितिका सभापति तथा कोसी प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्का बताउँछन् ।

“बैंकको ब्याजदर घटिरहेको छ । तर पनि व्यवसायीहरू सकारात्मक छैनन्,” खड्काले भने, “नेपालमा लगानीको वातावरण नभएकै कारण पुँजी पलायन भइरहेको अवस्था छ । ऋण लिएर व्यवसाय बढाउने पक्षमा कोही पनि देखिँदैनन् ।” 

खड्काकै भनाइसँग मिल्दोजुल्दो बोली परिसंघका अध्यक्ष अग्रवाल पनि छ । उनी भन्छन्, “हामीले पहिलेदेखि नै भन्दै आएको हो, वर्किङ क्यापिटल गाइडलाइन्स आइटी, टुरिजम, हाइड्रो, कृषि क्षेत्रमा आवश्यक छैन । यी बाहेक घरजग्गा र सेयरको जोखिमभार पनि हटाउनुपर्छ ।”

तर, राष्ट्र बैंककै नीतिले व्यवसायीलाई असहजता सिर्जना नगरेको पूर्वबैंकर भुवन दाहाल बताउँछन् । मानिसमा आत्मविश्वास नभएका कारण विदेशिने दर बढेको र त्यसले केही मात्रामा अर्थतन्त्रमा असर गरेको उनको भनाइ छ ।

“राष्ट्र बैंकको नीतिले निजी क्षेत्रलाई ट्रयाकमा ल्याएको छ । अर्थतन्त्रम शिथिलता आउनुमा राष्ट्र बैंककै नीति कारक हो भन्न उचित हुँदैन,” दाहालले बाह्रखरीसित भने, “बैंक तथा वित्तीय संस्था नै एक्टिभ भएका भए वर्किङ क्यापिटल गाइडलाइन्स चाहिँदैन थियो । यो निर्देशिकाले केही हदसम्म काम गरेको छ ।”

मुख्यगरी निर्माण क्षेत्र शिथिल हुँदा अर्थतन्त्रमा प्रभाव पर्ने भएकाले यसलाई गति दिनुपर्नेमा अर्थशास्त्रीहरूको जोड छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म निर्माण क्षेत्र १३.४ प्रतिशतले खुम्चिएको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro