प्रमुख प्रतिपक्षी नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा विपत्तिमा सरकारी उपस्थितिमा असन्तुष्ट छन् । विपत्तिका बेला सरकार छ कि छैन भन्ने अवस्था आउनु दुःखदायी भएको टिप्पणी गर्छन् । बरु विपत्तिमा नागरिक तात्यो, सरकार हरायो भन्ने निष्कर्ष सुनाउँछन् उनी । पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष तथा प्रवक्ता सापकोटासँग हालैको विपत्ति, सरकार र प्रतिपक्षीको भूमिकाबारे बाह्रखरीका कुन्जरमणि भट्टराईले गरेको कुराकानीको संपादित अंश ।
ठूला दुई दलको सरकार बनेको ९० दिन पुग्न लागेको छ, सरकारको कार्यशैली–क्रियाकलापप्रति तपाईंहरू कसरी विश्लेषण गर्दै हुनुहुन्छ ?
यो सरकार बनेपछि सुरुवातमै राम्रो संकेत देखिएको थिएन । सरकार बनेलगत्तै भ्रष्टाचारविरुद्धका अभियान अवरुद्ध गर्ने खालका गतिविधि देखिए । विद्युत् बक्यौता असुलीमा विवाद आयो । भ्रष्टाचारमा पनि ढाकछोप गर्ने खालको गतिविधि देखिए । अर्थात् सुशासनको मामिलामा सुरुवातदेखि नै त्यति राम्रो संकेत थिएन ।
असोजको पहिलो साता नै जल तथा मौसम विज्ञान विभाग, विज्ञ, विशेषज्ञले भारी वर्षा हुन्छ भनेकै थिए । त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएन । बाढी–पहिरोका संकटका बखत सरकार अनुपस्थित जस्तै रह्यो । सरकारलाई आफ्नो काम देखाउने ठूलो अवसर थियो । परीक्षामा सरकार फेल भयो । सत्तारुढ पार्टीकै नेताले सरकार पूर्णतः असफल भएको टीकाटिप्पणी गरिराखेकै छन् । जनसाधारणले सरकारको अनुभूति गर्न पाएनन् ।
सरकारका कुरा सुनियो, विपत्तिमा हेलिकोप्टर उडाउन ‘भिजिविलिटी’ भएन रे ? वैज्ञानिक अध्ययन, अनुसन्धान गरेर दिएको जानकारीलाई नेता, प्रशासकले आत्मसात गर्न सकेनन् । विज्ञानमाथिको यति ठूलो अनादार, अनविज्ञता, नवप्रवर्दनप्रति गाम्भीर्यता नभएको देखियो । सरकारमा बस्नेहरूको विवेक, चेतनाशून्य जस्तो भएको छ । सय दिन नै नपुग्दै सरकार आफ्नै रवैया, असफलताका कारणले विपत्तिमा जनताले दुःख पाइरहेका छन् ।
सरकारले विपत्तिमा समेत केही गर्न सकेन भन्न खोज्नुभएको हो ?
एकातिर सरकार सञ्चालन गर्ने प्रधानमन्त्री, मन्त्री विपत्तिका बेला वेखबर भए, अर्कातिर प्रशासनतन्त्र र सुरक्षा संयन्त्र पनि आफ्नै धुनमा देखिए । सुरक्षा निकाय पनि अल्मलिएको जस्तो देखियो । स्रोत–साधानको कमी भएको भनाइ आयो र समन्वय नभएको कुरा त प्रष्ट देख्यौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका हुनुहुन्थ्यो । अरु राष्ट्रका प्रमुख भ्रमण छोट्याएर पनि फर्किए । तर, हाम्रो देशको प्रधानमन्त्रीले त्यो आवश्यक महसूस गर्नुभएन । उल्टो उहाँले त्रिभुवन विमानस्थलमा पत्रकारहरूको प्रश्नमा दिएको जवाफले चहर्याइरहेको घाउमा नुनचुक लागेको जस्तो भयो । चौतर्फी आलोचना भएपछि तयारीमा चुक्यौँ भन्ने ‘करेक्सन’को भाव देखिएको छ । ‘करेक्सन’ चाहिँ हुन्छ कि हुँदैन ।
विपत्तिलगत्तै सरकारले सर्वदलीय बैठक बोलाउनेलगायत काम गरेकै थियो, सरकारले प्रयत्न गर्न खोजेको थियो होइन र ?
विपत्तिका बेला सरकार पूरै अल्मलिएको अवस्थामा थियो । हाम्रा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाउनुभयो । सर्वदलीय बैठक बोलाएको सूचनाबाहिर गएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक बोलाउनुभयो । त्यसपछि अध्यक्षले बोलाएको बैठक स्थगित गरियो । सरकारले बोलाएको बैठकमा हामी सहभागी भयौँ । त्यहाँ आफ्ना कुरा प्रष्टसँग राखेका थियौँ ।
पार्टीको तर्फबाट देशैभरी जनवर्गीय संगठन, मोर्चा, समर्थक, शुभचिन्तक, आम जनसमुदायलाई पनि विपत्तिका घडीमा मिलेर पीरमर्कामा मलपट्टी लगाउने र आफ्नो ठाउँबाट गर्नसक्ने जति सबै गरौँ भनेर अपिल पनि गरेका हौँ । बढी क्षति भएको बल्खु, नख्खु, भक्तपुर, काभ्रेको भ्रमणबाट प्राप्त भएका शिक्षा जानकारीसहित खबरदारी गरेका छौँ । प्रधानमन्त्रीलाई भेटेर हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्षसहितको टोलीले ध्यानाकर्षण गराएका छौँ ।
खबदारी गर्दा पनि त्यति सुधार आएन । नियमित रूपमा जिल्ला प्रशासकले गरेका कुरामा यहाँ बाटो खुल्यो भनेर एउटै कुरामा तीन–चार पटक ट्विट गर्नेबाहेक त्यस्तो धेरै पहलकदमी देखिएको छैन । जबकि युद्धस्तरमा पहलकदमी आवश्यक छ । कहाँ, कति, के भएको छ ? अझै जानकारीमा आएको छैन । उद्दार, राहतको आवश्यकता त छँदैछ । पुनस्थापना, पुनर्निर्माण सबैभन्दा बढी प्राथमिकतामा राखेर गर्नुपर्ने स्थिति छ ।
दुई हिताइको सरकार हुँदा नि जनताको दुःख–मर्का सुन्ने मामलामा अलि सुस्त भएको छ टिप्पणी भइरहेको छ । तपाईंहरूले कसरी हेर्नुभएको छ ?
पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएपछि अधिनायकवादको दिशातिर जान्छ भनेर टिकाटिप्पणी भएको थियो । जनताका आवाज सुनिँदैनन् कि भन्ने आशंका बुद्धिजिवीहरूले गरेका थिए । त्यो प्रमाणित भएको जस्तो लाग्छ । जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ, दुई तिहाइको बहुमत छँदैछ भन्ने खालको अभिमान देखिएको छ ।
दुवै पार्टीका कार्यशैली देखेकाहरूले आशाभन्दा बढी आशंका गरेका थिए । मुलुक अस्थिर भयो, स्थायित्व दिने भनेपछि भइहाल्छ कि भन्ने कतिपयलाई लागेको थियो । त्यो उल्टो भयो । हामीलाई कसले हल्लाउन सक्छ र भन्ने उदेकलाग्दो देखियो । केही प्रशासक विपत्तिका बेला फूलमालामा देखिए । केही चाहिँ भ्रमणमा गएका निश्चित कार्यक्रमपछि पनि उतै हराइरहेका देखिए । यस्तो हुँदैछ भनेपछि सम्बन्धित संस्थाका मान्छे पनि सयरमा रमाएको देखियो । लज्जास्पद स्थिति भयो ।
प्रधानमन्त्रीले नै पहिरो कहाँ आउँछ, के थाहा ? भन्ने खालका कुरा गरेको समेत सुनियो । मुख्य कुरा नेतृत्वको हो । पूर्वजानकारी गराएपछि पहिले नै बैठक राखेर ‘हाइअर्लट’मा बसेको भए धेरै कम क्षति हुन्थ्यो । विषयलाई गम्भीरतापूर्वक आत्मसात गरेको देखिएन ।
सरकारले के गर्नुपथ्र्याे ?
जनतालाई विश्वासमा लिने ठूलो अवसरबाट चुक्यो । पहलकमी लिने, निर्देशन दिने कुरामा सरकार चुक्यो । जनता आफैँ उद्दार राहतमा लागे । चणिकलाल तामाङले त ऐतिहासिक काम गरे । त्यस्तो भेलमा फाल हानेर दुईजनालाई उद्धार गर्नुभयो । एकातिर नेपालीमा रहेको अद्भूत साहस, अर्कोतिर सरकार निर्लज देखियो ।
सरकारले राम्रो योजना, पहलकदमी लिन्छ भने वैज्ञानिक वस्तुवादी योजनामा रचनात्मक, सिर्जनात्मक ढंगले सघाउन हामी तयार छौँ । सरकारको मूल र निर्णायक भूमिका हुन्छ । प्रतिपक्षी, सबै पार्टी मिली दुःख परेका जनतालाई सघाउन सकिन्छ भने गर्ने हो । प्रवासका जनसंगठनलाई भर्चुअल माध्यमबाट बैठक गरी आर्थिक, भौतिक सहयोग गर्नुहोला भनेर अपिल गरिरहेका छौँ ।
राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट पहलकदमी गरिरहेका छौँ । जनताका अधिकतम हितमा केन्द्रित हुँदै योजनामा पूर्ण रुपमा सरकारलाई सघाउन तयार छौं ।
सरकारले युद्धस्तरमा पहलकदमी लिनुपर्छ, होइन भने उहाँहरू ढिला हुनुहुन्छ । इतिहासले पाठ सिकाउँछ, पाठ सिक्न बाध्य बनाउँदैन । पाठ सिकेन भने सदाका लागि बजारिन्छ, इतिहास त्यति क्रूर हुन्छ । सत्तामा बस्नेको बेलामै चेत खुलोस् ।