site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चिनियाँ दूतावास भन्छ– दलमार्फत राहत वितरण, दलका प्रतिनिधि भन्छन्– हामीलाई थाहा छैन

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले नेपालका राजनीतिक दलमार्फत राहत सामग्री हस्तान्तरण गरेको विषय चर्चामा छ । बाढीपीडितका लागि सरकारमार्फत नभएर दलमार्फत राहत सामग्री बाँडिएको विषयले आलोचना खेपेको हो । दलहरू राहतका लागि हतारिएको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ ।

शुक्रबार काठमाडौंको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले दलका नेताहरूलाई राखेर राहत सामग्री हस्तान्तरण गरेको हो । सीसीपीले एक करोड ९० लाख ७० हजार रुपैयाँको बराबरको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, नेकपा (एमाले)का गोपाल खनाल, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदी, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव रामकुमार भट्टराईलगायत थिए ।

Dabur Nepal
NIC Asia

चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत राजनीतिक दलमार्फत राहत सामग्री वितरण गरिएकाे उल्लेख गरेको छ । “चिनियाँ कम्युनिस्ट पार्टीले दिएको बाढी राहत सामग्री हस्तान्तरण समारोह आज काठमाडौंमा सम्पन्न भएको छ । हालै आएको बाढी र पहिरोबाट प्रभावित घरपरिवारलाई १९ करोड ७० हजार नेपाली रुपैयाँ बराबरको चामल, कम्बल, खाद्यान्न प्याकेज र दैनिक उपभोग्य लगायतका राहत सामग्री नेपाली राजनीतिक दलहरूमार्फत वितरण गरिएकाे छ,” दूतावासले भनेको छ ।

तर, राहत सामग्री बुझेका नेताहरूले भने आफूहरू साक्षी मात्रै बसेको दाबी गर्छन् । राहत वितरण गरिने घर वडा अध्यक्षले नै निर्क्योल गर्ने बताइएको छ ।

“हामी दलका साक्षी हौँ । राहत सामग्री करिब १२ सय घरमा पुर्‍याउने भनिएको छ । १२ सय घरधुरी वडा अध्यक्षमार्फत छानिएर जान्छन् । ललितपुर र काठमाडौंका पीडितलाई वितरण गरिन्छ,” एकीकृत समाजवादीका कार्यालय सचिव समेत रहेका भट्टराई भन्छन् ।

माओवादीका पोलिटब्युरो सदस्य सुवेदी राजनीतिक दललाई दिएर त्यहाँबाट बाँड्ने भन्ने भ्रम नपार्न आग्रह गर्छन् । “राजनीतिक पार्टीलाई दिएर बाँड्ने भन्ने पहिलेको जस्तो भ्रम नपरोस् । हामी साक्षी बसेका हौँ । संस्थामार्फत राहत वितरण हुन्छ,” उनी भन्छन् ।

राज्यबाट नदिएर भूमिका नै नभएको ठाउँमा जान दलहरू हतारिएका हुन् त ? साक्षी बसेकामध्ये एक नेता भने आफूहरूलाई किन बोलाइयो भन्ने प्रश्न खडा भएको स्वीकार गर्छन् ।

“किन बोलाइयो भन्ने हामीलाई नै लागेको हो । अन्र्योल भएर हामी त गएर फर्कियौँ । राहत के भयो हामीलाई थाहा छैन । किन बोलाइयो भनेर बोल्न पनि मिलेन,” ती नेताले बाह्रखरीसँग भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro