site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सहकारी बचत अपचलनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आउने अनुमान धेरैले गरेकै थिए । प्रहरीले दसैं सकिएलगत्तै लामिछानेलाई काठमाडौंमा पक्राउ गरी पोखरा पुर्‍याएर कास्की जिल्ला अदालतमा प्रस्तुत गरेको छ ।

यति सामान्य कानुनी प्रक्रियालाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले भने अतिरञ्जित बनाउने प्रयास गरे । लामिछानेलाई पक्रन प्रहरी नजाँदैदेखि काठमाडौंमा नेता कार्यकर्ता भेला भएर नारावाजी गर्न थालेका थिए भने सडकबाट पोखरा जाँदा राति बाटामा पर्ने केही स्थानमा समेत नारावाजी गरिएको थियो ।

राजनीतिक दलका नेताले प्रदर्शन गरेका यति ‘चटक’ सायद स्वाभाविक पनि मानिएला । नेपालजस्ता कमजोर लोकतान्त्रिक संस्कार भएको मुलुकमा विधिको शासनको सम्मान भन्ने त हात्तीको दाँत न हो । रास्वपाका नेता र कार्यकर्ता पनि त्यसमा अपवाद भएनन् ।

प्रहरीले अदालतबाट अनुमति लिएरै पक्रेको हो । पक्रेको निश्चित समयभित्र  प्रहरीले अदालतमा प्रस्तुत पनि गर्नुपर्छ । यसमा अहिलेसम्म प्रहरीले प्रक्रिया मिचेको पनि देखिएको छैन । यसैले अहिले रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै गरिएको प्रदर्शन अराजक उन्मादजस्तो मात्र देखिएको छ ।

पूर्वगृहमन्त्री भएबापत रवि लामिछानेले केही सुविधा पाउलान् तर नेपालको संविधानले कसैलाई पनि ‘विशेष’ र ‘मामुली’ बनाएको छैन । संविधानको धारा १८ को उपधारा ९१०मा स्पष्ट लेखिएको छ ( “सबै नागरिक कानुनका दृष्टिमा समान हुनेछन् ।” यसैले लामिछानेले पनि प्रचलित कानुन र कानुनी प्रक्रियाको पालना गर्नै पर्छ ।

रवि लामिछानेलाई पोखरा पुर्‍याइएलगत्तै सुरुभएको विरोध प्रदर्शन आइतवार अदालतमा प्रस्तुत गर्ने बेलामा समेत जारी नै रहेको छ । सहकारी पीडितहरूको एउटा केन्द्र पनि रहेको पोखरामा लामिछानेको पक्राउको समर्थनमा पनि जुलुस निस्केपछि मुठभेडको आशंकाले स्थानीय प्रशासनले निषेधाज्ञा नै जारी गर्नुपर्‍यो  । 

छोटो समयका लागि नै भए पनि रवि लामिछाने दुईपटक मुलुकको गृहमन्त्री भइसकेका व्यक्ति हुन् । यसैले पनि उनले कानुनी प्रक्रियाको सम्मान गर्ने र अराजकता बढ्ने क्रियाकलाप नगर्ने अपेक्षा गरिनु  अस्वाभाविक होइन । तर, सडकबाटै सरकार ढाल्न कार्यकर्तालाई उनले गरेको आह्वानले उनी अराजकताका पक्षमा देखिन पुगेका छन् ।

आशा गरौँ, आवेग मत्थर भएपछि रास्वपाका नेता कार्यकर्ता र स्वयं सभापति लामिछानेले संयमित भएर अहिलेको घटनाक्रमको समीक्षा गर्नेछन् । विशेषगरी लामिछानेको पक्राउ उनको मात्र होइन सिंगो रास्वपाको पनि ‘अग्निपरीक्षा’ हो । सभापति लामिछानेभन्दा पार्टी महत्त्वपूर्ण हुन्छ भन्ने हेक्का राखिनेछ !

रास्वपा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित हुन्छ कि विधिको सम्मान नगर्ने अराजक ‘फासिस्ट’ संगठन बन्ने हो भन्ने उसको अहिलेकै व्यवहारले निर्धारित गर्नेछ । उग्रता र अराजकताबाट क्षणिक लाभ भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा हानि नै हुन्छ । अहिलेको उग्र अराजकता कतै रास्वपाकै लागि ‘बुमर्‍याङ’ नहोस् ! 

        
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro