site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
जनविद्रोहको धमास : राजनीतिक नकच्चर्‍याइँ

मौसम बदलिने बेला भयो । राजनीतिकर्मीजस्तो प्रकृतिले हेलचेक्य्राइँ गर्दैन । प्रकृति नकच्चरो त झन् पटक्कै हुँदैन । मौसम न नेपालको राजनीतिजस्तो अविश्वसनीय छ न त राजनीतिक दलका नेताहरूजस्तो नकच्चरो नै छ । मौसमको भविष्यवाणी त अचेल मिल्न पनि थालेको छ । 

नेपालका नेताहरूले सत्ता गठबन्धन  मौसमभन्दा बढी बदल्ने गर्छन् । ‘जोगी हुन राजनीति गरेको होइन’ भन्नेहरूकै बाहुल्य छ नि त नेपालको राजनीतिमा ! यसैले सत्ताको लागि उचित अनुचित चलखेल भइरहनु के अनौठो भयो र ? अर्को बजेट अधिवेशन सुरु नहुँदै सरकार फेरि बदलिए पनि आश्चर्य नमाने हुन्छ । 

यस्तै भए पनि नेताहरूको तेवरमा भने आश्चर्यजनक उतारचडाव देखिने गरेको छ । सरकार छाड्नुपरेको भोलिपल्टै देखि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशमा बङ्गलादेशकै जस्तो ‘जनविद्रोह’को जोखिम र खाँचो देख्न थालेका छन् । मानौँ, नेपाली जनता कहिले दाहालले सरकार छाड्लान् र जनविद्रोह थालौँ भनेर प्रतीक्षारत छन् ! 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जनतामा उकुसमुकुस छ । अहिलेको सरकार जनतालाई मनपरेको छैन भन्नुको अर्थ दाहाल चाहिँ जनताका ‘आँखाका नानी’ हुन् भन्ने त पक्कै होइन । समसामयिक विषयमा भरपर्दो जनमत सङ्कलन गर्ने हाम्रो चलन छैन । त्यसैले दाहालका पालामा जनता बढी असन्तुष्ट थिए कि अहिले बढी रिसाएका छन् भन्ने यथार्थ थाहा पनि छैन । यत्ति थाहा छ, पुष्पकमल दाहाल, खड्गप्रसाद ओली वा शेरबहादुर देउवा कसैलाई पनि अहिले बहुसङ्ख्यक नेपाली जनताले रुचाउँदैनन् । 

यस्तै यीमध्ये कसैले चाहेर नेपालमा बङ्लादेशको जस्तो ‘विप्लव’ हुँदैन । हुनु पनि हुँदैन । नेपालको अवस्था बङ्गलादेशको जस्तो छँदा पनि छैन । नेपालको शासन कुनै एक जनाका कारण बिग्रेको होइन । न त एकाध वर्षमै बिग्रेको हो । यस्तै, नेपालको निर्वाचनमा कुनै समूहलाई बहिष्कारका लागि वाध्य पारिएको पनि छैन । यसैले जनविद्रोहबाट सत्ता पल्टेला र तर मारौँला भन्ने सपना कसैले नदेखे हुन्छ । नेपाल बङ्गलादेश बन्छ, बनाउँछौँ वा बनाउनुपर्छ भन्नेहरू बकबक गरेरै चित्त बुझाइरहुन् । 

Royal Enfield Island Ad

अहिले पुष्पकमल दाहालले गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् । ओली वा देउवा सत्ताबाहिर भएका भए उनीअरूको बोली पनि दाहालको भन्दा खासै फरक हुने थिएन । यी सबै पहिलो दर्जाका ‘नकच्चरा’ जो छन् !

केही गलत भाष्य बनाएर जनमानसलाई उत्तेजित गर्न भने खोजिएको देखिन्छ नियोजितरूपमै । दाहाल सायद त्यही तानाबानामा गोटी बन्न पुगेका हुन् कि ? अध्यक्ष दाहालले बुझेकै हुनुपर्छ - अब जन विद्रोह भयो भने उनी पनि जनताको  कोपभाजन हुनबाट उम्कन त पक्कै पाउने छैनन् ।  

बबन्डरवादीको आँखा खुलोस् !

बङ्गलादेशमा अहिले अमानवीय ज्यादती सुरु भएको भन्दै अल्पसङ्ख्यकहरूले विरोध प्रदर्शन सुरुगरेका छन् । सत्ता परिवर्तन हुनेबित्तिकै कट्टरपन्थीहरूले अल्पसङ्ख्यक मूलतः हिन्दु तथा बौद्ध समुदायमाथि आक्रमण सुरु गरेका थिए । नयाँ सरकारका प्रमुख महम्मद युनुसले भाषणमा त साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गरे । तर, उनको आग्रह औपचारिकतामा सीमित रह्यो । सरकारी संयन्त्र नै आफूहरूलाई बङ्गलादेशबाट खेद्ने मनसायले परिचालित गरिएको गुनासो  अल्पसङ्ख्यकले गरेका छन् ।

राजधानी ढाका र अर्को प्रमुख सहर चटगावँमा  भएको प्रदर्शनमा ‘बङ्गलादेश छाडेर भाग्दैनौ’भन्ने नारा नै लागेको छ । जेहोस्, शेख हसिनालाई अपदस्थ गर्ने आन्दोलनले बङ्गलादेशवासीको हित भयो कि अहित भन्ने प्रश्न उठेको छ । बबन्डरबाट भारत तर्सनु पनि स्वाभाविकै हो । अहिलेका हर्ताकर्ताको जरा खोज्दै जाने हो भने सन् १९७१ का रजाकारसम्मै जो पुगिन्छ । 

यसैले केही समय यता दाहाल, उपेन्द्र यादव, रवि लामिछाने, सीके राउत आदिले गरेको विद्रोहको भविष्यवाणी वा जनतालाई उक्साउने प्रयास ‘बुमर्‍याङ’ हुनसक्छ । सिसाका घरमा बसेका छन् सबै । अरूलाई ढुङ्गा हान्ने मूर्खता नगरेकै बेस । 

दुई दलीय पद्धति खराब हो र ?  

यस्तै नेपाली कांग्रेस र नेकपा (एमाले)को अनपेक्षित गबन्धनबाट छटपटाएका पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेताहरू ‘दुई दलीय’ व्यवस्था ल्याउन लागे भनेर हल्ला मच्चाउन खोज्दैदन् । पहिलो त दुई दलीय पद्धति आफैँमा नराम्रो र अलोकतान्त्रिक व्यवस्था होइन ।  अर्को कुनै दल विशेषका नेताले होइन जनताले चाहे भनेमात्र दुई दलीय प्रणालीको जग बस्छ । 

बेलायत र अमेरिकामा दुई दलीय व्यवस्था छ । अमेरिकाको शासन पद्धति संसदीय र राष्ट्रपतीय प्रणालीको ठिमाहा हो । नेपालले अपनाएको प्रणाली धेरै हदसम्म वेस्टमिन्स्टर शैलीको अर्थात् बेलायती हो । बेलायतमा सन् १९२२ पछि लिबरलहरूले सत्ताको नेतृत्व गर्न पाएका छैनन् । तर, लिबरल डेमोक्र्याटस पार्टी न बिलाएको छ न बेलायतको राजनीतिमा महत्त्व नै कम भएको छ । यसैले दुई दलीय व्यवस्थाको निरङ्कुशतन्त्रजसरी गरिएको दानवीकरण जनता मूर्ख छन् भनेर गरिएको फट्याइँमात्र हो ।    

इतिहाससँग छल नगर्ने हो भने इतिहासले पनि धोका दिँदैन । नयाँ पार्टीहरूको उदय पनि भइरहेको हुन्छ । कतिपय पुराना ठूला र महत्त्वपूर्ण दलहरू बिलाउँदै गएका छन् । युरोपमा त कुन बेला को पार्टी बनाएर चुनावमा उत्रिने हो र बहुमत ल्याउने हो भन्ने ठेगानै नहुने देखिन्छ । यसैले जनताले दुई दलीय प्रणाली नै रोजे भने पनि खासै फरक पर्दैन । यत्ति हो कसै कसैको ‘बार्गेनिङ पावर’ घट्न सक्छ । देशलाई त्यसमा केको  चिन्ता ? संघीय शासन सार्थक बनाउन क्षेत्रीय दलहरूको उदय हुनसक्छ । मधेसमा मात्र होइन सबै प्रदेशमा । त्यसबाट पनि चिन्तित हुनुपर्दैन ।  

राजनीतिक अस्थिरताको भ्रम

एउटा अचम्मको हौवा चलाइएको छ नेपालमा केही वर्षदेखि । सरकार बदलिनुलाई नै राजनीतिक अस्थिरता भन्ने । यथार्थमा नेपालमा राजनीतिक अस्थिरता छैन । विसं २०४६ मा स्थापित सिद्धान्तअनुसार शासन व्यवस्था चलेको छ । जनताले चुनेका प्रतिनिधिले शासन गर्ने मान्यतामा ज्ञानेन्द्र शाह र पुष्पकमल दाहालले चुनौती दिएका थिए यसबीच । दुवै परास्त भए । न राजाको शासन चल्यो न दाहालको कम्युनिस्ट अधिनायकवाद । संवैधानिक प्रावधानअनुसार सरकार फेरिनु राजनीतिक अस्थिरता होइन । संविधान फेरिनु र संविधानभन्दा पनि राजनीतिक मान्यता फेरिइरहनु अस्थिरता हो । यसैले नेपालमा राजनीतिक अस्थिरता छ भन्नु त्यत्तिकै गलत हो जति सरकार बदलिइरहेकाले विकास भएन भन्नु । 

बरु, संसदीय अभ्यासका मान्यताहरू नअपनाइएकाले समस्या उत्पन्न भएको । अब राजनीतिक दलभित्र लोकतन्त्र बलियो बनाउनुपर्छ । बालिग मताधिकारका आधारमा हुने निर्वाचनमा हारेपछि पार्टीमा पनि पदमा नबस्ने नियम बनाए अन्यत्रतिरको जस्तो हुन्छ । केन्द्रीय पदाधिकारी नै त्यस्तो चुनावमा हारे सक्रिय राजनीति छाड्ने गर्नुपर्छ । यस्ता सामान्य अभ्यासमात्र अपनाए पनि धेरै विकृतिको अन्त्य र असन्तुष्टि साम्य हुनुपर्छ ।

र अन्त्यमा 

नेपालको संसद्मा जनताका समस्या उठाइएको बिरलै सुनिन्छ । सहकारी ठगीको संसदीय जाँच गर्ने कि नगर्ने भनेर पनि महिनौ संसद् अवरुद्ध गर्नुपरेको थियो । अहिले एकजना सांसदले ‘माओवादी हिंसा’ भने भनेर बबन्डर मच्चाउन खोजिएको छ । त्यो निरर्थक विवादले संसद्को कति समय खेर जाने हो ? सभामुख ‘हिंसा’ शब्दलाई ‘रेकर्ड’बाट नहटाउने र माओवादी त्यो शब्द नहटाउन्जेल संसद् चल्न नदिने जिद्दीमा छन् । राज्यले यिनको जिद्दीको मूल्य कति चुक्ता गर्नुपर्ने हो ?

यथार्थमा विसं २०५२ - ६२/६३ को एक दशकको मुलुकको अवस्थालाई ‘हिंसा’मात्र भन्नु भने शब्दकै अर्थ बिगार्नु हो । त्यतिबेला नेपालमा आतङ्कै पो मच्चिएको थियो त ! माओवादी र सुरक्षा फौज दुवैबाट जनसाधारण थरहरी थिए । सार्वजनिक बसमा बम पड्काउने, विद्यालयमा पढाइरहेका शिक्षकलाई थुतेर मार्ने, मजदुरी गर्न हिँडेकाहरूको सामूहिक संहार गर्ने, यस्ता आतङ्ककारी घटना न गनेर सकिन्छ न बिर्सनै सकिन्छ । 

दुवैतिरको आतङ्क भोग्नेहरू जिउँदै छन् अझै । त्यो कालखण्डमा जति नेपाली जनता पहिले कहिल्यै आतङ्कित भएका थिएनन् । त्यो सामान्य हिंसा होइन आतङ्क नै थियो नेपालीले भोगेको । अब कहिल्यै त्यस्तो नहोस् भन्ने कामना गरौँ । शब्दमा सिँगौरी खेलेर जनतालाई केही हुनेछैन । 

 कामना गरौँ, कुनै दिन यस्तो पनि आउला जब कसैले संसद्मा उभिएर भन्नेछ - हिंसकहरूलाई सजाय नभएसम्म सदन चलाउन दिँदैनौ  ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro