
काठमाडौं । विद्यालय शिक्षा विधेयक अनिश्चित बनेपछि शिक्षकहरूले आफूहरू सशंकित बनेको बताएका छन् । शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षा मन्त्रालयले नै आफूहरूसँगको सहमति तोडमोड गर्न खोजेपछि आश्चचर्यमा परेको बताइन् ।
“मन्त्रीले फेरि समय माग्नुभएको छ । शिक्षा विधेयकलाई तोडमोड गरेर मन्त्रालयले आफूअनुसारको ऐन ल्याउन खोजेको देखिन्छ । यसले गर्दा हामी सशंकित भएका छौँ, आश्चर्यचकित बनेका छौँ । हामीले नयाँ थप केही मागेका छैनौँ, विगतमा शिक्षकसँग भएका सहमतिका आधारमा ऐन मागेका हौँ,” उनले भनिन् ।
गत वैशाख १७ गते सरकार र महासंघबीच शिक्षा विधेयक असार १५ भित्र प्रतिनिधिसभाबाट पारित गर्ने सहमति भएको थियो । तर, पदपूर्तिसहितका विषयलाई लिएर विधेयकमा सहमति जुट्न सकेको छैन ।
“आइतबार समितिको बैठकमा महासंघसँग ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति भएको बताइएको छ । तर, हाम्रो स्पष्ट धारणा ७५/२५ नै हो,” पराजुलीले भनिन् ।
सरकारले आफूअनुकूल विषय ल्याएर शिक्षकहरूसँग बार्गेनिङ गरिरहेको उनको भनाइ छ । “यसअघि पनि मन्त्रीले समय माग्नुभएको थियो । हामीले प्रक्रियागत छलफलका कारण होला भनेर केही भनेनौँ । विगतमा भएका सहमतिलाई लत्याएर आफूअनुकूल विषय ल्याउँदै महासंघसँग बार्गेनिङ गरिरहेको छ,” उनले भनिन् ।
प्रतिनिधिसभाअन्तर्गत शिक्षा स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएका छन् ।