site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा बोर्डमा सधैँ किचलो ! यसअघिका अध्यक्षले पनि कार्यकाल नसकिँदै दिएका थिए राजीनामा

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएको खबरले सरोकारवालामाझतरंग पैदा गरेको छ । यसअघि, कुनै विवादमा नआएका अध्यक्ष लोहनीले शुक्रबार राजीनामा दिएको खबरले बोर्डभित्रकै कर्मचारी अच्चममा परेका छन् ।

“जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेका लागि...,” लोहनीले फेसबुकमा लेखेका छन् ।

लोहनीले राजीनामा बुझाएको तर स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल बाहिर रहेकाले उनको हातमा नपुगी सचिवालयमा नै दर्ता भएको मन्त्रीको सचिवालयले पुष्टि गरिसकेको छ । 

"बिहानसम्म हामी बोर्डमा नै थियौँ । राजीनामाबारे केही जानकारी थिएन । समाचारमा नै देखेर कल गरेको उहाँसँग सम्पर्क भइरहेको छैन," बोर्डका कार्यकारी निर्देशक डा. युवनिधि बसौलाले बाह्रखरीसित भने ।

०८० मंसिर १४ मा बोर्ड अध्यक्ष नियुक्त भएका उनले बिमा कार्यक्रममा सुविधा थैली परिमार्जन, कोपेमेन्टलगायत महत्त्वपूर्ण निर्णय कार्यान्वयन गराएका थिए । स्वास्थ्य बिमा कार्यक्रमको सुरुवाती चरणमा समेत नेतृत्व गरिसकेको हैसियतले डा. लोहनीबाट बिमा कार्यक्रममा सकारात्मक परिवर्तनको अपेक्षा गरिएको थियो ।

तर, कार्यकाल तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिने निर्णय पछाडिको कारण खुलेको छैन ।

यद्यपि, विगत ६ महिनादेखिको झन्डै आठ अर्ब रुपैयाँ शोधभर्ना अस्पतालहरूलाई दिन बाँकी रहेको र मन्त्रालयले बजेट निकासा नगरेको गुनासो बोर्डभित्रकाअधिकारीहरूले पटकपटक गर्दै आएका थिए । 

यता स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले भने पटकपटक हाल स्वास्थ्यका सबै सामाजिक सुरक्षाका कार्यक्रमलाई बिमामा नै समेट्ने र बिमाको सुविधा दायरा पाँच लाखसम्म पुर्‍याउने बताउँदै आएका थिए ।

त्यसो त यसअघिका अध्यक्ष पूर्वस्वास्थ्य सचिवसमेत रहेका डा. सेनेन्द्रराज उप्रेतीले पनि कार्यकाल दुई वर्ष बाँकी छँदै स्वेच्छिक राजीनामा दिएको रेकर्ड छ । ०७७ साउन १९ गते बोर्ड अध्यक्ष नियुक्त भएका डा. उप्रेतीले दुई वर्ष कार्यकाल बाँकी रहँदै २०७९ माघ २५ गते राजीनामा दिएका थिए ।

बोर्डभित्रको सुस्त र अस्वस्थ व्यवस्थापनका कारण जति सुधारको प्रयास गरे पनि केही नलागेका कारण राजीनामा दिनुपर्ने स्थिति बनेको डा. उप्रेतीको भनाइ थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले लामो समय होल्ड गरेर उनको राजीनामा फागुन २४ मा मात्रै मन्त्रिपरिषद्‌मा लगेका थिए । मन्त्रिपरिषद्ले डा. उप्रेतीको राजीनामा चैत १० गते स्वीकृत गरेको थियो ।

यसबीचमा र राजीनामा स्वीकृतपछि समेत गरी बिमा बोर्ड आठ महिना अध्यक्षविहीन बनेको थियो । 

यसबीचमा नै २०८० असोज २९ मा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नदिएको भन्दै तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निलम्बन गरेका थिए । सोही समयमा बोर्डका पाँच सदस्यले पनि स्वास्थ्यमन्त्रीसमक्ष सामूहिक राजीनामा दिएका थिए । 

निलम्बनको निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालत पुगेका निर्देशक बसौलालाई सर्वोच्चकै आदेशले पुन: पदमा फर्काएको थियो । 

हालका अध्यक्ष डा. लोहनीको राजीनामापत्र स्वास्थ्यमन्त्री पौडेलको हातमा परेको छैन । बिमा बोर्डकै कार्यक्रमको सिलसिलामा नगरकोट पुगेका मन्त्रीले राजीनामालाई कसरी लिन्छन् वा अगाडिको संवाद समन्वय कस्तो रहला भन्ने भन्ने सरोकारवालाहरूको पर्खाइको विषय छ । तर, स्वास्थ्य बिमा कार्यक्रम र बोर्डलाई सरकारकै निति र नेतृत्वलाई हतोत्साहित गर्ने प्रवृत्तिले पटकपटक पछाडि धकेलेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro