site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुन दल फुटाउन खोज्दैछ सरकार ? अध्यादेशको तयारी छ !

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको त्रास प्रतिपक्षी दलहरूमा देखिएको छ  ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बोलाएको विपक्षीहरुको बैठकमा अध्यादेश ल्याउन लागेको आशंका दलहरूले गरेका हुन् ।  

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले दलहरु विभाजनका लागि अध्यादेश ल्याउन लागेको आशंका आफूहरूलाई भएको बताए ।  “आफ्नै पार्टीको दुई तिहाइको सरकार भएको बेलामा पनि अध्यादेशबाट काम भएको थियो । यो पालि पनि गम्भिर आशंका छ,” उनले सञ्चारकर्मीसँग भने । 

सत्ता वा विपक्षमा भएका साना दल विभाजन गर्न खोजिएको आशंका उनको छ ।   नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले त्यस्तो नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई खबरदारी गर्ने बताए । 

Dabur Nepal
NIC Asia

“अध्यादेश ल्याएर साना पार्टीलाई टुक्रयाउने, कमजोर बनाउने भूमिका हुन खोज्दैछ भन्ने चर्चामा छ । त्यो बारेमा विरोध गर्छौं । त्यस्तो क्रियाकलाप भयो भने सहदैनौं भन्ने जानकारी सरकारलाई गराउँछौं,” पाण्डेले भने । 

अहिले दल विभाजन गर्न अध्यादेश चाहिन्छ ?

दल विभाजनका लागि अहिले अध्यादेश चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्न खडा भएको छ ।  नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बन्नुअघि प्रचण्ड प्रधानमन्त्री रहेका बेला जसपा नेपाल विभाजन भएको थियो । 

उपेन्द्र यादव नेतृत्वको जसपा दल विभाजन सम्बन्धी ऐन शून्यताको अवस्थामा विभाजन भएको थियो ।  ऐन शून्यताको अवस्थामा आयोगले ०७८ भदौ ४ गते राजपत्रमा प्रकाशित भएको नियमावलीलाई आधार मानेको थियो । 

१२ मध्ये ७ सांसदको साथ पाएपछि अशोक राईको नेतृत्वमा जसपा गठन भएको थियो । 

आयोगले दल दर्ताको निवेदन दिएको २४ घण्टा नबित्दै दल दर्ताको प्रमाणपत्र थमाएको थियो । पार्टी विभाजनविरुद्ध सर्वोच्चमा रिट छ । विभाजनबारे रिटबारे कुनै आदेश आइसकेको छैन ।   जसपा नेपाल विभाजनको नजिरले अहिले अध्यादेश नै आवश्यक नभएको निर्वाचन आयोगका पदाधिकारी बताउँछन् । 

अध्यादेशबारे सरकारको तयारी सम्बन्धमा आफूहरूलाई कुनै जानकारी नभएको उनी बताउँछन् ।

“जसपा नेपाल विभाजन गरेको नियमावली अहिले पनि ज्युँदै छ त ! एउटा पार्टी दर्ता गरेपछि अर्को दर्ता गर्न पाइएन भन्न आयोगले मिल्दैन । अदालतमा मुद्दा भए पनि कुनै आदेश आएको अवस्था छैन । त्यतिन्जेल त्यसबाटै दल विभाजनको प्रक्रिया अघि बढाउन सकिन्छ । अहिले अध्यादेशको आवश्यकता नै छैन,” ती पदाधिकारीले बाह्रखरीसँग भने ।

पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती पनि अहिले अध्यादेश ल्याउन नहुने बताउँछन् । 

“नियमावलीका आधारमा एउटा दल दर्ता भयो । ऐन त सबैका लागि ल्याउने हो । दल दर्ताबारे परेको रिट विचाराधीन अवस्थामा छ । त्यसबारे आदेश नभएको अवस्थामा अध्यादेश ल्याउन मिल्छ भन्ने लाग्दैन,” उनी भन्छन्, “ अध्यादेश आएमा त्यसविरुद्ध रिट पर्न सक्छ ।”

संसद्ले नयाँ ऐन ल्यायो भने नियमावली स्वतः निष्क्रिय हुने भनाइ उनको छ ।  “दलैपिच्छे डबल स्टान्टर्ड गर्नुहुँदैन । राजनीतिमा अनेक खेल हुन्छन नि !,” उनले बाह्रखरीसँग भने ।

एक कानुनका जानकारले भने नियमावली पनि निष्क्रिय भएको भन्ने विवादलाई काउन्टर दिन अध्यादेश ल्याउने खोजिएको हुन सक्ने बताए । 

“ऐन निष्क्रिय हुँदा नियमावली पनि निष्क्रिय भयो भन्ने विवाद छ । नियमावलीबाट दल दर्ता मिल्छ कि मिल्दैन भन्ने विवाद छ । अध्यादेश नै ल्याएपछि नियमवाली स्वतः निष्क्रिय हुन्छ भनेर काउन्टर दिन खोजिएको होला,” ती कानुनविद्ले भने । 

किन निष्क्रिय भएको थियो विभाजनको कानुन ?

०७७ वैशाख ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश जारी गरेका थिए ।  अध्यादेशमा केन्द्रीय सदस्य वा संसदीय दलको ४० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको थियो । 

जसको चौतर्फी विरोधपछि ओली फिर्ता लिन बाध्य भएका थिए । उक्त अध्यादेशअनुसार कुनै दल विभाजन भने भएनन् । त्यसको १५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन गर्न झनै सजिलो हुने गरी अध्यादेश जारी गर्‍यो । 

२०७८ भदौ १ गते राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश), २०७८ जारी भएको थियो । सो अध्यादेशमा दल विभाजनका लागि संसदीय दल र केन्द्रीय कमिटीका ४० प्रतिशत सदस्य अनिवार्य चाहिने व्यवस्थामा संशोधन गर्‍यो । 

संसदीय दल र केन्द्रीय कमिटीमध्ये एकमा २० प्रतिशत सदस्य भएमा पार्टी विभाजन गर्न सकिने प्रावधान राखियो ।

तत्कालीन नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूह र जनता समाजवादी पार्टी (जसपा) विभाजित गर्ने सहजताका लागि सरकारले अध्यादेश ल्याएको थियो । त्यही अध्यादेशका आधारमा एमाले र जसपासहितका केही दल विभाजित भए ।

सोही प्रावधानमा टेकेर एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि माधवकुमार नेपालले भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिए ।  जसपाबाट अलग्गिएर नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि महन्थ ठाकुरले पनि निवेदन दिएका थिए ।

निर्वाचन आयोगले एक सातापछि अर्थात् भदौ ९ गते ती दुई दललाई दर्ताको प्रमाणपत्र दियो ।  नयाँ दलले मान्यता पाएपछि सरकारले उक्त अध्यादेश खारेज गर्‍यो । २०७८ असोज ११ गते अध्यादेश खारेज गरिएको थियो ।
अध्यादेश खारेज गरिएपछि नयाँ व्यवस्था खोरज भयो । 

तर, सरकारले न प्रतिस्थापन विधेयक ल्यायो, न त पुरानोको व्यवस्था संशोधन नै गर्‍यो । यी दुई काम नगर्दा दफा ३३ निष्क्रिय रहेको थियो ।  सरकारले पहिलेकै कानुन सक्रिय पार्न विधेयक पेश गरेको थियो । तर, अघि बढ्न नसकेको अवस्थामा नियमावलीमा टेकेर दल विभाजन भएको थियो । 

सरकारले सदनमा टेबल गरेको विधेयकमा दल विभाजनका लागि केन्द्रीय सदस्य र संसदीय दलमा समान ४० प्रतिशत चाहिने पुरानै व्यवस्था ब्युँताउन लागिएको थियो ।  तर, जसपा नेपाल विभाजन भएपछि दोहोरो कुरा हुने भन्दै विधेयक सरकारले फिर्ता लिएको थियो ।

एकीकृत समाजवादी र लोसपा फुटाउन भने अध्यादेश चाहिन्छ !

एमालेबाट विभाजित दल एकीकृत समाजवादी विभाजनको चर्चा चलेको लामै समय भइसकेको छ ।  एमाले– माओवादी गठबन्धनका बेला प्रचण्ड नेतृत्वको सरकारले नै एकीकृत समाजवादी फुटाउने कसरत भएको थियो । 
तर, सरकारले अध्यादेश ल्याउने आँट भने गरेन । 

एकीकृत समाजवादी ०८३ भदौसम्म विभाजन गर्न कानुनले रोक्छ ।  राजनीति दल सम्बन्धी दफा ३३ को ३ मा विभाजित दल पाँच वर्षसम्म फुट्न नपाइने प्रावधान छ ।  सोही कारण दल विभाजनको पटक–पटकको प्रयास रोकिएको हो । 

अघिल्लो सरकारले नै राष्ट्रिय मान्यता प्राप्त नभएको दल भने विभाजन गर्न सक्ने प्रावधान राखेर फुटाउने तयारी गरेको थियो । “पहिले पनि विभाजनको हल्ला र प्रयास भएका हुन् । हल्ला चलिरहन्छ,” आयोग स्रोत भन्छ । 

पाँच वर्षसम्म रोकिने प्रावधान हटाउनका लागि भने अध्यादेश ल्याउनुपर्ने बहस चलेको नेताहरु बताउँछन् ।  त्यस्तै जसपाबाट विभाजित भएरसँगै गठन भएको लोकतान्त्रिक पार्टीलाई पनि सोही प्रावधान बाधक बनेको नेताहरुको भनाइ छ । 

विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल र महन्थ ठाकुरले अध्यादेश आउन सक्ने भन्दै रोक्नुपर्ने बताएका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro