site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय समितिमा किन अलपत्र पर्छन् उजुरी ? 
राज्यव्यवस्था तथा सुशासन समिति बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्का विषयगत समितिमा उजुरीका खात लाग्दै छन् । समितिले उजुरी लिने तर समयमै आवश्यक निर्णय नगरी अलपत्र पार्ने अवस्था सिर्जना हुँदै गएको छ ।

जनसरोकारका विषयमा परेका उजुरी संघीय संसद्का समितिले लिने र सरकारलाई आवश्यक निर्देशन दिने अभ्यास छ । जनसरोकारका विषयमा निर्णय गर्न ‘मिनि पार्लियामेन्ट’ चुकेको भन्दै आलोचना पनि हुने गरेको छ ।

०८० जेठ १७ गते प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ०७६ वैशााखपछि दर्ता गरिएका १२१ उजुरी फर्छ्योट हुन बाँकी रहेको विवरण सार्वजनिक गरेको थियो । संसद्को यो कार्यकालयमा लेखा समितिमा ८६ उजुरी परेका छन् ।

Dabur Nepal
NIC Asia

डेडिकेटेट तथा ट्रकलाइन विवादपछि लेखा समितिले उजुरी फर्छ्योटका निम्ति उपसमिति नै बनाएको छ । उक्त उपसमितिमा नेपाली कांग्रेसका तर्फबाट राजेन्द्र केसी, नेकपा (एमाले)का योगेश भट्टराई, नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनीष झा र समिति सभापति ऋषिकेश पोखरेल छन् । उपसमितिमा यसअघिका दुई बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं लेखा समिति सदस्य राजेन्द्र लिङदेनलाई पनि समेटेर ६ सदस्यीय बनाइएको थियो ।

तर, उपसमिति डेडिकेटेट तथा ट्रंकलाइनबारे परेका आठ उजुरीमा नै अल्मलिएको छ । उपसमितिको बैठक पाँचपटक बसिसकेको छ ।

“समितिमा परेका अरू उजुरीमा प्रवेश गर्न सकेका छैनौँ । उपसमिति डेडिकेटेट तथा ट्रंकलाइनबारे परेका उजुरीबारे के गर्ने भन्ने विवादमा नै अल्झिएको छ,” सांसद झाले बाह्रखरीसँग भने ।

विवादित विषयबाहेकका अरू उजुरीमाथि छलफल गर्नुपर्ने धारण आफ्नो रहेको उनले बताए ।

उता, राज्यव्यवस्था तथा सुशासन समितिमा ४० भन्दा बढी उजुरी छन् । उजुरीबारे समितिले कुनै निर्णय लिएको छैन । उजुरी अध्ययनका निम्ति उपसमिति बनाउनेबारे छलफल भइरहेको समितिका सचिव सुरज दुराले जानकारी दिए ।

“समितिमा ४०–५० वटा उजुरी छन् । उपसमिति बनाएर निर्णय गर्ने कुरा भइरहेको छ,” उनले भने ।

यस्तै, पूर्वाधार विकास समितिमा ६५ उजुरी छन् । समितिका सभापति दीपकबहादुर सिंहका अनुसार, राष्ट्रिय गौरव, फास्ट ट्रयाकलगायत विषयका उजुरी छन् ।

ती उजुरी छानबिन गर्न उपसमिति बनाइएको छ । उजुरी प्राप्त भएपछि त्यसबारे सम्बन्धित ठाउँबाट जानकारी माग गरिएको सिंहले बताए ।

“उजुरी आएपछि सम्बन्धित कार्यालय वा मन्त्रालयमा हामीले के कसो हो भनी जानकारी माग गरेका छौँ । त्यसमा धेरैजसो पठाएको छैन । कतिपय जवाफ सम्बन्धित मन्त्रालयबाट आएको छ । सत्यतथ्य के कति हो भनेर आएका ठाउँमा सम्बन्धित मन्त्रालय, विभागलाई छिनोफानो गर्न निर्देशन दिएका छौँ,” उनले भने । समितिले छानबिन उपसमितिको निष्कर्षका आधारमा निर्णय गर्ने गरेको छ । 

किन अलपत्र पर्छन् उजुरी ? 
समितिले उजुरी लिए पनि कार्यक्षेत्र समस्याका कारण अलपत्र पर्ने गरेका छन् । पूर्वाधार समितिका सभापति सिंहले भने, “कुनै सरोकार नभएका पनि आउँछन् । खोलाको गिटी–बालुवाबारे क्रसर व्यवसायीको उजुरी छ । त्यो समितिको क्षेत्राधिकारभित्र पर्दैन । त्यसबारे उहाँहरूलाई जानकारी गराएका छौँ ।”

सरकार छोटो अवधिमा फेरिने, मन्त्रीहरू परिवर्तन हुने विषयले पनि निर्णयका निम्ति मागिएका जानकारी प्राप्त नहुने समस्या छ । निर्णय गरिए पनि कार्यान्वयनमा समस्या हुने गरेको उनको भनाइ छ ।

राज्यव्यवस्था समितिका सचिव दुरा अदालतमा गएको विषयमा उजुरी पर्ने भएकाले पनि निर्णयमा समस्या हुने गरेको बताउँछन् । “केही उजुरी लामो समय लगाएर अनुसन्धान गर्ने खालका छन्, केही व्यक्तिविशेषका छन्,” उनले भने, “कुनै अप्ठ्यारा हुन्छन् । अदालतमा फैसला भइसकेका कुरामा पनि कारबाही गर्नुपर्‍यो भनेर पीडितका निवेदन आएका छन् ।”

रास्वपाका सांसद झा लेखा समितिको सभापति सत्तापक्षले राखेर प्रश्न उठाउन नदिने वातावरण बनाएको जिकिर गर्छन् । “संसदीय अभ्यासानुसार लेखा समितिको सभापति पतिपक्षी हुन्छ । लेखा समिति सरकारको अडिटर हो । त्यो पनि सत्तापक्षको हुँदा यस्तै हुन्छ । यसलाई निष्क्रिय बनाउने, सरकारको काममा प्रश्न उठाउन नदिने बनाइएको छ,” उनले भने ।

एउटै उजुरी धेरै ठाउँमा दिँदा अन्योल 
उजुरी कति ठाउँमा दिन पाइने भन्ने तोकिएको छैन । एउटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, संघीय संसद्का समितिमा पनि दिइएको पाइन्छ ।

एउटै उजुरी धेरै ठाउँमा दिँदा थप अध्ययनका निम्ति समय लाग्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरी बताउँछन् । लेखा समितिका सचिव समेत रहेका गिरीले एउटै उजुरी १८ ठाउँमा दिइएको देखिएको सुनाए ।

उनले भने, “उजुरीकर्ताले एउटै उजुरी धेरै ठाउँमा पठाउनुहुन्छ । एकपटक अध्ययन गर्दा १८ ठाउँमा समेत एउटै उजुरी गएको देखियो ।”

अरू निकायमा पनि गइसकेपछि कुनैले केही निर्णय गरे÷नगरेको थाहा हुँदैन । उजुरी निष्कर्षमा पुगिसकेको वा फर्छ्योट नै भइसके पनि समितिलाई थाहा नहुन सक्छ ।

उनले भने, “थप अध्ययन गर्दा समय लाग्न सक्छ । जति बढी ठाउँमा उजुरी दिइन्छ, त्यसले अन्योल सिर्जना गर्छ ।”

राज्यव्यवस्था तथा सुशासन समितिका सचिव दुरा बोधार्थ दिएर आएका उजुरीबारे सम्पर्क गर्न नभ्याइएको बताउँछन् । “समितिमा बोधार्थ दिइएका उजुरीहरू छन् । मुख्य ठाउँमा अन्यत्र भएकाले फर्छ्योट भइसक्यो कि भन्ने पनि हुन्छ । हामीले सम्पर्क गर्न भ्याएका पनि छैनौँ,” उनले भने ।

संसद् सचिवालयका प्रवक्ता गिरी जनसरोकारका विषयमा समितिले सरकारलाई निर्देशन दिने काम गरिरहेको बताउँछन् । समितिले कार्यक्षेत्र र गाम्भीर्यता हेरेर अघि बढाउने गरेको भनाइ उनको छ ।

“जनसरोकारको विषयमा संसद्का विषयगत समितिले उजुरी प्राप्त गर्छन् । उजुरी प्राप्त भइसकेपछि आफ्नो कार्यक्षेत्रका रहेछन् भने अगाडि बढाउने र निष्कर्षमा पुर्‍याउन सरकारलाई निर्देशन गर्ने हो,” उनले भने ।

उनको भनाइमा, धेरैभन्दा धेरै नागरिकले प्रतिफल वा लाभ पाउने गरी समितिले काम गरिरहेका हुन्छन् । व्यक्तिगत रूपमा आएका उजुरीले कम प्राथमिकता पाउँछन् । तर, नीतिगत रूपमा सरकारलाई निर्देश गर्नुपर्ने विषय रहेछ भने समितिले अघि बढाएकै हुन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro