site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘घरभित्रै सहकारी समस्या’ लुकाएर रविविरुद्ध अग्रपंक्तिमा थिए धनराज 
SkywellSkywell

काठमाडौं । २०८१ जेठ ३ गते बिहीबार प्रतिनिधिसभामा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै वेल घेराउ गर्दैै थियो ।

सदनको कारबाही अघि बढ्नासाथ कांग्रेसका सांसदहरुले लगातार जारी राखेको वेल घेराउलाई पनि अघि बढाए ।

कांग्रेस वेलमा नाराबाजी गरिरहेकै बेला सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाउन लागे । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल, प्रमुख प्रतिपक्षका सांसदहरुले वेल घेराउ गर्दा पनि सभामुखले पूरै बेवास्ता गरे ।
कांग्रेसलाई विपक्षमा रहेका राप्रपा, लोसपा र जनमत पार्टीले पनि साथ दिए । उनीहरु पनि आफ्नो सिटमा उठेर विरोध जारी राखे ।

Dabur Nepal
NIC Asia

त्यहीबेला सभामुखले तत्कालीन गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिए ।  कांग्रेसले वेल घेराउ गरेका कारण गृहमन्त्री अघि बढ्न पाएनन् । सत्ता पक्षको बेन्चमा बसेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिवादमा उत्रिए ।

धनराज गुरुङ कसरी जोडिए सहकारी प्रकरणमा ? श्रीमतीसँग नक्कली डिभोर्स गरेको आरोप !

उनी पनि वेलतर्फ अघि बढ्न खोजे । त्यही बेला एमाले र माओवादीका सांसदहरु पनि रवि बोल्न पाउनुपर्ने भन्दै नाराबाजी गर्न थाले । ओलीको नजिकै रहेका कांग्रेस उपसभापति धनराज गुरुङ चर्काचर्कीमा उत्रिए ।

ओलीसँग औँला ठड्याएरै चर्काचर्कीमा उत्रिए । उनको माग थियो सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेलाई कारबाही हुनुपर्ने । तर त्यसबेलासम्म उनको घरमै सहकारी समस्याले थला पारिसकेको पछिल्ला बयानहरुले देखाएका छन् ।

आफूहरूले विरोध गर्दागर्दै एमालेको डिजाइनमा सभामुखले ‘जटिल स्थिति’ सिर्जना गरेको गुरुङले त्यसैदिन बाह्रखरीसँगको कुराकानीमा बताएका थिए ।

“प्रतिपक्षले वेल घेराउ गर्दा पाँच घण्टा उभ्याउन पाइएला । तर, सदन चलाउन पाइँदैन,” उनको भनाइ थियो ।

ओलीसँगको 'चर्काकर्की'बारे के भन्छन् धनराज गुरुङ ?

उनले त्यसबेला भनेका थिए, “जबरजस्ती सदन चलाउन पाइँदैन भनेर नारा लगाउँदै थियौँ । तर, उहाँ (ओली)ले उभिएर विरोध गर्न पाइँदैन, यहाँबाट हट्नुस् भन्नुभयो ।”

आफूले ओलीसँग प्रतिवाद नगरेको उनको जिकिर थियो । “मैले एकोहोरो नारा लगाइरहेको थिएँ । उहाँले उर्दी दिन खोजेपछि चर्को स्वरमा नारा लगाएको हुँ । उहाँ उभिएर परिस्थिति बिगार्नुभएको हो ।”
गुरुङ त्यतिमै रोकिएनन् ।

उनले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेरै पत्र लेखे– सत्य नबोल्ने गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै ।

जेठ ७ गते उनले सभामुखलाई लेखेको पत्रमा भनिएको थियो, “हिजो मिति २०८१ साल जेठ ६ गतेको बैठकमा माननीय गृहमन्त्रीले प्रतिनिधिसभाको रोष्ट्रमबाट तथ्यहीन, आधारहीन, कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधिसभाका सदस्यमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको अवहेलना गरेको, अदालतबाट सफाई पाइस्केका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको बेहोरा स्मरण गराउन चाहन्छु ।”

उनले पत्रमा लामिछाने बोलेको अडियो पनि सुरक्षित रहेको बताउँदै संसद्को अवहेलना गरेको आरोप लगाए ।

“उहाँले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधिसभा सचिवालयमा सुरक्षित रहेको  पनि होला,” पत्रमा उनले भनेका छन् ।

यस्तो छ उनले लेखेको पत्र–

dhanarajpatra1-1725941182.jpg
 

यस्तो प्रतिवाद गर्दै अघि बढेका गुरुङ पनि अहिले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका छन् ।

प्रतिनिधिसभाले बनाएको ‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका कुम्मराज गुरुङले दिएको बयानपछि धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भएको हो ।

अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका हुन् । 
बयानका क्रममा उनले धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए ।

बयानमा कुम्मराजले भनेका छन्, “ज्योती गुरुङ मितेरी बचत तथा ऋण सहकारीको म्यानेजर र फाइनान्स प्रमुख पदमा कार्यरत थिइन् । सहकारीको अध्यक्ष म भए पनि विश्वासकै भरमा सबै जिम्मेवारी उनलाई नै छाडेका थियौँ तर १४ देखि १५ करोड अपचलन गराएर उनी सम्पर्क बाहिर भइन् ।”

धनराज भने यसलाई स्वीकार गर्न तयार छैनन् । उनले कुम्मराजकै कारण आफ्नो घरबार पनि बिग्रिएको दाबी उनको छ । पटक पटक धाउँदा पनि समस्या समाधान नभएपछि आफूसहितका सहकारी सदस्य प्रहरीकहाँ पुगेको कुम्मराजको भनाइ छ ।

कुम्मराजले मंगलबार बिहान बाह्रखरीसँग छोटो कुरा गर्दै भने, “मैले सबै कुरा संसदीय समितिमा बताइसकेको छु । तर पनि पछिल्ला दिनमा जसरी मेराबारेमा कुरा सार्वजनिक भएका छन् त्यो सत्य होइन ।”

उनले आफू पनि पीडित भएका कारण प्रहरीदेखि संसदीय समितिसम्म पुगेको बताए ।

ज्योती आफ्नो ‘सेक्रेटरी’ पनि नभएको भन्दै उनले आपत्ति जनाए । कांग्रेस उपसभापति गुरुङले नै ज्योतीलाई अध्यक्षले नै लामो समय सिंगापुर, थाइल्यान्ड पठाइरहेपछि आफूलाई शंका लागेर एक दिन सोधेको बताउँछन् ।

उनले आफूले समितिमा पनि उपस्थित भएर कुनै विषय सोधेमा जानकारी दिन सक्ने बताए ।

“कुम्मराज गुरुङसँग औपचारिक सोधपुछका क्रममा १२ देखि १४ करोडसम्म रकम अपचलन गरेको जानकारी गराउनुभएको छ,” छानबिन समिति स्रोतले भन्यो, “श्रीमती सहकारीको व्यवस्थापक रहेका बेलामा त्यति रकम हिनामिना भएको रहेछ । यसबारेमा ज्योतीका श्रीमान् धनराज पनि जानकार भएको हामीले पाएका छौँ ।”

ज्योती चार वर्षदेखि फरार सूचीमा छन् । धनराज गुरुङले भने ज्योतीसँग ‘डिभोर्स’ भइसकेको बताउँदै त्यसपछिका कुनै पनि कुरा आफूलाई थाहा नभएको बताउँछन् । संसदीय समितिका ती सदस्यले दिएको जानकारीअनुसार कुम्मराजले समितिमा धनराजलाई पनि सम्पूर्ण जानकारी भएको र कागजीरुपमा मात्रै ‘डिभोर्स’ भएको दाबी समेत गरेका थिए ।

“धनराज पनि जानकार छन् । बूढाबूढी सँगै बसेर पनि पटक–पटक तिर्ने बाचा गरेका हुन् भनेर कुम्मराजले लिखित बयान नै दिनुभएको छ,” समिति स्रोतले भन्यो । कुम्मराजले धनराजसँग पछिल्लो सम्पर्क दुई वर्षअघि पनि भएको बताउँदै समितिको बयानमा भनेका छन्, “डिभोर्सपछि पनि धनराजले केही रकम तिरिदिएका हुन् ।”

स्रोतले दिएको जानकारीअनुसार ज्योतीबहादुर भण्डारीमार्फत् थाइल्यान्डमा ज्योती गुरुङले ‘बिटक्वाइन’मा लगानी गरेको र लगानी डुबेपछि फरारको सूचीमा रहेकी हुन् ।

यता कांग्रेस उपसभापति गुरुङले बाह्रखरीसँगको कुराकानीमा मितेरी सहकारीका सम्बन्धमा छिटो छानबिन गरेर टुंगोमा पुर्‍याउन माग गरे । 
“मैले मेरी श्रीमतीसँग २०७६ सालमा नै डिभोर्स गरेको हुँ,” गुरुङले बाह्रखरीसँग भने, “मेरो घरबार जुन सहकारीका अध्यक्षले बिगार्‍यो, उसैले सीआईबीदेखि समितिसम्म उजुरी दिँदै हिँडेको सुनेको छु ।”

पाँच वर्ष पहिले ज्योती उक्त सहकारीमा रहँदा अध्यक्षले नै कहिले सिंगापुर त कहिले थाइल्यान्ड महिनौँका लागि पठाउने गरेको धनराजले बताए । “घरीघरी चेयरम्यानले पठाउनुभएको छ भन्ने जाने, अनि २० दिन त कहिले एक महिनामा फर्किने क्रम लगातार बढ्न थाल्यो,” गुरुङले भने, “यो कुरा मलाई चित्त बुझेन । मैले यसरी नजानू भनेर सम्झाएँ पनि । अनि कहाँ जाने ? घरीघरी किन जाने ? भनेर सोधेको तिमीलाई के मतलब भन्ने जवाफ पाएँ ।”

त्यसपछि आफूले पनि ‘जाने भने सधैँलाई गए हुन्छ नि’ भनेर झोँक्किएर भनेको दुई दिनपछि श्रीमतीले ‘डिभोर्स’को फाइल दर्ता गराएको बताए ।

“मैले जाने हो भने एकोहोरो गए हुन्छ भनेर भनेको हुँ, त्यो पनि रिसले भनेको हुँ, त्यसको दुई दिनपछि ‘डिभोर्स’को फाइल दर्ता भएछ,” उनले भने, “मैले न्यायाधीशको अगाडि उभिएर यस्तो नगरौँ रिसको झोँकमा भनेको हुँ भनेर भनेँ । तर उनले एक बस्दिनँ, दुई बस्दिनँ भनेर भनिन् । यसो भनेपछि किन बस्नू भनेर २०७६ सालमा डिभोर्स भएको हो ।”

बीचमा सहकारीको अध्यक्षसँग सम्पर्क भयो भनिन्छ नि भन्ने प्रश्नमा गुरुङले भने, “बीचमा सहकारीको अध्यक्ष मकहाँ आएको थियो । मैले ज्योती अब सधैँ विदेश बस्ने हो कि नेपाल पनि आउने हो ? भनेर सोधेँ । त्यसबेला चेयरम्यानले हुँदैन नि हजुर ज्योती नेपाल आउनासाथ मेरो हातमा हत्कडी लाग्छ भनेपछि म बोल्न छाडेको हुँ ।”

गुरुङ दम्पत्तीको २०७६ फागुनमा डिभोर्स भएको थियो । तर यसलाई कतिपय जानकारहरुले ‘सहकारी डिभोर्स’ भनेका छन् । अर्थात् सहकारी प्रकरण बल्झिएपछि दुवैजना फस्ने डरले कागजीरुपमामात्रै डिभोर्स भएको अनुमान कतिपय जानकारको छ ।

तर धनराज भने डिभोर्सको दिनदेखि आफ्नो सम्पर्कमा ज्योती नभएको बताउँछन् ।

“मेरो प्रष्ट कुरा छ । डिभोर्स भएको दिनदेखि ज्योतीसँग सम्बन्ध छैन । सहकारीको अध्यक्षले नै ज्योती गुरुङ भगाएका हुन् । उनीहरु आफैं भगाउने र अहिले आएर म माथि दोष लगाउन मिल्छ ?,” गुरुङको प्रश्न छ ।

उनले तत्कालीन श्रीमतीलाई कुम्मराजले घरीघरी विदेश नपठाएको भऐ परिवार र घरबार बिग्रने अवस्था पनि नआउने बताउँछन् ।

सहकारीको रकम क्रिप्टोमा लगानी गरिएका कारण पटक पटक विदेश धाइरहेको हुन सक्ने अनुमान आफूहरुको भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारी बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu