
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महाधिवेशनस्थलमा तोडफोड भएको छ । संगठनको नेतृत्वमा आउन उमेरहद लागु गर्ने र नगर्नेबीचको विवादका क्रममा तोडफोडको अवस्था सिर्जना भएको हो ।
उमेरहदको विषय बन्दसत्रदेखि नै सुरु भएको थियो । महाधिवेशनको हलमा विवाद देखिएपछि माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार पदाधिकारी बैठक डाकेका थिए । पदाधिकारी बैठकले उमेरहद लागु गर्ने वा नगर्ने विषयमा महाधिवेशनका प्रतिनिधिहरूलाई नै निर्णयको अधिकार दिने निर्णय गरेको थियो ।
सोमबार बिहान प्रचण्डले महासचिवमाथिका अखिल क्रान्तिकारीका पदाधिकारीलाई डाकेर पहिलो चरणमा उमेरहद लाउने वा नलगाउने विषयमा निर्वाचन गर्ने र दोस्रो चरणमा मात्र नेतृत्व चयनको निर्वाचनमा जान निर्देशन दिएका छन् । अध्यक्षका आकांक्षी जीपी मैनालीका अनुसार, यसपटक पार्टीले पूर्णरूपमा लोकतान्त्रिक विधिको उपयोगको अधिकार प्रतिनिधिलाई दिएको छ ।
“पार्टीले हस्तक्षेप गरेको आरोप यसपटक दिन मिल्ने अवस्था छैन । पार्टीले पदाधिकारी बैठकबाटै प्रतिनिधिहरूलाई निर्णयको अधिकार सुम्पिएको छ,” मैनालीले भने, “हाम्रा अध्यक्ष कमरेड प्रचण्डले हामीलाई बोलाएर यसको जानकारी गराइसक्नुभएको छ । त्यसैले अब जे निर्णय भए पनि सार्वभौम प्रतिनिधिहरूले गर्ने छन्, त्यो निर्णय हामीलाई स्वीकार्य छ ।”
वर्तमान कार्यसमितिका उपाध्यक्षदेखि महासचिवसम्म अध्यक्षका आकांक्षी हुँदा नयाँ प्रतिनिधि भने उमेरहदको पक्षमा छन् । तर, यसअघि प्रदेश अधिवेशनमा उमेरहद नलगाएको भन्दै केन्द्रमा आएर उमेरहद लगाउने कुरा स्वीकार्य नहुने भन्दै आवाज उठेपछि महाधिवेशनस्थलमा तनाव भएको हो ।
प्रदेशको नेतृत्वमा ३९ वर्षसम्मका व्यक्ति चयन भएकामा केन्द्रीय नेतृत्वमा ३२ वर्षमुनिको नेतृत्व ल्याउने अभ्यासले स्वाभाविक संगठन नबन्ने तर्क उनीहरूले राखेपछि बैठकमा विवाद सुरु भएको प्रदेशबाट प्रतिनिधित्व गर्ने एक नेताले जानकारी दिए ।
“उमेर हद लागु गर्ने भए प्रदेशबाटै सुरु हुनुपर्थ्यो नि ! नेतृत्वमा आउनका लागि मात्र मुद्दा उठाएर त संगठन चल्दैन,” ती नेताले भने, “शिक्षकलाई हवस् सर भन्ने, प्रहरीलाई सलाम ठोक्नेहरूबाट संगठन चल्छ कि चल्दैन भन्ने मन्थन होस् भनिएको हो ।”
त्यसबाहेक युद्धमा लाग्न उमेर लागु नभएको भन्दै मुखमै आएको नेतृत्वको दाबीमा आफूलाई परीक्षणमै रोक्नु न्यायोचित नहुने अध्यक्षका आकांक्षीको भनाइ छ ।
“हिजोदेखि उमेर हद लागु भएन । यो संगठनमा २० वर्ष खटेपछि जब नेतृत्वमा आउने समय भयो तब नेतृत्वको आकांक्षी नै हुन नपाउने प्रस्ताव भएको छ,” अध्यक्षका एक आकांक्षीले भने, “अखिल क्रान्तिकारीले विद्यार्थीमा मुद्दा बोक्ने हो । संगठन बनाउने हो । विद्यार्थीका हक अधिकारका लागि सम्बन्धित क्याम्पस, विश्वविद्यालय समितिले लड्ने हो नि !”