site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
व्यवसायी अपहरण र हत्याको ‘मास्टर प्लानर’ मनिषा !
SkywellSkywell

काठमाडौं । किशोर अवस्थाकी २१ वर्षीया मनिषा महतलाई काभ्रे प्रहरीले बुधबार हातमा हत्कडी र मास्कले छोपिएको अनुहारसहित सार्वजनिक गर्‍यो । उनीसँगै अन्य चारजना युवाहरुलाई पनि ।  युवाहरुको उमेर पनि मनिषाको जस्तै छ । तर, प्रहरीले मनिषालाई अपहरण, फिरौती र हत्याजस्तो जघन्य अपराधको मूख्य योजनाकार ‘मास्टर प्लानर’ भनेर सार्वजनिक गरिदियो ।

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ कि मनिषा हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ राधेराधेस्थित एक घरमा फ्ल्याट भाडामा लिएर बस्दै आएकी छन् । सिन्धुपाल्चोकबाट उच्च शिक्षाका लागि काठमाडौं छिरेकी मनिषा पढाई भन्दा पनि कसरी रातारात पैसा कमाउने भन्ने ध्याउन्नमा लागिन् । त्यसका लागि उनी युवाहरुको ‘ग्याङ’ भित्रै प्रवेश गरिन् ।

हेर्दा शालिन र सुन्दर देखिने मनिषाले आफ्नो त्यही सुन्दरतालाई हतियार बनाएर युवादेखि अर्धवैंसे पुरुषहरुलाई समेत आफ्नो जालमा पार्दै आएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा फेला पारेको छ । 

KFC Island Ad
NIC Asia

कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्कीलाई समेत उनले त्यसैगरी जालमा पारिन् । मासु पसल गर्दै आएका विनोद र मनिषाबीच करिब ७ महिना अघिनै चिनजान भएको थियो ।  त्यसयता विनोद मनिषा बस्दै आएको ठिमीको फ्ल्याटमा दर्जनौँपटक पुगे ।

कतिपटक त उनले रात पनि मनिषासँगै बिताए । उनीहरु दुवैबीच मायाको सम्बन्ध पनि गासिएको थियो, उम्कनै नसक्नेगरी ।  यो बीचमा मनिषा केही समय हराइन् पनि । त्यस बीचमा विनोदसँगको सम्पर्कसमेत टुटिसकेको थियो ।

त्यसबेला मनिषा भारतको नोयडा पुगेको पाइएको प्रहरीले जानकारी दियो । उनी के कामका लागि भारत पुगिन् भन्नेबारेमा यसबेलासम्म विनोदलाई केही जानकारीसम्म थिएन । भारतबाट नेपाल फर्किएपछि भने मनिषा र विनोदबीच पुनः सम्पर्क हुन थाल्यो ।

त्यसको निरन्तरतास्वरुप असोज ५ मा मनिषाले फेरि विनोदलाई फोन गरिन् । समय दिनको ११ः३० भएको थियो । काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धारा खड्काका अनुसार मनिषाले विनोदलाई आफ्नो नागरिकताको प्रतिलिपि बनाउन सिन्धुपाल्चोक जानुपर्ने भएकाले सहयोग गर्न भन्दै आफ्नो कोठामा बोलाएकी थिइन् । मनिषाको फोन पछि विनोद आफ्नै कार लिएर भक्तपुर पुगे ।

उनी कोठमा पुग्दा मनिषासँगै उनका दुईजना भारतीय केटा साथीहरु अंशु र शिवम् पनि थिए । मनिषा र अंशु खाना पकाउँदै थिए । उनीहरूले विनोदलाई पनि सँगै खानाखान आग्रह गरे । विनोद तयार भए । त्यसबीचमा मनिषाले नै मदिराको व्यवस्था पनि जोडजाड गरिदिइन् ।

खाना खाइवरी अंशु र शिवम् निस्किसकेका थिए । विनोद पनि खाना खाएर निस्कने तयारीमा थिए ।

...अनि एकाएक आक्रमण हुन थाल्यो

विनोदले खाना खान थालेपछि मनिषा पसलमा खुर्सानी किनेर ल्याइहाल्छु भन्दै निस्किइन् । त्यो त खाली बहाना न थियो । बाहिर निस्किएर अघिका दुईजना भारतीय साथीलाई फोन गरिन् ।

प्रहरीले दिएको जानकारीअनुसार मनिषाले विनोद खाना खाँदै गरेको हुनाले पाँच मिनेटपछि भित्र प्रवेश गर्न भनेकी थिइन् । विनोद कोठामै हुँदा अंशु, शिवमसहित मनिषाकै अन्य केटा साथीहरु सरिन, प्रतीक र आशीषसमेत पुगे । 
उनीहरू कोठामा पुगेपछि भने विनोदमाथि एकाएक आक्रमण गर्न थालिहाले । पाँच जनाको अगाडि विनोदले केही प्रतिक्रिया जनाउनै सकेनन् न त प्रतिकार नै । मनिषाले समेत विनोदलाई कुटपिट गरेको प्रहरीले जानकारी दियो ।

लगत्तै विनोद बेहोस् भए । केही समयपछि विनोद ब्युँझिए । होसमा आएका विनोदलाई ३० लाख रुपैयाँ नदिए मार्ने धम्की दिए । विनोदले आफूसँग त्यत्रो रकम नभएको भन्दै नकुट्न अनुनय गरे । त्यहीबेला मनिषाले भनिहालिन्,  “३० लाख त अलि बढी नै भयो । ल १० लाख दिनु न त ?”

विनोदले १० लाख पनि दिन नसक्ने तर, पाँच लाख हुन्छ भने अहिले दिने जवाफ दिए ।

पाँच लाखमा सहमति पछि भने विनोदले आफ्नै बधशालाका कर्मचारी प्रदिप थापा मगरलाई फोन गरेर आफुलाई अर्जेन्ट पाँचलाख आवश्यक परेका कारण भक्तपुरको राधेराधे आउन भने ।

प्रदिपले साँझ पाँच बजेर १० मिनेटमा उक्त रकम लिएर भक्तपुरको राधेराधे पुगे । मनिषाकै कोठामा रहेका आशीष यामाहा कम्पनीको आर१५ मोडलको मोटरसाइकल लिएर रकम बुझन् राधेराधे पुगे । त्यहीँ प्रदिपले आशीषलाई पाँच लाख रुपैयाँ बुझाएका हुन् ।

उजुरी गर्ने डरले हत्या

मनिषाकै योजना अनुसार युवाहरुले बन्धक बनाएर कुटपिट गरी पाँचलाख रुयाँयासमेत बुझाएका विनोदको उनीहरुले अन्ततः हत्या नै गरे ।  एसपी बसुन्धारा खड्काका अनुसार फिरौती रकम लिएर विनोदलाई छोड्दा उनले प्रहरीमा उजुरी दिन सक्ने भन्दै उनीहरुले हत्या गरेको पाइएको छ ।

मनिषाको कोठामै मरणासन्न हुनेगरी कुटपिट गरिएका विनोदलाई उनीहरुले विनोदकै गाडीमा राखेर भक्तपुरको एकान्त ठाउँमा लिएर हत्या गर्ने योजना बनाए ।  सोही योजनाअनुसार मनिषाको कोठाबाट विनोदलाई रातिको १० बजे निकाले ।

विनोदको गाडीसमेत आशीषले चलाएर उनलाई बीचमा राखेर निस्केको खुलेको छ ।  मनिषाको कोठाबाट हत्या गर्ने उद्देश्यले निस्किएका उनीहरुले सूर्यविनायक गणेश मन्दिर हुँदै गुण्डु जाने सडकमा पुगेपछि भने उनीहरुले गाडीबाट निकालेर ढुंगाले छातीमा हानेर हत्या गरेको खुलेको छ ।

हत्यापछि उनीहरुले गाडीमै राखेर साँगा धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलोमा शव फालेर विनोदकै गाडीमा फर्किएका थिए ।  गाडीसमेत प्रहरीले ठिमीबाट बेवारिसे अवस्थामा फेला पारेको थियो । विनोदको शव असोज ६ मा फेला परेको थियो ।

सुरुमा सनाखत समेत नभएको विनोदको शव काभ्रे प्रहरीले सामाजिक सञ्जालमार्फत् पहिचानका लागि राखेपछि उनका छोरा विशाल खड्कीले सनाखत गरेपछि खुलेको हो ।

यसरी बनेको थियो योजना

काभ्रे प्रहरीको अनुसन्धानका क्रममा मनिषा भारतीय नागरिक अंशु र शिवमले भारतको नोयडामा समेत यही शैलीको अपराध गरेर फर्किएका थिए । मनिषाकै जालमा परेर नोयडाकै तुसार भन्ने युवालाई बन्धक बनाएर कुटपिटपछि एक लाख ५० हजार भारु फिरौती लिएको खुलेको काभ्रेका डीएसपी भिमबहादुर लामाले बताए ।

त्यही शैलीमा काठमाडौंमा पनि पैसा भएका व्यक्तिलाई ‘यौन कुण्ठा’मा पारेर फिरौती माग्ने योजना बनाएका हुन् । त्यसैको पहिलो निशानामा विनोद परेको प्रहरीको दाबी छ । उनीहरुले त्यसका लागि असोज ५ गते बिहानै योजना तयार पारेका थिए । मनिषा, अंशु, शिवम, सरिन र रिकेशले योजना बनाएका थिए । त्यही योजना लिएर अंशु बानेश्वरस्थित प्रतिक गौतमलाई भेट्न पुगे ।

उनीहरु दुवैजना त्यहाँबाट आशीष पासवानको फलफुल पसलमा पुगेर योजना तय गरेका थिए । सोही योजना अनुुसार मनिषाले नागरिकताको प्रतिलिपी बनाउन जाने बहानामा विनोदलाई कोठामा बोलाएको खुलेको छ ।

विनोदको हत्या योजनामा संलग्न मनिषासहित काठमाडौं साँखुका २२ वर्षीया सरिन घिमिरे, सोही ठाउँका २१ वर्षीय रिकेश पौडेल, महोत्तरीका २० वर्षीय आशीष पासवान, बाग्लुङका १९ वर्षीय प्रतीक गौतमलाई पक्राउ गर्न सफल भएको हो ।

शिवम् र अंशु भने फरार छन् । उनीहरुको खोजी भइरहेको काभ्रे प्रहरीका डीएसपी लामाको भनाइ छ ।  सिन्धुपाल्चोकमा सुनकोशी गाउँपालिका–२ का वडाअध्यक्ष पूर्णबहादुर महतले जघन्य अपराधमा मनिषाको भूमिकाले आफू आश्चर्यमा परेको बताए ।

उनले भने,‘‘मनिषा मेरो गाउँकै बहिनी हो । उच्च शिक्षा पढ्न काठमाडौं गएकी हो । उनको बुबा पनि त्यतै सानोतिनो काम गर्नुहुन्छ । सोझो परिवार हो । हाम्रो महत परिवार नै यति ठूलो अपराधमा संलग्न भएकै पहिलो हो । हामी सबै दुखी छौं ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro