site stats
बाह्रखरी :: Baahrakhari
देश
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सरु भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्छन् । 

जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चांगअनुसार मिथिलाञ्चलभरिमा सोमबार ‘ओगठन’ (दरखाने), आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण (समापन) विधि गरिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तिथिअनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहा खा विधि सम्पन्न भई आज रभोलि दिनभरि उपवास बसेर भोलि साँझ व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिए । 

व्रत बस्नुअघि सोमबार महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र आफ्ना दिवंगत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्यपदार्थ) र पिना प्रसादका रुपमा चढाएर परिवारका सबै सदस्यलाई खुवाएर आफूले खाएका उनले बताए । 

सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अंशी नदी तथा लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको पण्डित पाठकले जानकारी दिए । 

व्रतको पहिलो दिन सोमबार पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ (कोदो) भनिन्छ । आज बिहानै काग कराउनुअघि पहिल्यै व्रती (बर्तालु) महिला ओगठन सम्पन्न गर्नुपर्ने हुन्छ । ओँगठनपछि उपवासको क्रम सुरु हुने भन्दै यसलाई पर्वको मुख्य अंश र मुख्य जितिया भन्ने गरिएको पण्डित पाठकले बताए ।  

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्व रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झाले बताए ।  

सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले बताए । 

“यसले मिथिलाका महिलाको सांस्कृतिक भूमिका, महत्व र आस्था उजागर गर्छ”, उनले भने । उनका अनुसार पितृ पक्षमा मनाइने यो पर्वमा महिलाले दिवंगत पितृको सम्झनामा पिण्ड चढाउँछन् । रासस

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्