site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अब जलनका कस्ता उपचारमा शुल्क लाग्दैन ? कृत्रिम अंग पनि उपलब्ध गराइने !

काठमाडौं । सरकारले सातवटै प्रदेशबाट जलनको निःशुल्क उपचार सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च बेहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको हो ।

निःशुल्क उपचारबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेको कार्यविधि मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको हो । आगामी महिनादेखि नै सातै प्रदेशबाट सेवा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । अहिले केन्द्रीयस्तरमा वीर, पाटन, टिचिङ अस्पतालबाट जलनको निःशुल्क उपचार सेवा प्रवाह भइरहेको छ । 

यस्तै, निजीतर्फ कीर्तिपुर अस्पतलाले बर्न उपचार केन्द्रको रूपमा सेवा दिइरहेको छ । सुष्मा कोइराला मेमोरियल अस्पतालमा पनि जलनको उपचार हुँदै आएको छ । 

के छ कार्यविधिमा ?

जलनको उपचार निःशुल्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कार्यविधिमा वीर अस्पतालले केन्द्रीय अस्पतालको सेवा दिने उल्लेख छ ।

प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, धनगढीले जलनको उपचार सेवा दिने छन् ।

कस्ता कस्ता उपचार निःशुल्क हुन्छन् ?

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, जलनको प्राथमिक उपचारदेखि अंगभंग भएकाको समेत उपचार निःशुल्क गर्ने कार्यविधिमा उल्लेख छ । जसमा इमर्जेन्सी सेवा, सामान्य जलनका बिरामीको प्राथमिक उपचार, आईसीयूबाट हुने उपचार, शल्यक्रिया, अंगभंग भएमा कृत्रिम अंग र अत्यावश्यक भागहरूमा प्लास्टिक सर्जरीसम्मको उपचार समेटिएको छ ।

नेपालको हकमा प्लास्टिक सर्जरी र कृत्रिम अंग निकै महँगो उपचार विधि मानिन्छ । तर, आवश्यकता र औचित्य हेरेर यी सेवाहरू पनि निःशुल्क गरिने डा. बुढाथोकीले बताए । 

“अनुहार वा अन्य अंगमा असर नै पर्ने गम्भीर अवस्था भए प्लास्टिक सर्जरी पनि निःशुल्क हुन्छ । तर, राम्रो देखिनकै लागि गरिने कस्मेटिक सर्जरी चाहिँ निःशुल्क हुँदैन,” उनले भने ।

जटिल प्रकारको जलनको शल्यक्रिया तथा जीवनयापनसम्मको उपचार पद्धति निःशुल्क हुने कार्यविधिमा उल्लेख छ । त्यसैमा अंगभंग भएमा कृत्रिम अंग जोड्ने पनि समेटिएको छ । 

कुन अस्पतालबाट कस्ता सेवा ?

जलनको निःशुल्क उपचार गर्न बनेको कार्यविधिमा प्रमुख अस्पतालको रूपमा वीरले सेवा दिने उल्लेख छ । यसबाहेक प्राथमिकदेखि शल्यक्रिया, आईसीयूलगायत सेवा प्रदेशस्तरबाटै दिइने छ । 

प्रदेश अस्पतालहरूमा हाल भएका जनशक्ति थप गरी छात्रवृत्तिका चिकित्सक तथा अन्य विशेषज्ञहरू पनि केन्द्रले पठाउने गरी गृहकार्य गरिएको प्रवक्ता बुढाथोकीले बताए । 

कीर्तिपुर अस्पतालमा हाल भएको चाप कम गर्न वीर अस्पतालमा भर्खरै पुनः सञ्चालनमा आएको जलन उपचार केन्द्रलाई अझै सक्रिय गराउने मन्त्रालयको योजना छ । केन्द्रले गएको भदौ २८ गतेदेखि १० वटा जनरल बेड, पाँच आईसीयू र तीनवटा अप्रेशन थिएटरमार्फत सेवा दिन थालेको छ ।

यसबाहेक पाटन अस्पताल, त्रिवि शिक्षण अस्पतालमा हाल सञ्चालन भइरहेको सेवालाई अझै चुस्त दुरुस्त बनाउने मन्त्रालयको योजना छ । प्रदेशस्तरीय अस्पतालबाट हुन नसकेको उपचारका निम्ति यिनै अस्पतालमा रिफर गरिने छ ।

जलनको उपचारका निम्ति सरकारी अस्पताललाई नै प्राथमिकतामा राखेर कीर्तिपुर अस्पतालसँग कार्यविधिअनुसार छुट्टै सम्झौता गरिने प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

कसरी गर्छ मन्त्रालयले बजेट व्यवस्थापन ?

चालु आर्थिक वर्षमा जलनको निःशुल्क उपचारका निम्ति झन्डै साढे नौ करोड रुपैयाँ बजेट छुट्याउनुपर्ने मन्त्रालयको अनुमान छ । सो रकम मन्त्रालयले आफ्नै बजेटबाट खर्च गर्ने तयारी गरेको छ । आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि रकमान्तर गर्न मिल्ने बजेट जलनको उपचार सेवामा खर्च गर्ने मन्त्रालयको योजना छ । 

आगामी आर्थिक वर्षदेखि भने बजेटमा नै पार्ने गरी अर्थ मन्त्रालयसँग सहमति भएको बुढाथोकीले बताए । यसबाहेक प्रदेशस्तरका अस्पतालले दाताको सहयोग पनि लिन सक्ने गरी कार्यविधि बनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro