site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवाखालबाट समातिएकामाथि अनुसन्धान गर्दा खुल्यो किर्ते नागरिकता

काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले एउटा सूचना पायो– बौद्धक्षेत्रमा नयाँ शैलीको जुवा भइरहेको छ । लगत्तै अनुसन्धान कार्यालयको ‘इन्टेलिजेन्स’ शाखाको टोलीले गएको शुक्रबार बौद्धको फूलबारीमार्गस्थित पुष्पा लामाको घरको दोस्रो तलामा ‘गेम जोइन’ लेखिएको सटरको ‘फिस सट गेम’मा छापा मार्‍यो ।

त्यहाँ जुवा खेलिरहेका सातजनालाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले उनीहरूका साथबाट १२ लाख नेपाली रुपैयाँ, चिनियाँ येन तीन हजार १००, अमेरिकी डलर दुई हजार र मोबाइल समेत बरामद गर्‍यो ।

तिब्बती मूलका सोनाम तामाङ भनिने सोनाम, भारतको बिहार घर भई बौद्धको टुसालमा बस्दै आएका जाम्पा खेदुप, चीनको ल्हासा घर भई बौद्धकै तीनचुलीमा बस्दै आएका नार्बु साम्देन, चिनियाँ नागरिक दासाङ पक्राउ परेका हुन् ।

यस्तै, चिनियाँ नागरिक वीई चुङलिङ, बौद्धको सिमलटारका तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरीका लोप्साङ लामालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सातैजनालाई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । उनीहरूमाथि काठमाडौं प्रहरीको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

जब खुल्यो किर्ते नागरिकताको रहस्य...
जुवाबारेको सूचनाका आधारमा छापा मारेर पक्राउ गरिएका सातजनामाथि प्रारम्भिक अनुसन्धान गर्दा अपराध अनुसन्धान कार्यालयको टोली नै झस्कियो । उनीहरूमाथि इन्टेलिजेन्स शाखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रोशन खड्काको टोलीले अनुसन्धान गरेको थियो ।

खड्काको टोलीले पक्राउ परेका सातजनाकै नागरिकता शंका लागेर सोधपुछ गरेको थियो । त्यसक्रममा तिब्बती मूलका सोनाम तामाङ भनिने सोनामको नागरिकता धादिङबाट जारी गरिएको देखियो ।

सोनाममाथि थप अनुसन्धान गर्दै जाँदा उनले किर्ते नागरिकता लिएको रहस्य खुल्यो । त्यसपछि डीएसपी खड्काको टोली सोनामको किर्ते नागरिकता बनाउने गिरोहसम्म पुगेर पक्राउ गर्न सफल भएको छ ।

सोनामको किर्ते नागरिकता बनाउने गिरोहका चारजनालाई समेत पक्राउ गरिएको छ । पक्राउ गरिएकामा धादिङको खनियाबास गाउँपालिका–५ का रामेश्वर रिजाल, धादिङकै नेत्रावती डबजोङ गाउँपालिका–१ का मदन तामाङ, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ का छिरिङ वाङदिङ शेर्पा र बौद्धमा बस्दै आएका तिब्बती मूलका छिरिङ ढुङडुप छन् । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

उनीहरू चारैजनालाई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय धादिङमा पठाइएको उक्त कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए । धादिङ प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाएको छ ।

चार लाख बुझाउँदा घरमै नागरिकता
तिब्बती नागरिक सोनामले चार लाख रुपैयाँ दिँदा गिरोहका सदस्यले नेपाली नागरिकता उनको कोठासम्मै पुर्‍याइदिएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । चिनियाँ नागरिक दासाङले खोलेको उक्त जुवाघर सञ्चालनको जिम्मा सोनामले पाएका थिए ।

सोही जुवाघर सञ्चालन गर्दा सोनामको भेट तिब्बती मूलका छिरिङ ढुङडुपसँग भएको थियो । सोनामले आफूलाई नेपालमा थप व्यवसाय गर्न नेपाली नागरिकता आवश्यक रहेको ढुङडुपलाई सुनाए ।

त्यसपछि ढुङडुपले भने– नागरिकता चाहिने भए पैसा खर्च गर्नुपर्छ ।

सोनामले सोधे– कति पैसा ?

ढुङडुपले भने– चार लाख ।

सोनाम ढुङडुपको प्रस्तावानुसार चार लाख रुपैयाँ तिर्न मात्र सहमत भएनन्, त्यति नै बेला उनको हातमा रकम थमाइदिए । ढुङडुप सोनामको नागरिकता बनाइदिने ‘मिसन’मा लागे ।

त्यसका निम्ति ढुङडुपले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ का छिरिङ वाङदिङ शेर्पासँग सम्पर्क गरे । उनीहरू बौद्धमा बस्ने भएकाले पुरानो चिनजान थियो ।

ढुङडुपले सोनामले दिएको चार लाखमध्ये ५० हजार रुपैयाँ आफूले राखेर तीन लाख ५० हजार शेर्पालाई दिए । शेर्पाले सोनामको नागरिकता सिन्धुपाल्चोकबाटै बनाउने प्रयास गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

तर, सिन्धुपाल्चोकबाट नागरिकता बनाउन नसकेपछि उनले धादिङका रामेश्वर रिजाललाई प्रयोग गरे । उनीहरूबीच पनि पुरानै सम्बन्ध थियो । शेर्पाले सोनामको नागरिकता बनाउन पाएको तीन लाख ५० हजारमध्ये ५० हजार आफूले राखे । रिजाललाई तीन लाख रुपैयाँ बुझाए ।

रिजालले आफ्नो गाउँपालिकाबाट सोनामको नागरिकता बनाउन सम्भव नदेखेपछि नेत्रावती डबजोङ गाउँपालिका–१ का मदन तामाङलाई जिम्मा लगाए । त्यसका निम्ति आफूले एक लाख राखेर उनले दुई लाख रुपैयाँ तामाङलाई बुझाए ।

उक्त वडा हुँदै जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारीलाई समेत प्रभावमा पारेर तामाङ सोनामको नागरिकता बनाउन सफल भएका प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

ndasgn-1727089554.jpg
सोनाम नागरिकता लिन समेत धादिङ गएका थिएनन् । बौद्धस्थित उनकै कोठासम्म नागरिकता पुर्‍याइएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । सोही नागरिकताका आधारमा सोनामले राष्ट्रिय परिचयपत्र र नेपाली पासपोर्ट समेत लिइसकेका छन् ।

किर्ते नागरिकता प्रकरणमा जोडिएका जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारीदेखि वडा कार्यालयबाट सिफारिस गर्ने जनप्रतिनिधिमाथि समेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

सोनामले नेत्रावती डबजोङ गाउँपालिका–१ बाट सोनाम तामाङका नाममा २६–०१–८१–०३२१७ नम्बरको नागरिकता प्राप्त गरेका छन् । नागरिकतामा उनको बुवाको नाम हर्कमान तामाङ लेखिएको छ । यो नागरिकता गएको जेठ ६ गते जारी गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro