site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छविलाल जोशीसँग आज पनि सोधपुछ गरिने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको बयान आज पनि जारी रहनेछ ।

कास्की प्रहरीले उनीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान थालेको छ । काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा लगिएको हो । उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइ पाँच दिनको म्याद लिइएको छ ।

कास्की प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार सोमबार जोशीमाथि प्रारम्भिक बयान लिइएको थियो । आज पनि बयान जारी रहने उनले बताए । प्रारम्भिक बयानमा जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बताएका छन् ।

आइतबार पक्राउ परेका जोशीले कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बयान दिएका हुन् ।

कास्की प्रहरी स्रोतका अनुसार, जोशीले बयानमा भनेका छन्,‘‘सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन । रवि र जीबी नै जिम्मेवार हुन् ।’’

उनले पटक पटक जीबी र रविको नाम लिएको प्रहरी स्रोत बताउँछ । “गोर्खा मिडियामा रविको प्रवेशसँगै चेक काट्नेदेखि सबै काम उहाँ र जीबीलेमात्रै गर्नुभयो, हामीलाई यसबारेमा केही पनि जानकारी छैन,” उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

उनले रविलाई छाडेर आफूलाई फसाउने योजना गरिएको हो ? भनी प्रहरीसँग प्रश्न गरेको स्रोत बताउँछ । जोशीलाई अदालतले दिएको म्याद अवधिभर थुनामै राखेर अनुसन्धान गरिने भएको छ । पक्राउलगत्तै उनलाई आइतबार नै पोखरा पठाइएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक समेत रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुनेछ । प्रहरीका अनुसार, जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ । जीबी राईमाथि भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको थियो ।

हाल मलेसियामा रहेका राईमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् प्रहरीले रेड नोटिससमेत जारी गरिसकेको छ । रेड नोटिस जारी हुँदा पनि पक्राउ गर्न नसकेपछि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका दुईजना अधिकारीलाई मलेसिया समेत पठाएको थियो ।

मलेसिया पुगेका प्रहरीले जीबी राई बारे भने कुनै नयाँ तथ्य फेला पार्न सकेन । यद्यपी मेलेसिया प्रहरीले पक्राउ गर्न आवश्यक थप कागजात भने मागेको थियो । मलेसिया प्रहरीको मागअनुसार, नै प्रहरीले जीबी राईमाथि परेको उजुरी र अन्य कागजात समेत पठाइसकेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro