site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धनराज गुरुङ कसरी जोडिए सहकारी प्रकरणमा ? श्रीमतीसँग नक्कली डिभोर्स गरेको आरोप !

काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ पनि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका छन् ।

प्रतिनिधिसभाले बनाएको ‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका कुम्मराज गुरुङले दिएको बयानपछि धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भएको हो ।

अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका हुन् । बयानका क्रममा उनले धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले दिएको जानकारीअनुसार ज्योतीविरुद्ध ठाडो उजुरी परेको र अनुसन्धान सुरु गरिएको छ । यता समितिमा उपस्थित कुम्मराज गुरुङले सीआईबीमा पनि उजुरी परेको बताएपछि सीआईबीबाट पनि फाइल मगाइएको स्रोतले जानकारी दियो ।

“कुम्मराज गुरुङसँग औपचारिक सोधपुछका क्रममा १२ देखि १४ करोडसम्म रकम अपचलन गरेको जानकारी गराउनुभएको छ,” छानबिन समिति स्रोतले भन्यो, “श्रीमती सहकारीको व्यवस्थापक रहेका बेलामा त्यति रकम हिनामिना भएको रहेछ । यसबारेमा ज्योतीका श्रीमान् धनराज पनि जानकार भएको हामीले पाएका छौँ ।”

ज्योती चार वर्षदेखि फरार सूचीमा छन् । धनराज गुरुङले भने ज्योतीसँग ‘डिभोर्स’ भइसकेको बताउँदै आएका छन् ।

ती सदस्यले दिएको जानकारीअनुसार कुम्मराजले समितिमा धनराजलाई पनि सम्पूर्ण जानकारी भएको र कागजीरुपमा मात्रै ‘डिभोर्स’ भएको दाबी समेत गरेका थिए । “धनराज पनि जानकार छन् । बूढाबूढी सँगै बसेर पनि पटक–पटक तिर्ने बाचा गरेका हुन् भनेर कुम्मराजले लिखित बयान नै दिनुभएको छ,” समिति स्रोतले भन्यो ।

कुम्मराजले धनराजसँग पछिल्लो सम्पर्क दुई वर्षअघि पनि भएको बताउँदै समितिको बयानमा भनेका छन्, “डिभोर्सपछि पनि धनराजले केही रकम तिरिदिएका हुन् ।”

स्रोतले दिएको जानकारीअनुसार ज्योतीबहादुर भण्डारीमार्फत् थाइल्यान्डमा ज्योती गुरुङले ‘बिटक्वाइन’मा लगानी गरेको र लगानी डुबेपछि फरारको सूचीमा रहेकी हुन् ।

यता कांग्रेस उपसभापति गुरुङले बाह्रखरीसँगको कुराकानीमा मितेरी सहकारीका सम्बन्धमा छिटो छानबिन गरेर टुंगोमा पुर्‍याउन माग गरे । “मैले मेरी श्रीमतीसँग २०७६ सालमा नै डिभोर्स गरेको हुँ,” गुरुङले बाह्रखरीसँग भने, “मेरो घरबार जुन सहकारीका अध्यक्षले बिगार्‍यो, उसैले सीआईबीदेखि समितिसम्म उजुरी दिँदै हिँडेको सुनेको छु ।”

पाँच वर्ष पहिले ज्योती उक्त सहकारीमा रहँदा अध्यक्षले नै कहिले सिंगापुर त कहिले थाइल्यान्ड महिनौँका लागि पठाउने गरेको धनराजले बताए । “घरीघरी चेयरम्यानले पठाउनुभएको छ भन्ने जाने, अनि २० दिन त कहिले एक महिनामा फर्किने क्रम लगातार बढ्न थाल्यो,” गुरुङले भने, “यो कुरा मलाई चित्त बुझेन । मैले यसरी नजानू भनेर सम्झाएँ पनि । अनि कहाँ जाने ? घरीघरी किन जाने ? भनेर सोधेको तिमीलाई के मतलब भन्ने जवाफ पाएँ ।”

त्यसपछि आफूले पनि ‘जाने भने सधैँलाई गए हुन्छ नि’ भनेर झोँक्किएर भनेको दुई दिनपछि श्रीमतीले ‘डिभोर्स’को फाइल दर्ता गराएको बताए ।

“मैले जाने हो भने एकोहोरो गए हुन्छ भनेर भनेको हुँ, त्यो पनि रिसले भनेको हुँ, त्यसको दुई दिनपछि ‘डिभोर्स’को फाइल दर्ता भएछ,” उनले भने, “मैले न्यायाधीशको अगाडि उभिएर यस्तो नगरौँ रिसको झोँकमा भनेको हुँ भनेर भनेँ । तर उनले एक बस्दिनँ, दुई बस्दिनँ भनेर भनिन् । यसो भनेपछि किन बस्नू भनेर २०७६ सालमा डिभोर्स भएको हो ।”

बीचमा सहकारीको अध्यक्षसँग सम्पर्क भयो भनिन्छ नि भन्ने प्रश्नमा गुरुङले भने, “बीचमा सहकारीको अध्यक्ष मकहाँ आएको थियो । मैले ज्योती अब सधैँ विदेश बस्ने हो कि नेपाल पनि आउने हो ? भनेर सोधेँ । त्यसबेला चेयरम्यानले हुँदैन नि हजुर ज्योती नेपाल आउनासाथ मेरो हातमा हत्कडी लाग्छ भनेपछि म बोल्न छाडेको हुँ ।”
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro