site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
रमेश भुसालले ल्याए ‘छालबाटो’

काठमाडौं । पत्रकार एवम् लेखक रमेश भुसालको नयाँ गैरआख्यानकृति ‘छालबाटो’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा भुसालकी छोरी अनुराले पुस्तक लोकार्पण गरिन् ।

त्यसक्रममा विद्वान् हरि शर्माले लेखक भुसालसँग संवाद समेत गरे । शर्माले पुस्तक लेखनदेखि यसका विविध पक्षमा आधारित रहेर भुसालसँग संवाद गरे ।

कार्यक्रममा शर्माले पर्यावरण, वातावरण, नदीनाला अनि नेपाल–चीन–तिब्बत सीमा क्षेत्रका बासिन्दाको अध्ययनमा रुचि राख्नेलाई पुस्तक उपयोगी भएको बताए । नदीनालाको दोहन बढिरहेको र तिनको संरक्षण अपरिहार्य बनेको सन्दर्भमा पुस्तकले यस विषयमा समेत जोड दिएको उनको भनाइ थियो ।

लेखक भुसालले मानिसका कर्मले प्रकृति एवं पर्यावरण बिग्रिएको बताए । “मान्छे आफू मात्रै पृथ्वीमा थपिएको छैन, उसले अरू धेरै कुरा पनि थपेको छ । उसले अरूलाई सिध्याएर आफ्नो साम्राज्य खडा गरिरहेको छ । त्यसरी उसले सिध्याउँदै लगेको एउटा स्रोत नदी हो,” उनले भने ।

उनले अगाडि भने, “पृथ्वीमा रहेका सबै नदीको कुल लम्बाइ एक करोड २० लाख किमि छ । अहिले पृथ्वीका कुल नदीमध्ये ६० प्रतिशतमा बाँध बाँधिसकिएको छ ।” तर, बाँधिन बाँकी केही नदीमध्ये कर्नालीको शिरदेखि पुछारसम्मको यात्रा ‘छालबाटो’ रहेको उनले बताए ।

यो पुस्तक आफूले नदीयात्रा गर्दा भेटेका पात्रहरूको कथा रहेको भुसालले जनाए । “यो अलिअलि मेरो, अलिअलि नदीको, अलिअलि कर्नालीवासीको, अलिअलि मेरा सहयात्रीहरूको, अलिअलि नदी राजनीतिको र अलिअलि नदी विज्ञानको कथा हो,” उनले भने, “कतै यो निकै तथ्यपरक रूपमा प्रस्तुत भएको होला त कतै अलि भावनामा पनि बहकिएको होला ।”

भुसालले ‘छालबाटो’ पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गंगासम्मको यात्रा गराएका छन् । भुसालले आँखाले देखेको र मनमा बसेको नदीको वर्णन गरेका छन् ।

पारम्परिक यात्रावृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन यसमा पाइन्छ ।

पत्रकार भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी, द गार्डियन, द फाइनान्सियल टाइम्स, द थर्ड पोल, द वायर, स्क्रललगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गरेका छन् । नेपालका मुख्य नदी कोसी, गण्डकी र कर्नालीको शिर–पुछार यात्रा गरेका उनले अन्टार्कटिकाबाहेक सबै महादेशबाट जलवायु परिवर्तनलगायत विषयमा रिपोर्टिङ गरेका छन् । ‘छालबाटो’ उनको पहिलो पुस्तक हो ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro