site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सिड्नीमा भव्य बन्यो रामृकष्ण ढकाल साँझ

सिड्नी । नेपाली गायक रामकृष्ण ढकालले शनिबार सिड्नीमा सांगीतिक प्रस्तुति दिएका छन् । शनिबार रातिसम्मै ढकालले गीत संगीतप्रेमीमाझ आफ्ना डेढ दर्जन लोकप्रिय गीत गाएका थिए । दर्शकको अनुरोधमा उनले स्वरसम्राट नारायण गोपालका केही गीत पनि गाए ।

पाल्पा सर्भिसेजको आयोजनामा अस्ट्रेलिया भ्रमणमा आएका ढकालले 'बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्' बोलको देशभक्ति गीत गाएर प्रस्तुति सुरु गरेका थिए । ढकालले लता मंगेशकरसँग गाएको 'बाचुन्जेलीलाई', 'ओराली लागेको हरिनको ताल भो'लगायत चर्चित गीत गाए ।

एटूजेड क्लिनिङ सप्लायर्सको मुख्य प्रायोजनमा सञ्चालित कार्यक्रममा ढकालले मध्यरातसम्मै प्रस्तुति दिए । उनले अन्तिमसम्मै दर्शकको राम्रो साथ पाएका थिए ।

कार्यक्रममा पुगेकामध्येका सिड्नीका तेज कवे भन्छन्, "गीत संगीतका पारखीका लागि ढकालको कर्णप्रिय आवाजले छुन्छ । बुरुकबुरुक उफ्रने पुस्ताका लागि यो पुरानो गीत होला, तर हाम्रा लागि यो महत्त्वपूर्ण क्षण हो ।"

सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित कार्यक्रममा एनआरएन अस्ट्रेलियाले ढकाललाई सम्मान पनि गरेको थियो । एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, एनआरएनका न्यू साउथवेल्स संयोजक विनोद कुवँर, सचिव कल्याण खड्काले ढकाललाई खादा र सम्मानपत्रसहित सम्मान गरे ।

समारोहमा ढकालले आफ्नो नया गीत 'जीवनको हिसाब'को लोकापर्णसमेत गरे ।

एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल र गायक रमन रेग्मी, सञ्चारकर्मी माधव गैरैले संयुक्तरूपमा भिडियो क्लिक गरेर शुभारम्भ गरेका थिए ।

यसपछि ढकालले न्युक्यासल, सिड्नीकै ग्रानभिलस्थित रातोघर, ब्रिसबेन, एडिलेडलगायत सहरमा प्रस्तुति दिने आयोजक सुवास थापाले बताए ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro