site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज रातिदेखि आइतबारसम्म देशैभर ठूलो पानी पर्ने सम्भावना, यस्तो बेलामा के गर्न हुन्न ? 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार राति (आज) देखि आइतबारसम्म (असोज १०–१३ गतेसम्म) देशैभर ठूलो पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

“असोज १० गते बिहीबारदेखि १३ गते आइतबारसम्म ठूलो पानी पर्ने सम्भावना छ । विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्ला र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरू बढी प्रभावित हुन सक्छन् । त्यसैले सतर्कता अपनाउनु हुन अनुरोध छ,” प्राधिकरणले भनेको छ । 

प्राधिकरणले ठूलो पानी पर्ने सम्भावना हुँदा कोसी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ ।

यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी र पर्सामा उच्च जोखिम छ । 

वाग्मती प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा ठूलो पानीको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङमा पनि ठूलो पानीको उच्च जोखिम छ ।

लुम्बिनीको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दियामा पनि ठूलो पानी सम्भावना रहेकोले उच्च जोखिम रहने प्राधिरणले जनाएको छ ।

कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान र सुदूरपश्चिम प्रदेशको डोटी, कैलाली र अछाममा पनि ठूलो पानीको उच्च जोखिम रहेको छ । 

के नगर्ने ? 
प्राधिकरणले ठूलो पानी पर्ने सम्भावना रहेकोले केही कामहरू नगर्न सुझाएको छ । असोज १० गतेदेखि १३ गतेसम्म धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन प्राधिकरणले भनेको छ । 

रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन पनि प्राधिकरणले अनुरोध गरेको छ ।

“तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्ने,” प्राधिकरणले भनेको छ, “बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्ने ।”

पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन प्राधिकरणले भनेको छ । ठूलो पानी परेको बेला दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा जान नहुने प्राधिकरणले सुझाव दिएको छ ।

एम्बुलेन्स, सुरक्षा निकाय लगायतका जरुरी टेलिफोन नम्बरहरू सुरक्षित राख्न, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि भनिएको छ । 

“खोज तथा उद्धारको लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरू तयारी अवस्थामा रहने । विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्ने,” प्राधिकरणले भनेको छ । 

पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ‘अलर्ट’मा रहन प्राधिकरणले आग्रह गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro