काठमाडौं । बंगलादेशले आयात गर्न खोजेको ४० मेगावाट बिजुली खरिद–बिक्रीका लागि असोज १७ गते हस्ताक्षर गर्ने तयारी छ । बंगलादेशमा सत्ता पलटसँगै अन्यौलमा परेको ४० मेगावाट बिजुली बिक्रीको ‘ब्रेक थ्रु’ अर्थात् सम्झौता निम्ति नेपालले असोज १७ (अक्टोबर ३) का लागि प्रस्ताव गरेको हो ।
अनौपचारिक रुपमा नेपालको प्रस्तावमा भारत र बंगलादेश तयार भएपनि औपचारिक चिठ्ठी आउन बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दियो । “हामीले अक्टोबर ३ तारिकका लागि सम्झौता मिति प्रस्ताव गरेका छौं,” मन्त्रालयका एक अधिकारीले भने, “अपौचारिक चिठ्ठी आउन बाँकी छ । शनिबार र आइतबार बिदा परेकाले हुन सक्छ ।”
उता सम्झौताका लागि अक्टोबर ३ लागि प्रस्ताव गरिएको जानकारी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिए । “सम्झौताका लागि नेपालले ३ तारिखको प्रस्ताव गरेको छ,” उनले भने, “३ तारिखमा हस्ताक्षर हुने करिब–करिब तय छ ।”
तत्कालीन शेख हसिना सरकार हुँदा गत साउन १३ गते सम्झौता हुने तय थियो । हसिना देश छाडी भागेपछि सम्झौताका लागि तयार रहेको कागजात समेत हराएको बंगलादेशी समाचार ‘दि बिजनेश पोस्ट’ ले उल्लेख गरेको थियो । बंगलादेशले पुनः कागजात तयार गरेर सम्झौता अघि बढाउने निर्णय गरेको थियो ।
पहिलोपटक तेस्रो देश विद्युत् निर्यात हुँदा यसले नेपालको ऊर्जा क्षेत्रका लागि ऐतिहासिक हुने ऊर्जा चटौत बताउँछन् ।
नेपालका लागि बंलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले पनि बङ्गलादेश ४० मेगावाट विद्युत खरिद सम्झौता गरेर नेपाल र बंगलादेशबीचको उर्जा सहकार्यलाई अगाडि बढाउन खोजेकोे चाहेको बताएका थिए । उनले चाँडै सम्झौता हुने ऊर्जा मन्त्री दीपक खड्कासँगको कुराकानीमा बताएका थिए ।
नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत व्यापार निगमबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता ऐतिहासिक हुने ऊर्जा मन्त्री दीपक खड्का बताउँछन् ।
नेपालदेखि बंगलादेश बिजुली निर्यात लागि झण्डै चार वर्षेदखि प्रयास भइरहेको थियो । नेपाल–बंगलादेशबीच २०७९ भदौमा भएको सचिवस्तरीय बैठकले पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति गरेको थियो ।
नेपाल र बंगलादेश सीमा नजोडिएका कारण भारतीय भूमि हुँदै बिजुली लैजानुपर्छ । त्यसमा भारतको साथ अनिवार्य हुँदा उसलाई समेत मनाएर यसअघि सम्झौता गर्ने कार्यक्रम तय भएको थियो । तर, बंगलादेशमा विकसित नयाँ घटनाक्रमसँगै सम्झौता रद्ध भएको थियो ।
नेपाल–बंलादेशबीच बिजुली खरिद–बिक्रीको चर्चा चलेपनि २ वर्षअघि भारतले ५० मेगावाटसम्म प्रसारण गर्न सक्ने जनाएपछि नेपाल–बंगलादेशको सचिवस्तरीय बैठकमा खरिद–बिक्रीको कुरा अघि बढेको थियो । बंगलादेशको अन्तरिम सरकारले नेपालबाट बंगलादेशमा ४० मेगावाट जलविद्युत आयातलाई स्वीकृत गरिसकेको छ ।
भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) ले ०.०५९५ टाकाको ट्रेडिङ मार्जिन, ०.०९ टाका बराबरको प्रसारण शुल्क ०.७६ टाका प्राप्त तिर्दा युनिटको कुल लागत ८.१७ टाका (९.१७ नेपाली रुपैयाँ) पर्नेछ ।
उक्त बैठकले बंगलादेशको भेरामारामा रहेको हाई भोल्टेज डाइरेक्ट करेन्ट संरचनामार्फत् बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय विद्युत् खरिद–बिक्री सम्झौताका लागि भारतलाई आग्रह ग¥यो ।
नेपाल–बंगलादेशबीच डेडिकेटेड प्रसारण लाइन नभएको र आपसमा सीमा नजोडिएका कारण पनि भारतको साथ अनिवार्य हुँदा दुवै देशले भारतलाई मनाएर बिजुली लैजाने सहमति दुई देशले गरेका थिए ।
नेपालले प्रस्तावका रूपमा लिखु चौथोको नाम पठाएको थियो । तर ५१ मेगावाटको लिखु चौथो बंगलादेश पठाउन प्रसारण लाइन अभाव हुने देखेपछि २०८० जेठ १ र २ मा बसेको नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले करिब ४० मेगावाट झरेको थियो ।
भारतले पनि बंगलादेशसम्म नेपालको बिजुली निर्यात स्वीकृति दिएपछि बीपीडीबी १६ पुस ०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान ग¥यो ।
वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र बंगलादेशको सरकारले स्वीकृत गरी सम्झौता अघि बढाउन पत्राचार गरेको थियो ।
बंगलादेशले प्रस्ताव स्वीकार गरेपछि प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशुली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको विद्युत् फाइनल गरेको थियो ।
दुवै भारतको बजारमा बिक्रीका लागि अनुमति पाइसकेका आयोजना हुन् । भारतले आयोजनाको अनुमति दिँदा त्यसको वित्तीय विवरण लगायतका सबै प्रक्रिया हेर्न भएपछि यसअघि नै स्वीकृति पाएका आयोजना पठाएको थियो ।
प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको १५ जुन देखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्न गरी स्वीकृति पाएको थियो ।
सम्झौतामा हस्ताक्षरपछि ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणमार्फत भारतरको मुजफ्फरपुर विन्दुबाट बिजुली बंगलादेशले जिम्मा लिनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ ।
ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।
बिजुली मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने तय भएको छ । बंगलादेशले प्रतियुनिट ६.४० सेन्ट मूल्यमा किन्ने तय भइसकेको छ ।
बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रति युनिट दर करिब ७.६ सेन्ट पुग्ने प्राधिकरणको भनाइ छ । नेपालको हाल भारतसँग मात्रै विद्युत् आयात निर्यातको सम्झौता रहेको छ । प्राधिकरणले हाल भारतीय बजारमा ९४१ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको छ ।
गत आर्थिक वर्ष (आव) २०८०÷८१ मा १७ अर्ब ७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डेअहेड’ तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।
नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा ०७८ कात्तिकमा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले ०७८ कात्र्तिक १७ मा निर्यातकर्ताको रुपमा पनि प्रवेश पाएको थियो ।
नेपालले भारतमा मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक ९४१ मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले २८ वटा आयोजनाहरूबाट भारतीय बजारमा बिक्रीको अनुमति पाएको छ ।