site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस, तीन अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले तीन अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्दै ४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस गरेको छ ।

“आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने तीनवटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखी कारबाही अगाडि बढाइएको छ,” प्रेस काउन्सिलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रेस काउन्सिलले सञ्चारमाध्यममा सम्प्रेषित समाचारहरू पत्रकार आचारसंहिताविपरीत भएको भनी प्राप्त हुने उजुरीको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आएको छ ।

यसक्रममा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा ७६ उजुरी दर्ता गरिएका थिए । २६९ सामग्रीको स्वअनुगमन गरिएको थियो ।

हाल युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीका विषयमा उजुरी र गुनासा बढ्दै गएको प्रेस काउन्सिलले जनाएको छ ।

गएको साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

“मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल )बाट आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा सामाजिक सञ्जाल (युट्युब च्यानल)को अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलको निर्देशनलाई अनदेखा गर्ने त्यस्ता च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जनाइएको छ ।

asdf-1728294331.jpg
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro