site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुकुरले टोकेको भाले खाँदा...
SkywellSkywell

कहिलेकाहीँ कुनै काम नपाएर त्यसै टोलाउँदै मेचमा बसिरहेको बेला झल्याँस्स बिजुली चम्केझैँ विस्मृतिमा लोप भइसकेका, जीवनको कुनै कालखण्डमा घटित घटनाहरू एकपछि अर्को गरेर आउँदा रहेछन् ।

आज त्यस्तै एउटा चाखलाग्दो घटनाको झलक्क सम्झना आयो र त्यसका बारेमा लेखिहालौँ न त भन्ने लहड लाग्यो ।

कुरा सन् १९७३/७४ तिरको हो । त्यस बेला मेरी श्रीमती ब्रिटिसहरूद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलमा अध्यापिकाका रूपमा कार्यरत थिइन् । त्यहाँ अध्यापन गर्ने सबै शिक्षकहरूलाई व्यक्तिगत आवासको प्रबन्ध थियो । म पनि श्रीमतीसँगै त्यहीँ बसेर शंकरदेव क्याम्पसमा प्राध्यापन गर्थेँ ।

KFC Island Ad
NIC Asia

जिन्दगी मजैसँग बितिरहेको थियो ।

एक दिन मेरा पुराना मित्रमध्येका एक उदयवीर गुरुङसँग महाराजगन्जको एउटा पसलमा जम्काभेट भयो । धेरै समयपछि भेट भएकाले हामी दुवै हर्षित भयौँ । यी उनै उदय गुरुङ थिए, जसले कलेज पढ्दा मलाई मोटरसाइकल चलाउन सिकाएका थिए ।

Royal Enfield Island Ad

त्यस बेला काठमाडौंमा भर्खरभर्खर जापानी मोटरसाइकलहरू आउन थालेका थिए । उदयको १२५ सीसीको होन्डा मोटरसाइकल थियो । त्यसैमा उनले मलाई सिकाएका थिए ।

केही क्षण यताउताका कुरा गरेपछि छुट्टिने बेलामा उदयले भने, ‘अरे यार, मेरो घरमा आऊ न ! यहीँ महाराजगन्जमै त छ, तिमीलाई थाहै छ । यसो गफसफ गरौँला । भिडियोमा मुभी हेरौँला । के भन्छौ ?’

‘तिम्रोमा भीसीआर पनि छ ?,’ मैले उत्सुक भएर सोधेँ । त्यस बेला भारतीय फिल्म ‘राम तेरी गंगा मैली’को चर्चा निकै चलिरहेको थियो । मेरी श्रीमती मन्जुलाई पनि त्यो फिल्म हेर्ने रहर थियो ।

‘उसो भए राम तेरी गंगा मैली हेर्न मिल्छ ?,’ मैले ङिच्च हाँस्दै भनेँ ।

‘किन नमिल्नु ?,’ उदयले हाँस्दै जवाफ दिए, ‘मसँग त्यसको भिडियो क्यासेट नै छ ।’

‘ल ठिक छ । मन्जुलाई पनि त्यो फिल्म हेर्न मन छ । उसलाई ल्याउन मिल्छ ?’

‘के भनेर नमिल्नु ? तिमीहरू दुवैजना पर्सि शनिबार मुभी विथ लन्चका लागि आउनू । मुभी हेर्दै लन्च खाने ।’

आफ्नो सहमति जनाइसकेपछि मैले ऊसँग बिदा लिएँ र मनमनै आज बुढी रमाउने भई भन्ने सोच्दै म आफ्नो मोटरसाइकलतिर लागेँ ।

घरमा पुगेपछि मन्जुसँग सल्लाह गरेँ । उनले नाइँनास्ति गर्ने कुरै थिएन । त्यतिखेर भीसीआर (भिडियो क्यासेट रेकर्डर)को जमाना सुरु भएको थियो । यो विलासिता केवल हुनेखानेहरूका लागि मात्र सम्भव भएको हुनाले आममानिस असन, इन्द्रचोकतिर घरघरमा बनाइएका कोठे ‘सिनेमा हल’मा गएर टिकटका रूपमा नगद बुझाई आफ्ना इच्छाअनुसारका फिल्म हेर्थे । 
त्यसैले साथीले यस्तो भीआईपी ट्रिटमेन्ट दिँदा आफूलाई भाग्यमानी नै ठानेको थिएँ त्यस बेला ।

शनिबारको दिन आयो । बिहान उठेदेखि नै भिडियो हेर्न जाने कुराले रोमाञ्चित भइरहेको थियो मन । घरमा ग्रोसरी पनि सकिएको अवस्था थियो र धेरै दिनदेखि लोकल साखुन्ने भाले खाने इच्छा पनि मनभित्र गुँडुल्किरहेको थियो ।

अलिक चाँडै हिँडेर असन गई केही सागसब्जी किनेर महाबौद्धबाट लोकल भाले कुखुरा बोकेर उदयकहाँ पुग्दा कसो होला भनेर मन्जुसँग सल्लाह गरेँ । उनी राजी भइन् ।

त्यही हिसाबकिताब गरेर हामी बिहान नौ बजे मोटरसाइकलमा चढी बूढानीलकण्ठबाट असनबजारका लागि प्रस्थान गर्‍यौँ । तिनताका काठमाडौंमा अहिलेजस्तो ट्राफिक जाम हुन्थेन । त्यसैले स्वच्छ हावा खाँदै हामी करिब पन्ध्र मिनेटमा असन पुग्यौँ ।

चोकनजिकै कमलाक्षीतर्फ जाने बाटोमा मोटरसाइकल पार्क गरी असन चोकको मानवसमुद्रमा हेलियौँ । त्यहाँ केही ताजा सागसब्जीका साथै अन्य मरमसला समेत किनेर हामी मोटरसाइकल लिँदै गल्लीको बाटो कुखुरा किन्न महाबौद्धतिर लाग्यौँ ।

त्यसबखत कुखुराको बेचबिखन कि त महाबौद्धमा कि त कालीमाटीमा मात्रै हुन्थ्यो । कालीमाटी टाढा पर्ने हुनाले हामीलाई महाबौद्ध नै पायक पर्थ्यो ।

दश बज्न लागिसकेको थियो । त्यसैले हामीले हतारहतार गरेर निकै मोलमोलाइपछि एउटा ठिक्कको भाले रोज्यौँ । त्यसको पैसा कति परेको थियो त्यो अहिले सम्झना छैन । भालेको खुट्टा बलियोसँग बाँध्न लगाएर त्यसलाई एउटा ठूलो खालको कपडाको झोलामा हालेर, झोला मोटरसाइकलको ह्यान्डलमा अड्काई महाराजगन्जतिरै फर्कियौँ ।

सागसब्जीको झोला मन्जुले काखमा राखिन् । बाटोभरि झोलाभित्र चुमुक्क परेर बसेको भाले दुईतीनपल्ट बास्यो ।

यस्तै पौने एघार बजेतिर हामी महाराजगन्जस्थित उदयको आँगनमा पुग्यौँ । मैले एकपल्ट हर्न बजाएँ । उदयले माथिबाट ‘माथि नै आऊ’ भनेर बोलायो । हामीले सागसब्जीको झोला मोटरसाइकलमै रहन दियौँ । तर, भाले भएको झोला आफूसँगै लग्यौँ । कतै पड्के डोरी फुस्काएर भाग्ला कि भन्ने डर थियो ।

भाले भएको झोला कोठाभित्र किन लैजानु भन्ने सोचेर मैले त्यसलाई उदयको कोठाको ढोकाछेउमा बाहिरपट्टि राखेँ । त्यसपछि हामी दुवै भित्र पस्यौँ । उदयले झोला राखेको त देख्यो, तर केही भनेन । झोलाको मुख हलुकासँग बाँधेको हुनाले त्यसमा के छ भन्ने पनि उसलाई थाहा भएन ।

कोठाभित्र उदयले पहिले नै फिल्म हेर्दै लन्च खान सजिलो होस् भनेर भुइँमा दुइटा चकटी राखिदिएको रहेछ । अगाडिपट्टि टेबलमा यस्तै २४ इन्चीजतिको भिडियो मनिटर राखिएको थियो ।

केही छिन भलाकुसारीपछि उदयले राम तेरी गंगा मैलीको भिडियो क्यासेट लोड गर्‍यो र भन्यो, ‘ल, अब मुभी इन्ज्वाई गर । म लन्च पठाउँछु ।’

त्यति भनेर भीसीआरको प्ले बटन थिचेर ऊ किचनतिर लाग्यो । यता हामी पनि आरामले चकटीमाथि पलेँटी मारेर भिडियो स्क्रिनमा सिनेमा हेर्न थाल्यौँ ।

धक्कमधक्का खाएर सिनेमा हलमा असिनपसिन हुँदै फिल्म हेर्नु र आनन्दका साथ घरमा बसेर फिल्म हेर्नुमा धेरै भिन्नता रहेको अनुभूति भयो । केही छिनमै खाना पनि आइपुग्यो ।

‘ल, अब खाना खाँदै मुभी हेर्दै गरौँ,’ उदयले भन्यो ।

हामीले खान सुरु गर्‍यौँ । आँखा धेरैजसो स्क्रिनमै टाँसिएको हुनाले हात र मुखको मिलन अलिक मन्द गतिमा चलिरहेको थियो । उदय भने कपाकप खाइरहेको थियो । एकैछिनमा खाइसकेर ऊ उठ्यो र बाहिर गयो । फर्केर आएपछि उसले भन्यो, ‘तिमीहरू आरामले हेर्दै गर । म एकछिनमा आउँछु ।’

‘तिमी नहेर्ने ?,’ मैले सोधेँ ।

‘मैले दुईपल्ट हेरिसकेको छु, कति हेर्नु ? तिमीहरू इन्ज्वाई गर न । अढाई घण्टाको मुभी छ । त्यसबीच म एउटा स्यानो काम सकेर आइहाल्छु ।’

मैले हुन्छ भनेपछि उदय निस्कियो । हामीले खाना सकेपछि काम गर्ने केटो आएर जुठा प्लेटहरू उठाएर लग्यो । काँटाचम्चाले खाएको हुनाले हात धुन जरुरी थिएन । त्यसैले हामी बिनाकुनै व्यवधान मुभी हेर्नमैँ मस्त भयौँ । साँच्चै नै मुभी निकै राम्रो थियो, बयान गरिएजस्तै । बुढी पनि दंग, म पनि दंग ।

झन्नै अढाई घण्टापछि मुभी सकियो । उदय पनि आइपुग्यो । भित्र पसेर उसले हामीलाई मुभीको बारेमा कस्तो लाग्यो भनेर सोध्दै मात्र के थियो, अचानक कोठाबाहिरबाट कुखुराको भाले एकदम आत्तिएर कराएको सुनियो । उदय जिल्ल पर्‍यो ।

ऊ बढी अचम्भित थियो, किनभने उसको घरमा कुखुरा पालेको थिएन । ‘ए, हाम्रो कुखुरा हो’ भन्दै म बाहिर ढोकातिर दगुरेँ । ढोकाबाहिर देख्छु त उदयको बडेमानको कुकुरले हाम्रो झोलाभित्रको भालेलाई क्वापल्याक्कै पारेको रहेछ । त्यो देख्नासाथ उदयले आफ्नो कुकुरलाई हकारेर कुखुरा छुटायो अनि आफ्नो कोठामा लगेर थुनिदियो ।

हामी दुवै जोईपोइ अवाक् भएर हेरिरहेका थियौँ । उदयले फर्केर आएर हाँस्दै भन्यो, ‘तिमीहरूले कुखुरा ल्याएको छ भन्नु पर्दैन ? म कुकुरलाई बाँधेर राख्थेँ ।’

म फिस्स हाँसे मात्र, केही भनिनँ । मनमनमा चाहिँ बल्लबल्ल भालेको मासु खाने चाँजो मिलेको थियो, पड्के कुकुरले ङ्याच्च पारिहाल्यो, अब के गर्ने होला भनेर औडाहा चलिरहेको थियो । उता मन्जुको अनुहार पनि उज्यालो देखिनँ ।

सायद उदयले मेरो मनको भाव पढेछ, त्यसैले उसले सान्त्वना दिँदै भन्यो, ‘सुर्ता नगर । मेरो कुकुरलाई प्रत्येक महिना एन्टी–रेबिजको इन्जेक्सन लगाउने गरेको छ । केही हुँदैन । आरामले खाए हुन्छ ।’

हामी केही बेरपछि घरका लागि हिँड्यौँ । बाटोभरि कुखुरालाई मोटरसाइकलमै छोडेको भए पनि त हुने थियो भन्ने पछुतोले सताइरह्यो । आखिर त्यसका खुट्टा टन्टनी बाँधेको नै थियो नि, कहाँ भाग्न सक्थ्यो र ! तर, हुने हुनामी भएरै छाड्ने रहेछ ।

घर पुग्नेबित्तिकै मन्जुले भनिन्, ‘म त त्यो कुकुरले टोकेको कुखुरा खानेवाला छैन है ।’

‘इन्जेक्सन लगाएको छ रे नि त !,’ मैले उनलाई ढाडस दिँदै भनेँ, ‘नलगाएको भएचाहिँ डर हुन्थ्यो ।’

‘अहँ, म त खाँदै खाँदिनँ । तिमी खाने भए खाऊ ।’

‘म त खान्छु । यत्तिका समयपछि बल्लबल्ल जुरेको छ ।’

‘खाऊ, खाऊ,’ उनले हाँस्दै भनिन्, “भोलि बिहान उठेर कुकुरले जस्तै भुक्न नथाल्नु ।’

उनको ठट्टामा कताकता चिन्ता पनि झल्केको अनुभूति भयो मलाई । हुनसक्छ, उनलाई इन्जेक्सन लगाएको छ भन्ने कुराले त्यति ढाडस दिएको नहोस् । तर, मचाहिँ आफ्नै तर्क लगाइरहेको थिएँ । एक त कुकुरलाई रेबिज भएको थिएन, भएको भए त्यो कोठाभित्र हुँदैनथ्यो । अर्को, नियमित रूपमा इन्जेक्सन लगाएको कुकुरलाई रेबिज हुनै सक्दैन । त्यसैले कुखुरालाई टोकेको भए पनि त्यो विषाक्त छैन । खाए हुन्छ । खाली दिगमिग लाग्ने कुरा मात्र हो । मलाई हत्तपत्त दिगमिग लाग्दैन ।

भाले खाने पूरा निर्णय गरी मैले काम गर्ने केटो कान्छालाई काटकुट गर्ने र भुत्ल्याउने काम गर्न अह्राएँ । सबैथोक तयार भएपछि मासु पकाउने सुरसारमा लागेँ ।

कुखुरा टुक्र्याउने बेलामा मैले देखेँ, त्यसको एउटा फिलामा कुकुरले दाँत गाडेको रहेछ । त्यो दाँत गाडेको भागलाई खुकुरीले चपक्क काटेर फ्यालिदिएँ ।

अनेक थरीका मरमसला हालेर प्रेसरकुकरमा पटपटी मासु भुटिरहँदा मेरो मस्तिष्कमा दुई थरीका विचारहरू सल्बलाइरहेका थिए– आजचाहिँ चाइनेजो खतरा मासु खाने भइयो ।

होइन, खान त खाउँला, तर केही भयो भने ?

यी दुई विचारहरूमा घमासान लडाइँ पर्‍यो । अन्ततः भालेको मासु खाने उत्कट अभिलाषाले बाजी जित्यो । 

मासु नखाने भएकी हुनाले मन्जुले दालभात, तरकारी अचार मात्र खाइन् । कान्छा केटो र म भने कुकरको सिटी कुरेर बस्यौँ । यस्तै चारपाँच सिटी लागेपछि मैले कुकर चुलाबाट बाहिर निकालेँ र त्यसको प्रेसर एउटा पुनिउँको सहाराले निकालेँ ।

प्रेसरको ढक्कन खोलेर हेर्दा त आफैँ मक्ख परेँ । मासुको कलर र त्यसको बास्नाले मनै दंगदास भयो । मैले अलिकति मासु डाडुमा हालेर कान्छालाई देखाउँदै भनेँ, ‘हेर् त केटा, मासु त क्या च्वाँक भएछ !’

कान्छाले मासु हेर्दै भन्यो, ‘हो त नि सर, हेर्दै मिठो होलाजस्तो छ !’

‘ल, अब खानको लागि ठिकठाक गर्दै गर् । म यस्सो हातमुख धोएर आउँछु,’ यति भनेर म बाथरुमतिर गएँ ।

केही छिनमा फ्रेस भएर आउँदा कान्छाले डाइनिङ टेबलमा खाना सजाएर राखिसकेको थियो । मैले उसलाई पनि सँगै खान बस्न भनेँ । हामी दुवैले साखुन्ने भालेको मासुसँग भात हसुर्नसम्म हसुर्‍यौँ ।

जिन्दगीको मजा त्यसै बेला आयो !

खाना खाइसकेपछि कान्छा भाँडा माझ्नतिर लाग्यो । मचाहिँ एउटा फिल्मी पत्रिका निकालेर पढ्न थालेँ । एकछिनपछि उठेर बेडरुमतिर हेर्न गएँ । श्रीमतीजी सुकला भइसक्नु भा’रै’छ । किन डिस्टर्ब गर्नु भनेर म फेरि बाहिर आएर रेडियोमा समाचार सुन्दै बसेँ ।

राति दश बजेतिर कान्छाले पनि काम सिध्यायो र ऊ सुत्न गयो । म पनि अब त सुत्नुपर्‍यो भनी बेडरुममा गई बुढीलाई डिस्टर्ब नहोस् भन्ने प्रयत्न गर्दै छेउमा गएर लम्पसार परेँ । सिरकको एक छेउ तानेर छातीसम्म तानेँ अनि आँखा चिम्म गरेर निद्रादेवीको प्रतीक्षा गर्न थालेँ ।

तर, त्यसका बाजे, निद्रादेवी आउँदै आइनन् ! तिनका ठाउँमा दिनभरका कुरा, विशेष गरी उदयको घरमा खाना खाएको, फिलिम हेरेको, एक्कासि भाले च्याठ्ठिएर कराएको अनि बाहिर गएर कुकुरले त्यसलाई टोकेको कुराले झ्वाम्म मस्तिष्कमा हान्यो ।

मनमा अनेक नेगेटिभ र पोजिटिभ सोचाइहरूले हुँडलो मच्चाउन थाले । शंका र उपशंकाका ताता भुंग्राहरूले भतभती पोल्न थाले । फेरि, त्यसमाथि बुढीको ‘खान त खाऊ, तर भोलि बिहान उठेर भुक्न नथाल्नु’ भन्ने चेतावनी सम्झेर झनै औडाहा हुन थाल्यो । एकतमासको छटपटी हुन थाल्यो ।

हैट, नखानुपर्ने रहेछ कि क्या हो ! भन्ने थकथकीले पनि बेस्मारी कोपर्न थाल्यो । इन्जेक्सन त लगाएको छ भनेर भन्थ्यो उदयले, तर कहिले लगाएको हो कुन्नि ? महिनैपिच्छे लगाउने गरेको छ भनेर त भनेको थियो, तर यो महिनाचाहिँ लगाएको थियो कि थिएन के थाहा ! हामीलाई आश्वस्त बनाउन पनि ढाँटेको पनि हुनसक्छ । यदि, नलगाएको हो भने पछिल्लो महिनाको इन्जेक्सनको अलिअलि प्रभाव बाँकी नै थियो कि निमिट्यान्न भइसकेको थियो, त्यसको कुनै ठोकुवा थिएन ।

हे भगवान्, यस्तो छटपटी हुन्छ भन्ने थाहा भएको भए ज्यान गए त्यो भाले खाने थिइनँ !

यस्तै सोच्दासोच्दै कुन बेला भुसुक्क निदाएछु पत्तै भएन । अचानक कुन बेला हो, म त चार हातखुट्टा टेकेर भौँ भौँ भुक्दै रहेछु । घरीघरी ङ्यार ङ्यार पनि गर्दो रहेछु । कताकता ‘बाबा बाबा’ भनेर कसैले घचघच्याएको पनि सुनेँ ।

एक्कासि आँखा खुल्यो । हेर्छु त श्रीमतीजी मलाई घचघच्याइरहेकी रहिछन् । म हडबडाउँदै उठेँ । सपना देखेको रहेछु । त्रासले अझै छोडिसकेको थिएन ।

के भयो भनेर सोध्न पनि डर लाग्यो, कतै मुखबाट कुकुरको जस्तो भुकाइ ननिस्कियोस् भन्ने सोचेर !

‘हैन, के भो तपाईंलाई ? रातभरि घुरेको घुरेकै गर्नुभो त, सबथोक ठिक छ नि ?,’ उनले मुस्काउँदै भनिन् ।

आफ्नो आवाजमाथि यथाशक्य नियन्त्रण गर्दै मैले विस्तारै, सासले जवाफ दिएँ, ‘अलिक सुत्न अप्ठ्यारो भएछ ।’

‘लौ, उठ्नोस् अब । म चिया बनाउन गएँ,’ त्यति भनेर उनी लागिन् । मचाहिँ सपनाको कुरा सम्झेर आङ जिरिंग पार्दै टाउको समातेर बसिरहेँ ।

सोचेँ, अबदेखि कुकुरले टोकेको भाले खानेवाला छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०६:५२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro