site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दश वर्षमा २५८ सहकारीको रकम दुरुपयोग : आरोपित ६६९ जना पक्राउ, १५ सय ४० जना फरार 

काठमाडौं । बितेको १० वर्षमा देशभरका सहकारीमध्ये २५८ वटामा रकम दुरुपयोग भएको पाइएको छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठिन संसदीय छानबिन विशेष समितिको तयार पारेको ‘विशेष छानबिन प्रतिवेदन, २०८१’ मा उक्त संख्याका सहकारीको रकम दुरुपयोग भएको जनाइएको छ ।
 
प्रतिवेदनमा लाखौं बचतकर्ताको सहकारीमा रहेको ८७ अर्ब रुपैयाँभन्दा बढी रकमा दुरुपयोग तथा हिनामिना भएको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार बितेको १० वर्षमा २५८ सहकारीविरुद्ध रकम दुरुपयोग तथा हिनामिना गरेको सम्बन्धमा उजुरी परेको छ । 

कोशी प्रदेशका ३४, मधेश प्रदेशका २७, बागमती प्रदेशका १८, गण्डकी प्रदेशका २०, लुम्बिनी प्रदेशका १८, कर्णाली प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका ८ वटा सहकारीविरुद्ध प्रहरीमा उजुरी परेका छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालयमा १०७ र केन्द्रीय अनुसन्धान ब्यूरोमा २० वटा सहकारीविरुद्ध उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

“सहकारी संस्थाहरुमा वित्तीय अपचलन, ठगी, अनियमितता र पारदर्शिताको अभावले सहकारी कसूरका घटना बढेका छन्,” प्रतिवेदनमा भनिएको छ । उजुरीका आधारमा हालसम्म सहकारीको रकम दुरुपयोग गरेको आरोपमा ६६९ जनालाई पक्राउ गरिएको छ । आरोपित १ हजार ५४० जना फरार छन् । 

सहकारीको रकम दुरुपयोग गरेको आरोपमा प्रहरीले कोशी प्रदेशबाट ८१, मधेश प्रदेशबाट ५०, वाग्मती प्रदेशबाट ४६, गण्डकी प्रदेशबाट १४८, लुम्बिनी प्रदेशबाट ८६, कर्णाली प्रदेशबाट ७ र सुदूरपश्चिम प्रदेशबाट २७ जनालाई पक्राउ गरिसकेको छ । 

काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालयले १५५ र केन्द्रीय अनुसन्धान ब्यूरोमा ६९ जनालाई पक्राउ गरेको प्रतिवेदनमा जनाइएको छ । 

प्रतिवेदनमा कोशी प्रदेशले खोजी गरेका ८४, मधेश प्रदेशले खोजी गरेका ११८, वाग्मती प्रदेशले खोजी गरेका ९६, गण्डकी प्रदेशले खोजेका २३९, लुम्बिनीले पदेशले खोजी गरेका १४२, कर्णाली प्रदेशले खोजी गरेका २२, सुदूरपश्चिम प्रदेशले खोजी गरेका ५४, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी गरेका ६६६ र केन्द्रीय अनुसन्धान ब्युरोले खोजेका १२७ जना फरार छन् । 

जिल्ला सरकारी वकिल कार्यालयहरुका अनुसार, जाहेरवालाका संख्या २४ हजार २२४ छ । उनीहरुले १ हजार ३९१ जनामाथि सहकारीको रकम दुरुपयोग गरेको अभियोग लगाएका छन् । दायर गरिएका १११ वटा मुद्दामा १ अर्ब ९० करोड  ४६ लाख ४१ हजार ५५७ रुपैयाँ बिगो दाबी गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्